दमौली – सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन् ।


ADVERTISEMENT


मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रबार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेण्टमा रात बिताएका छन् भने शनिबार बिहानैदेखि पर्यटकको भीड बढेको स्थानीय युवा अनिल अधिकारीले जानकारी दिए । “यस वर्षको सबैभन्दा बढी भीड आज भएको छ, पाँच हजारभन्दा बढीको उपस्थिति छ”, उनले भने, “आन्तरिक पर्यटकको आगमनले सवारी व्यवस्थापनमा समस्या भएको थियो ।”


ADVERTISEMENT

# # #


व्यास नगरपालिका–२ निवासी कृष्णचन्द्र पाण्डेले मानुङकोटले जिल्लाको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याएको बताए । “सूर्यास्त, सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि जिल्ला तथा जिल्ला बाहिर आन्तरिक पर्यटक यहाँ आइपुग्छन्, यसले गर्दा यहाँको होटल व्यवसाय पनि फस्टाएको छ”, उनले भने, “हामीले पनि एकरात मानुङकोटमा बिताएर सूर्योदय हे¥यौँ ।”

केही दिनयता मानुङकोटमा सञ्चालित होटल आन्तरिक पाहुनाले भरिएका छन् । होटल भ्यू मानुङका सञ्चालक चुडामणि दाहालले मानुङकोटमा पर्यटकको आकर्षण बढेको बताए ।

चिसो मौसम सुरु भएसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न मानुङकोटमा पर्यटक बढेका छन् । चिसो मौसममा कुहिराले दमौली बजारलाई ढपक्क ढाकेको छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमशृङ्खला ।

पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए। मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको उनको भनाइ छ ।

मानुङकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।

दमौली बजारलाई कुहिराले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

खानेपानीको अभावमा विसं २०५२ मा मानुङकोट छाडेकी वसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आएकी छन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उनले बताए । रासस