काठमाडौँ – टिकट विक्री गरेर कार्यक्रम आयोजना नगरी ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले डेजाभुका पाँच र कार्यक्रम आयोजना गर्ने दुई जनालाई पक्राउ गरेको छ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय डिजे मार्समेलोलाई नेपालमा बोलाएर केटिएम लाईभ इन्टरटेन्मेन्ट र सिक्स वन लाइभले डेजाभुमा वुधबार बेलुका टिकट विक्री गरी कार्यक्रम राखेका थिए। तर कार्यक्रममा डिजे मार्सेमेलो उपस्थित भएनन्। डिजे उपस्थित नभएपछि कार्यक्रममा सहभागि दर्शकले तोडफोड गरेका थिए।


ADVERTISEMENT

# # #


महाशाखाका डिएसपी प्रजित केसीका अनुसार कार्यक्रम आयोजना गर्न नसकेपनि दर्शकको टिकटको पैसा फिर्ता नदिइ ठगी गरेको आरोपमा अनुसन्धानका लागि डेजाभुका प्रवेश श्रेष्ठ, महेश खड्का, पृथु वास्कोटा, मिलन श्रेष्ठ र विशाल डांगी तथा आयोजक रितेश मारवाडी र राजिव महर्जनलाई पक्राउ गरेको हो। पृथु बास्कोटा नेपाली क्रिकेटर हुन् ।

केसीका अनुसार अनुमति नलिइ कार्यक्रम आयोजना गरिएको र टिकट विक्री संख्या अनुसारको आन्तरिक सुरक्षा प्रवन्ध नगरेको देखिएको छ। उनका अनुसार पक्राउ सातै जनालाई ठगी अभियोगमा अनुसन्धान सुरु भइसकेको छ।

कार्यक्रममा सहभागि हुन डिजे मार्समेलो नेपाल आए पनि स्वास्थका कारण कार्यक्रममा सहभागि हुन नसकेको जनाएका छन्। उनी नेपाल आएर होटल द्वारीकामा बसेका थिए।