प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मा सत्तारुढ दल निकट विद्यार्थी संगठनहरु नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूलेले तालाबन्दी गरेका छन् । तिहार बिदा सकिएको पहिलो दिन नै तालाबन्दी भए पछि हिमालय पोष्टले यसबारे सीटीईभीटीका सदस्य सचिव जीव नारायण काफ्लेसँग बुझ्ने प्रयास गरेको छ ।


ADVERTISEMENT


सीटीईभीटीमा किन  तालाबन्दी भएको हो ?


ADVERTISEMENT

# # #


आज बिहान १० बजे कार्यालय खुल्ने समयमा तालाबन्दी गरियो । छलफल, वार्ता, वा अल्टिमेटम त्यस्तो केही नभएको अवस्थामा उहाँहरुबाट कल्पना नै नगरिएको काम भयो । तीन वटा विद्यार्थी संगठन आएर तालाबन्दी गर्नुभएको छ । हामीलाई आश्चर्य लागिरहेको छ, हामी पनि सुधारकै पक्षमा छौँ । उहाँहरुसँग बसेर केही सुधार गर्नुपर्ने विषयमा छलफल र वार्ता गरेर जान सकिन्छ । यसमा हामी खुला र पारदर्शी छौँ ।

विद्यार्थी संगठनहरुले के माग राखेर तालाबन्दी गरेका हुन् ?

उहाँहरुले परीक्षा प्रणाली सुधार गर्नुपर्छ भन्नुभएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशित चाँडो हुनुपर्यो, गुणस्तरीय शिक्षाका लागि आवश्यक अनुगमन हुनुपर्यो, तालिम लिएको व्यक्तिलाई योग्य हुनेबित्तिकै विशेष व्यवस्थापन गरियोस् लगायतका कुराहरु भन्नु भएको छ । जुन हामीले आफ्नो अधिकार क्षेत्र र क्षमता अनुसार प्राथमिकताका साथ गरिरहेकै छौँ ।

अन्य कारण बुझ्न अलि कठिन छ । तीन–तीन वटा एकदमै जिम्मेवार विद्यार्थी संगठनका साथीहरु आएर तालाबन्दी गर्नुभयो । उहाँहरु मर्यादा, विद्यार्थी संगठनको लक्ष्य, शिक्षाको सुधारका लागि हो भने त्यसका लागि हामी पनि उहाँहरुसँगै छौँ । हामीले कसैलाई दोष दिने भन्दा पनि उहाँहरु अलि जिम्मेवार हुनुपर्छ । यसरी एकाएक आएर सरकारी संस्थामा छलफल नै नगरिकन तालाबन्दी गरिनु दुर्भाग्य हो ।

विद्यार्थी संगठनहरुले संस्थाप्रति अमुख माग राखेर अप्रत्याशित रुपमा तालाबन्दी गर्नुको पछाडी तपाईंहरुलाई अप्ठ्यारोमा पारेर अरु कुनै उद्देश्य पूरा गर्ने त होइन ?

अप्ठ्यारो भन्दा पनि मुख्य कुरा सेवाग्राहीले सेवा पाउनुपर्यो भन्ने हो । विद्यार्थीसँग सम्बन्धित संस्था भएकाले विद्यार्थी भाइबहिनीहरुको राम्रो पढाइ हुनुपर्यो । समयमा परीक्षा हुनुपर्यो र समयमा नजिता आउनुपर्यो भन्ने कुरामा बढी केन्द्रित भएर नै हामी काम गरिरहेका छौँ । केही कमी कमजोरीहरुलाई सुधार गर्नुपर्यो भने छलफलका लागि हामी खुला छौँ । तीन-तीन विद्यार्थी संगठनका साथीहरु यसरी एकाएक आएर तालाबन्दी गर्नु दुर्भाग्य बाहेक के भन्न सकिन्छ र ! उहाँहरु पनि जानकार नै हुनुहुन्छ, देश निर्वाचनको संघारमा छ । यसरी सरकारी संस्थामा तालाबन्दी गर्नु भनेको उहाँहरुको मर्यादाभन्दा बाहिर गयो कि भन्ने मलाई लाग्छ ।

विद्यार्थी संगठनहरुले आर्थिक रुपमा आफूलाई पारदर्शी बनाउन सकिरहेका छैनन् भन्ने आरोप पनि लाग्दैआएको छ । यो तालाबन्दीको विषयमा पनि त्यो प्रभाव कति पाउनुहुन्छ ?

यसबारेमा त मलाई त्यति जानकारी छैन । उहाँहरुले त्यस्तो कुराहरु हामीसँग गर्नुभएको छैन । यसबारेमा उहाँहरुलाई नै सोध्दा राम्रो हुन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

म उहाँहरुलाई हार्दिकतापूर्वक आग्रह गर्छु कि सुधार गर्ने कुरामा हामी अनवरत खटिएका छौँ र आवश्यक छलफलका लागि तयार छौँ । अन्य अमूर्त कुराहरु राखेर कार्यालयलाई बन्दकी बनाउनु हुँदैन भन्ने कुरा बुझेर छलफल र वार्तामा आउन आग्रह गर्छु ।