प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि मनोनयनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले प्रदेशसभा र प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकको उम्मेदवार धमाधम सिफारिस गरिरहेका छन् । त्यही अनुसार नेपाली काँग्रेसको प्रदेश समितिले डा. रामशरण भण्डारी (आर.एस. भण्डारी)लाई प्रतिनिधिसभाका लागि समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस गरेको छ । काठमाडौँस्थित ह्याम्स अस्पतालका अध्यक्षसमेत रहेका भण्डारीको राजनीतिक यात्राको चाहना, चुनावी तयारी र एजेण्डा लगायतका विषयमा हिमालय पोष्टले गरेको कुराकानीको सम्पादित अंशः


ADVERTISEMENT


प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा तपाईंको नाम पनि उम्मेदवारका लागि सिफारिस भएको छ । राजनीतिप्रति रुचि कसरी जाग्यो ?


ADVERTISEMENT

# # #


हामी व्यवसाय गरिरहँदा समग्र राजनीति नसुध्रिकन वा नेता नसुध्रिकन देश बन्दैन भन्ने बुझाई मेरो पनि हो । व्यवसाय गरेर एटा स्तरसम्म पुग्दैगर्दा त्यहाँ आर्जेको बुद्धि, विवेकलाई देशको परिवर्तनका लागि खर्चिन सकियो भने राम्रो हुन्छ भन्ने लागेको हो । स्वाथ्य क्षेत्रमा मेरो यति लामो अनुभवको हिसाबले देशको लागि स्वास्थ्य क्षेत्रमा योगदान रहोस् भन्ने उद्देश्यका साथ एउटा राजनीतिक पाइला चाल्न खोज्दैछु ।

सिफारिस त हुनुभयो । उम्मेदवारको अन्तिम टुंगोचाहीँ कसरी लाग्छ ?

अहिले पाँच दलीय गठबन्धन भएकाले चुनावी माहोल नै फरक छ । काँग्रेसले कहाँ र कति पाउने भन्ने नै टुंगो लागेको छैन । त्यसकारण कम सिटमा नै उम्मेदवार व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । मलाई प्रतिनिधिसभाका लागि समानुपातिकमा प्रदेशले सिफारिस गरेको छ । पार्टीले बन्दसूचि तयार गर्दैछ । त्यसमा पार्टीले मेरो महत्व बुझेर मलाई बन्दसूचिमा राख्ने–नराख्ने, कति नम्बरमा राख्ने भन्ने कुरा मैँले पार्टी नेतृत्वलाई नै छोडिदिएको छु । अहिलेसम्म मैँले देशलाई, स्वास्थ्य क्षेत्रमा गरेको योगदानलाई मूल्याङ्कन गरेर बन्दसूचिमा मेरो नाम अटाउला भन्ने लाग्छ । धेरै नेताहरुसँग कुरा गर्दा उहाँहरुले मलाई महत्व दिएको र पार्टीको लागि तपाईं चाहिन्छ भन्ने बुझेको छु ।

तपाईं स्वास्थ्य क्षेत्रमा आवद्ध व्यक्ति हुनुहुन्छ । काँग्रेसमार्फत राजनीतितर्फ पाइला चाल्दै गर्दा तपाईंको पृष्ठभूमि कसरी अघि बढ्यो ?

मेरो हजुरबुवाको पालादेखि नै हामी जन्मजातदेखि नै लोकतन्त्रलाई विश्वास गर्दै आएका छौँ । म वि.सं. २०५७ सालदेखिको नेपाली काँग्रेसको क्रियाशील सदस्य हुँ । त्यो हुुँदैगर्दा पनि म आफ्नो व्यवसायमा नै अलि बढी व्यस्त रहेँ । तर, क्रियाशील सदस्यको हैसियतले मैँले जिल्ला (सिन्धुपाल्चोक)मा २०६२ सालमै सिन्धुसदाबहार अस्पताल र सेवाका हिसाबले अहिलेसम्म उत्कृष्ट सेवा दिने निजी क्षेत्रको अस्पताल स्थापना गरेको छु । यस्तै सिन्धुपाल्चोकमै मैँले पहिलो नर्सिङ कलेजको समेत सुरुवात गरेँ । यस्तै बाढी–पहिरो, भूकम्प, कोभिड प्रभावित र अशक्तहरुलाई स्वास्थ्य क्षेत्रबाट गर्न सकिने सहयोग प्रत्यक्ष वा अप्रत्यक्ष गर्दै आएको छु । अन्य सरकारी अस्पतालमा उपचारका क्रममा रहेका मानिसहरुलाई सहयोग गर्ने भूमिका मेरो पहिलेदेखि नै हो ।

पछिल्लो समय देशको उत्थानका लागि युवाहरु नै राजनीतिमा आउनुपर्नेजस्तो आवश्यता सिर्जना हुँदैछ । त्यो लहरलाई काँग्रेसभित्र पनि समेट्नुपर्ने भाव हाम्रा अग्रज नेताहरुमा पनि आएको छ । युवाहरु स्वतन्त्र रुपमा नभई दलमार्फत राजनीतिमा आउँदा स्वयम् राजनीतिक दलहरु मात्रै होइन देशलाई नै फाइदा हुन्छ । मेरो व्यक्तिगत कुरा गर्दा राजनीतिमा आए देशको स्वास्थ्य क्षेत्रमा केही गर्न सकिन्छ भन्ने योजनाका साथ नै म राजनीतिमा आएको छु ।

संघीय संसदमा जाने तयारी गर्दै गर्दा यसका लागि तपाईंका एजेण्डाहरु के–के छन् ?

आज म निजी क्षेत्रमा ह्याम्स अस्पताल चलाइरहेको छु । राज्यले पनि स्वास्थ्य शीर्षक अन्तर्गत धेरै पैसा खर्च गरिरहेको छ । आज ह्याम्स अस्पतालमा आउने बिरामीले जति पैसा तिर्छ, त्यसको दोब्बर पैसा राज्यले सरकारी अस्पताल चलाउनका लागि खर्च गरिराखेको छ । तर, निजी क्षेत्रको गुणस्तर के छ र सरकारी स्तरबाट सञ्चालित अस्पतालको स्तर के छ भन्ने करा जगजाहेर नै छ ।

म एउटा व्यवसायी भएका नाताले मलाई साह्रै दुःख लागेको के हो भने राज्यको स्वास्थ्य क्षेत्रमा जुन लगानी छ, त्यो बालुवामा पानी हालेकोजस्तो भइरहेको छ । मेरो एजेण्डा भनेको २५ वर्षसम्मको मेरो अनुभव देशभरिको स्वास्थ्य क्षेत्रमा एउटा खालको परिवर्तन र स्वास्थ्य क्षेत्रलाई गुणस्तीय सेवासहित राज्यको पैसाको सदुपयोग गर्ने भन्ने हो । मैँले मौका पाएँ भने देशको स्वास्थ्य क्षेत्रमा तपाईंहरुले महसुस गर्न सक्ने ठाउँमा पुर्याउन सक्छु भन्ने मेरो आत्मविश्वास हो ।

निर्वाचन नजिकिँदै गर्दा अन्त्यमा के भन्न चाहनुहुन्छ ?

लोकतन्त्रको सिद्धान्त बोकेर काँग्रेस जसरी अघि बढेको छ, यो नै देशको मुहार फेर्ने पार्टी हो भन्ने मेरो विश्वास छ । त्यसैले म काँग्रेसको एउटा कार्यकर्ताको रुपमा काँग्रेसभित्र रहेर देशको स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्ने मेरो धोको र इच्छा छ । त्यो गर्नसक्छु भन्ने मेरो आँट छ ।

आजको दिनसम्ममा संसारमा जुन किसिमको परिवर्तन आएको छ, लोकतन्त्र नै त्यसको मुख्य आधार रहेको हुँदा म आम नेपालीलाई काँग्रेसलाई विश्वास गर्न र काँगेसका उम्मेदवारलाई अध्याधिक मतले जिताएर काँग्रेसलाई दुई तिहाईको बहुमत पार्टी बनाइदिन आग्रह गर्छु ।