काठमाडौं आम निर्वाचन सम्पन्न भएलगत्तै अब मुलुकमा नयाँ राष्ट्रपति को बन्ला भन्ने चासो सुरु भएको छ । नयाँ राष्ट्रपतिको चयन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संविधानको धारा ६२ मा व्यवस्था छ ।


ADVERTISEMENT


संविधानको धारा ६४ मा राष्ट्रपतिको योग्यताबारे उल्लेख छ । जसअनुसार राष्ट्रपति हुनका लागि संघीय संसदको सदस्य हुन योग्य भएको, ४५ वर्ष पूरा भएको र कानूनले अयोग्य नठहर्‍याएको व्यक्ति हुनुपर्ने छ ।


ADVERTISEMENT

# # #


सोही धाराको उपधारा २ ले कुनै पनि व्यक्ति दुई कार्यकालसम्म राष्ट्रपति हुन पाउने बाटो खोलेको छ । सो उपधारामा भनिएको छ-‘दुईपटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन ।’

संविधानको यो प्रावधानले कुनै पनि व्यक्तिलाई दुई कार्यकालसम्म राष्ट्रपति बन्न पाउने सुविधा दिएको छ । यसअर्थमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः एकपटक राष्ट्रपति हुन संविधानले छेक्दैन ।

डा. रामवरण यादव ०६५ साल साउन ८ मा राष्ट्रपति बनेका थिए । उनी ०७२ साल कात्तिकसम्म पदमा रहे । अर्थात उनले ७ वर्षसम्म राष्ट्रपति चलाए ।

अन्तरिम संविधानले नयाँ संविधान बनुञ्जेलसम्म राष्ट्रपतिको पदावधि कायम रहने भनेको थियो । ०६४ सालको संविधानसभा विघटन भएपछि ०७० मा अर्को संविधानसभाको चुनाव भयो । तर, दोस्रो संविधानसभाको कार्यकालमा पनि राष्ट्रपति यादव नै कायम रहे । त्यसपछि ०७२ सालमा नयाँ संविधान बनेपछि मात्रै यादवलाई विद्या भण्डारीले ‘रिप्लेस’ गरिन् ।

नयाँ संविधानको धारा ६३ अनुसार राष्ट्रपतिको पदावधि ५ वर्षको हुनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी सम्हालेको २ वर्षमात्रै पुगेको छ ।

तर, संविधानको संक्रमणकालीन व्यवस्थाअन्तरगत धारा २९७ ले राष्ट्रपतिको कार्यकाल छोट्याएको छ । संविधानअनुसार पहिलो आम निर्वाचन सम्पन्न भएपछि नयाँ राष्ट्रपति उपराष्ट्रपति चयन हुने प्रावधान संविधानको धारा २९७ को उपधारा ९५० मा छ । त्यसैले अब दुई वर्षकै अवधिमा राष्ट्रपति विद्या भण्डारीको पदावधि सकिँदैछ ।

अब राष्ट्रिय सभा पनि गठन भइसकेपछि सम्भवतः एक महिनामा राष्ट्रपति भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुन पासाङको पदावधि समाप्त हुनेछ । र, नयाँ राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

को बन्ला राष्ट्रपति ?

दुई वर्षमात्रै राष्ट्रपति बनेको हुनाले विद्यादेवी भण्डारीलाई नै वाम गठबन्धनले दोस्रो कार्यकालका लागि उम्मदेवार बनाउन सक्ने कतिपयले चर्चा गर्न थालेका छन् । महिला पनि भएको र अहिले वाम गठबन्धनले बहुमत पाएको हुनाले कांग्रेस एमाले दुबै दलको रोजाइमा उनी पर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

यति विद्या भण्डारी नै दोस्रो कार्यकालको राष्ट्रपति भइन् भने उनले पनि रामवरण यादवले जस्तै ७ वर्ष शीतलनिवास बस्न पाउने छिन् । र, देशले १४ वर्षसम्म दुईजना राष्ट्रपतिहरु पाउने छ । देशले छोटो समयमा धेरै राष्ट्रपति धान्नु नपर्ने स्थिति आउने छ ।

तर, नयाँ परिस्थितिमा नयाँ राष्ट्रपति नपाउँदा मुलुकवासीले नयाँ स्वादको महसुस गर्न पाउने छैनन् । देशले नयाँ युगमा प्रवेश गर्दैगर्दा नयाँ ‘डाइनामिक’ राष्ट्राध्यक्ष पाउन सके त्यो अझै राम्रो हुनेछ ।

चुनावी नतिजाको गणितलाई हेर्दा जो राष्ट्रपति बने पनि वाम गठबन्धनकै उम्मेदवारले जित्ने देखिन्छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा राष्ट्रियसभाका सदस्य, प्रतिनिधिसभा सदस्य र प्रदेशसभाका सदस्यले मतदान गर्न पाउँछन् । यसो गर्दा राष्ट्रियसभाका ५९, प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० गरी कुल ८८४ जनाले राष्ट्रपति, उपराष्ट्रपति छान्नेछन् । यीमध्ये केन्द्र र प्रदेशका सांसदहरुको मतभार फरक-फरक हुनेछ ।