नेपालगञ्ज– उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि मुलुकको संक्रमणकालीन राजनीति समाप्त भएर जाने विश्वास व्यक्त गरेका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्वारा आयोजित आठौँ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले निर्वाचनपछि संविधान कार्यान्वयनका सुखद परिणाम आउने र मुलुक समृद्धितर्फ जाने बताए ।


ADVERTISEMENT


“नेपाल नयाँ युगमा प्रवेश गर्न लागेको छ, अब हामी सबै मिलेर आर्थिक समृद्धि तथा विकासको बाटोमा मुलुकलाई दौडाउनु छ, यसका लागि राजनीतिक दलहरुबीच सहकार्य, संवाद र समझदारी निरन्तर चलिरहनु पर्छ”, उपराष्ट्रपति पुनको भनाइ थियो ।
उनले सिर्जनालाई व्यवस्थित गर्न पुस्तक, पुस्तक व्यवस्थापनका लागि पुस्तकालय र पुस्तकालयको व्यवस्थापनका लागि पुस्तक नीति हुनु अहिलेको आवश्यकता रहेको बताए ।


ADVERTISEMENT

# # #


समारोहमा आयोजक संस्थाका तर्फबाट उपराष्ट्रपति पुनलाई मायाको चिनो प्रदान गरिएको थियो । त्यस अवसरमा उपराष्ट्रपति पुनले शिक्षा, साहित्य र कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने त्रिभुवन विश्व विद्यालयका स्रष्टाहरु पूर्व उपकूलपति प्राध्यापक डा।सुरेशराज शर्मा, फिल्म निर्देशक यादव खरेल, साहित्यकार सनतकुमार रेग्मी र शिक्षा अभियन्ता हरिप्रसाद रावतलाई अभिनन्दनपत्र, दोसल्ला प्रदान गरी सम्मान गरेका थिए ।

त्यसैगरी, सामाजिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याउने सञ्जय सिंह, नारायण ज्ञवाली र वसन्त लामिछानेलाई पनि उपराष्ट्रपति पुनले सम्मान गरिएको थियो ।

कर्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक हरि गौतम, सम्मानित व्यक्तित्व शर्मा, महासंघका केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्यालले मन्तव्य व्यक्त गरेका थिए । पुस ८ गतेसम्म सञ्चालन हुने सो पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा पुस्तकका १ सय ४० कक्ष राखिएका छन् भने महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ । रासस