ललितपुर– निर्वाचनभन्दा एक महिनाअघि राजनीतिमा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआइजी) नवराज सिलवाल प्रतिनिधिसभामा ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएपछि थप चर्चामा आएका छन् ।


ADVERTISEMENT


आफू प्रहरी महानिरीक्षकमा बढुवा नभएपछि सरकारको विरोधमा सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका सिलवालले अदालतबाट न्याय नपाए पनि जनताबाट न्याय पाएको महसुस गरेका छन् ।


ADVERTISEMENT

# # #


सिलवालको मुद्दामा सकारात्मक देखिएको भन्ने आधारमा सत्ता पक्षले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग प्रस्ताव संसद दर्ता गराएपछि सिलवाल ‘सेलिब्रेटी’ बनेका थिए ।

प्रहरीमा रहँदा पनि बफादारिताका साथ काम गर्ने छवि बनाएका सिलवाल निर्वाचन पूर्व गत असोज २० मा नेकपा ९एमाले० प्रवेश गरी क्षेत्र नं १ को उम्मेदवार बनेका थिए । वर्तमान अर्थराज्यमन्त्री उदयशमशेर राणालाई छ हजार २२२ मतान्तरले पराजित गरेपछि सिलवालको प्रत्यक्ष राजनीतिक यात्रा सहज देखिएको छ ।

सिलवालले २६ हजार ९५१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राणाले २० हजार ७२९ मत ल्याए । यस क्षेत्रमा ५१ हजार २४९ मत खसेको थियो ।

दोस्रो संविधानसभा निर्वाचन २०७० राणाले एमालेका पूर्व जिल्ला अध्यक्ष मधुसूदन पौडेललाई पराजित गरेका थिए ।
साढे दुई महिना पहिलेसम्म सिलवाल नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) थिए । अहिले उनको नयाँ परिचयसँगै दैनिकी नै एकाएक परिवर्तन भएको छ ।

एमाले र नेकपा (माओवादी केन्द्र) को साझा उम्मेदवारका रुपमा उनी एक महिनादेखि मत माग्न जनताका घरआँगनमा पुगेका थिए भने अहिले बधाई दिन र मतदातालाई धन्यवाद दिन व्यस्त छन् ।

एमालेबाट उम्मेदवार हुनु मतदाताका लागि नौलो भए पनि पूर्व प्रहरीका रुपमा उनलाई धेरैले चिन्दथे । राष्ट्रियरुपमा चर्चित व्यक्ति भएकाले उनलाई निर्वाचन जित्न सहज भएको निर्वाचन पहिले धेरैले अनुमान गरेका थिए । उनका उम्मेदवारी पार्टीको स्थायी कमिटीले लगाउँदा क्षेत्रीय कमिटीले स्वागत गर्नु उनका लागि जित्न सहज भइदियो ।

नवनिर्वाचित सांसद सिलवाल ५४ वर्ष पहिले जिल्लाको गोदावारीमा जन्मिएका हुन् । उनले प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरी २९ वर्षसम्म कार्यरत रहे । सिलवालले प्रहरी सेवाबाट गत भदौ २७ मा राजीनामा दिएका थिए । उनी २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा शुरु गरेका थिए ।
असोज २२ गते उनको राजीनामा स्वीकृत भएको थियो । त्यसको दुई दिन पहिले नै उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका थिए । सिलवाल जितेमा भावी गृहमन्त्री हुन सक्ने आँकलन गरिएकाले पनि उनको विजय निश्चित भएको मानिएको छ ।

सिलवाल नेपाली साहित्यमा नव सिलवालका रुपमा परिचित छन् । कथा, कविता, निबन्धलगायतका विधामा उनले कलम चलाउँदै आएका छन् ।सञ्चिता घिमिरे/रासस