काठमाडौं –  प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदारले धाँधली गरेर निर्वाचन जितेको आरोप लगाएकी छन् । सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार चौधरीले षडयन्त्रपूर्वक गच्छेदारलाई जिताउँने र आफूलाई हराउँने काम भएको भन्दै धाँधलीपूर्ण मतपरिणामलाई स्वीकार नगर्ने समेत बताएकी छन् ।


ADVERTISEMENT


नेकपा एमालेबाट वाम गठबन्धनकी उम्मेदवार चौधरी मतगणनामा धाँधली भएको भन्दै सोमबार देखि नै मतगणनास्थल बाहिरिएकी थिइन् । मतगणनाको अन्तिम परिणाम सुनाउँदै गर्दा समेत उनी मतदान स्थल थिइनन् ।


ADVERTISEMENT

# # #


आज बिहान सकिएको मतगणना अनुसार गच्छेदार र चौधरीबिच ३ सय २१ मतको अन्तर छ । गच्छेदारले ३८ हजार ९ सय ७२ मत पाएका छन् भने चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी छन् ।

मतदान सकिएलगत्तै  भगवतीले जनताले मत दिएर आफूलाई निर्वाचन जिताएको बताइन् । तर मतदानस्थलदेखि मतगणनास्थलसम्म गच्छेदारबाट भएको धाँधलीको परिणाम नै गच्छेदारको जित भएको आरोप उनले लगाइन् ।

‘म जनताको मतको कदर गर्दै संरक्षण गर्नेछु’ उनले भनिन्, ‘त्यसका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनको सहयोग लिन स्टेप चालिसकेकी छु ।’ चौधरीले आफ्नो जितको लागि भन्दा जनताको मतको संरक्षण गर्न आफू कटिवद्ध रहेको समेत बताएकी छन् ।

मतगणना धाँधलीपूर्ण रह्यो भन्ने भगवतीका यस्ता छन् आधारः

– मतगणनास्थलमा अर्धकट्टीसहितको मत्रपत्र भेटिनु । भगवती त्यसको सिरियल नम्बर हेरौं भन्दा मतदान अधिकृत टीका घिमिरेले ‘यो सिरियल नम्बर हेर्ने कुरा संसारको कुन कानुनमा लेखेको छ देखाउनुस्’ भन्दै हेर्न नमान्नु ।

– मतदान अधिकृतले मतदान सकिएपछि मुचुल्का गर्न प्रयोग गरिने खाली कागज पत्र (केहि नलेखिएको) सहितको फायल भेटिनु ।

– मत पेटिका सिल गर्न प्रयोग गरिने दुई वटा सामग्री (स्टीकर जस्तो) मतगणनास्थल भन्दा बाहिर भेटिनु । जसलाई काटेर प्रयोग गरिन्छ र प्रयोग गरिसकेपछि सुरक्षित राख्नुपर्ने हुन्छ । तर त्यो च्यातिएको अवस्थामा मतगणनास्थल बाहिर भेटिनु ।

– मतगणनास्थलमा मतगणना हुनु पहिले नै सीसी क्यामेरा जडान गर्न माग गर्दा समेत मतदान अधिकृतले अस्वीकार गर्नु ।

– मतदान स्थलभित्र टेलिफोन लग्न पाइदैन । तर काँग्रेस कार्यकर्ताले मोबाइल प्रयोग गर्नु । मोबाइल प्रयोग गर्न रोक्नु पर्ने एमाले कार्यकर्ताको कुरा मतदान अधिकृतबाट वेवास्ता हुनु ।

– मतगणनास्थलमा अर्धकट्टीसहितको मत्रपत्र भेटिएपछि भगवती चौधरीद्वारा मतगणना स्थगित गरि उच्चस्तरीय छानबीन समिति गठन गर्न र मतदान अधिकृत परिवर्तन अस्ती सोमबार नै निर्वाचन कार्यालय सुनसरी मार्फत निर्वाचन आयोगमा निवेदन दिएपनि त्यसको सुनुवाई गर्नुको साटो मतगणनालाई अगाडि बढाएर मतपरिणाम घोषणा गर्नु ।

यी विभिन्न कारणले जित्दाजित्दै पनि आफूलाई षडयन्त्रपूर्वक हराइएको आरोप भगवतीको छ । ‘जनताले जितायो, षडयन्त्रले हरायो’ भगवतीले भनिन्, ‘यो जनताको मतको अवमूल्यन हो । म चुप लागेर बस्दिन ।’