काठमाडौं-सर्वोच्च अदालतले धामी–झाँक्री प्रथालाई बोक्सी प्रथाकै कारकका रूपमा व्याख्या गर्दै त्यसविरुद्ध कानुनी प्रणाली निर्माण गर्न सरकारलाई आदेश दिएको छ । चितवनकी ढेगनीदेवी महतोलाई बोक्सीको आरोपमा हत्या गरिएको कर्तव्यज्यान मुद्दाको व्याख्याका क्रममा सर्वोच्चले सामाजिक कुप्रथाविरुद्ध सामाजिक चेतनाको विकास गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।


ADVERTISEMENT


कुनै पनि व्यक्तिलाई बोक्सारबोक्सीको आरोप लगाउनु, अपहेलना वा बहिष्करण गर्नु जघन्य अपराध हुने उल्लेख गर्दै सर्वोच्चले त्यसलाई मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा व्याख्या गरेको छ । समाजमा महिला, वृद्धवृद्धा र सामाजिक रूपमा परित्यक्तहरू नै बोक्सीको आरोपमा प्रताडित भइरहेको भन्दै सर्वोच्चले पीडितहरूको संरक्षणमा नेपाली न्यायप्रणालीले गरेको सम्बोधनको समीक्षा हुनुपर्ने औंल्याएको छ ।


ADVERTISEMENT

# # #


न्यायाधीशहरू केदारप्रसाद चालिसे र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले पश्चिमा समाजमा बोक्सी प्रथा इतिहासको अँध्यारो पाटो बनिसकेको र त्यसलाई हुनै नसक्ने कसुर मानिएको सन्दर्भमा नेपालमा अझै पनि बोक्सीको आरोपमा हत्या हुनु गम्भीर अपराध भएको भनी सर्वोच्च अदालतले ठहर गरेको हो ।

सर्वोच्चले बोक्सी प्रथाबाट उत्पन्न हुने घटनालाई निकृष्ट तहको फौजदारी अपराधका रूपमा व्याख्या गर्दै यस्ता घटनालाई सामान्यभन्दा फरक रूपमा व्याख्या गर्नुपर्ने राय अघि सारेको छ । फैसलामा भनिएको छ, ‘समाजमा बोक्सारबोक्सी हुन्छन् र तिनले मानिस, जीवजन्तु र खेतीबालीमा नोक्सान पुर्‍याउँछन् भन्ने आधारहीन मान्यताको उग्र विस्फोटका रूपमा हुने यस्ता घटना अन्य ज्यान मुद्दाभन्दा फरक हुन् ।’

सर्वोच्चले झाँक्रीकै कारण निर्दोष महिलाको हत्या भएको ठहर्‍याएको छ । सर्वोच्चको यो तथ्यले बोक्सारबोक्सीको आरोपमा धामी–झाँक्रीले गर्ने झारफुक र आक्रमणबाट हुने हत्यामा उनीहरूलाई समेत जिम्मेवार बनाएको छ ।

सर्वोच्चले बोक्सारबोक्सी प्रथा उन्मूलनका लागि धामी–झाँक्री प्रथा पनि नियन्त्रण गर्नुपर्ने औंल्याएको छ । ‘धामी–झाँक्रीले सामाजिक सेवा नभई समाजमा अन्धविश्वास फैलाउने र त्यसको आडमा शोषण गरिरहेका छन् भनी सबैलाई बुझाउन जरुरी छ,’ फैसलामा भनिएको छ, ‘बोक्सी प्रथामात्रै होइन, त्यसको कारकका रूपमा रहेको धामी–झाँक्री प्रथाविरुद्ध पनि हाम्रो राज्य, कानुनी प्रणाली र न्याय व्यवस्था उभिन सक्नुपर्छ ।’