नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रदेश नं. १ का पूर्वमन्त्री जीवन घिमिरेसँग आसन्न प्रदेश र संघीय निर्वाचन, नेकपा एमालेको तयारी र समसामयिक राजनीतिक विषयमा गरिएको कुराकानीको सम्पादित अंशः


ADVERTISEMENT


निर्वाचनको घोषणा भएपछि पार्टीको केन्द्रीय कमिटीको बैठकहरु जोडबलले चलिरहेको देखिएको छ । एमालेलाई चुनाव कत्तिको लागेको छ ?


ADVERTISEMENT

# # #


निर्वाचनको मिति नजिकिएसँगै पार्टीले यसको तयारी थालेको छ । केन्द्रीय समितिदेखि सचिवालय बैठकहरु बसिरहेका छन् । जिल्ला र प्रदेशस्तरमा पनि त्यही अनुसारको व्यस्तता बढेको छ । खासगरी अहिले जिल्ला र प्रदेश कमिटीले उम्मेदवार सिफारिस गर्ने कार्य गरिहेका छन् । व्यस्तता यसमै छ । यही महिनाभित्र नै समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारहरुको टुंगो लाग्नेछ ।

उम्मेदवार छनोटको मापदण्ड कस्तो पाउनुभएको छ ?

पार्टीप्रति निष्ठा र भोट पाउन सक्ने उम्मेदवार बनाउनुपर्छ भन्ने पहिलो सर्त हो । निर्वाचनमा एक हिसाबले भन्ने हो भने भोटकै कुरा हुने गर्छ र जित निकाल्नुपर्ने हुन्छ । एमालेप्रति चौतर्फी घेराबन्दी भइरहेका बेला जसलाई उम्मेदवार बनाउँदा एक भोट भने पनि धेरै आउँछ भन्ने देखिन्छ उसलाई उम्मेदवार बनाउनुपर्छ भन्ने हो । जितका आधारहरु जो उम्मेदवार बन्दा देखिन्छ, उसैलाई उम्मेदवार बनाउने भन्ने पार्टीको धारणा हो ।

यही मापदण्डमा जाँदा पार्टीमा असन्तुष्टहरु पनि निस्केलान्,  थप असन्तुष्टहरु बढ्ने अवस्थालाई कसरी हेर्नुभएको छ ?

भर्खरै सकिएको स्थानीय निर्वाचनले पनि हामीलाई केही पाठ पढाएर गएको छ । पार्टीको उपल्लो तहले रुचाएको केही उम्मेदवारलाई पार्टीकै स्थानीय तहका कार्यकर्ता नेताहरुले मन नपराएको पनि देखिएको छ । त्यसैले एमालेले जिल्लाका पार्टीका नेता कार्यकर्ताको अधिकतम भावनालाई समेटेर नै उम्मेदवारको टुंगो लगाउने निष्कर्ष निकालेको छ । यसकारण असन्तुष्टहरु बढ्दैनन् । अब पार्टीले गलत निर्णय लिँदैन ।

गठबन्धन एकढिक्का भइरहँदा एमालेले त्यसबाट त्रसित हुनुपर्ने अवस्था छ ?

एमाले देशको जिम्मेवार, सबैभन्दा बलियो र ठूलो पार्टी भएको कुरा उम्मेदवारी दर्ताको दिन थाहा हुनेछ । यसपटक हामी १६५ निर्वाचन क्षेत्रमा नै उम्मेदवारी दिनेछौं । जबकी गठबन्धनको नेतृत्व सम्हालिरहेको देशको दोस्रो ठूलो पार्टी भनिएको नेपाली कांग्रेसले नै ६० देखि ७० निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिने अवस्था रहेको छ । एमालेसँग जुन शक्ति र सामर्थ्य रहेको छ त्यो सामर्थ्य  देशकै पुरानो पार्टी कांग्रेसमा पनि रहेको छैन भन्ने कुरा बुझ्नुपर्छ । यही कारण हामी त्रसित हुने अवस्था छैन ।

अरु सबै पार्टी एक ठाउँमा हुँदा त तपाईंको निर्वाचनमा तपाईंहरुलाई अप्ठ्यारो होला नि ? 

एमालेसँग एक्लै निर्वाचन लड्न यतिबेला कुनै पार्टीको  हिम्मत नै छैन । त्यसकारण नै उहाँहरु एकै ठाउँमा बसेर गठबन्धन गरेर निर्वाचनमा जान लाग्नुभएको हो । कसैमा पनि एक्लै उभिन नसक्ने, एक्लै हुँदा केही पनि गर्नै नसक्ने भएकाले यसो गरिएको हो । सहाराबिना केही पनि गर्नै नसकेकाले एकले अर्कोको सहारा लिएका हुन् । यसले पनि अरु सबै कमजोर रहेको र नेकपा एमाले बलियो रहेको छ भन्ने पुष्टि भएको छ ।

गठबन्धनले तपाईंहरुलाई एक्लो बनाएर अघि बढिरहँदा निर्वाचनमा हुने हारबाट जोगिन तपाईंहरुले कस्तो रणनीति बनाउनुभएको छ त ?

सर्वप्रथम त एमाले एक्लै पनि निर्वाचनमा होमिने र त्यसमा खरो उत्रिने तागत राख्दछ । कसैको सहारा नभई उभिन नसक्ने अवस्थामा एमाले रहेको छैन । हामीले निर्वाचनमा राम्रो जित निकाल्नका लागि पार्टीका तल्लो तहका कार्यकर्तादेखि माथिल्लो तहका नेतासम्म एकखालको रणनीति तयार गरेका छौं । आफ्ना उम्मेदवारलाई जिताउन सबैले आ-आफ्नो स्थानबाट सहयोग, सद्भाव र शक्ति लगाउने प्रण पनि गरिसकेका छौं ।

उम्मेदवारको छनोट पनि अब सुधारिएर जानेछ । एमालेको सरकार रहँदा सरकारले गरेको लोकप्रिय कामहरु पनि हाम्रा जितका आधारहरु हुन् । अर्कोतर्फ गठबन्धनका धेरै कमी कमजोरीहरु पनि रहेका छन् । समृद्ध नेपाल सुखी नेपालीको अवधारणामा काम गर्नका लागि एमाले सरकारमा जानुको विकल्प नभएको जनताले महसुस गरिसकेका छन् । यसमा हामी प्रतिबद्ध छौं । एमाले पार्टीका कार्यकर्ताहरुमा पनि अरु पार्टीका तुलनामा सक्रियता बढी देखिएको छ । हाम्रा जितका धेरै किसिमका आधारहरु रहेका छन् ।

गठबन्धन कायमै रहँदा पनि एमाले नै बलियो शक्ति रहन्छ भन्ने दाबी हो ?

निर्वाचनपछि एमालेकै सरकार बन्छ । यसमा हामी विश्वस्त छौं । यसका विभिन्न आधारहरु तयार भएका छन् । यही आधारहरुमा टेकेर नै एमाले निर्वाचनमा होमिन लागेको हो । अरु पार्टीमा एजेण्डा नै पनि नभएको अवस्था रहेको छ । जबकी एमालेसँग जितका लागि एजेण्डाको शृंखला नै रहेका छन् ।

अर्कोतिर हिजो एमालेको सरकार हुँदाको मुलुकको अवस्था र आज गठबन्धनको सरकार हुँदा मुलुकको अवस्थाको तुलना मात्र जनताले गरे पनि हाम्रा जितका आधारहरु तय हुन्छन् । यो त ऐनाजस्तै छर्लंगै भएको कुरा हो । हामीले सरकारमा हुँदा देशको लागि गरेका फेहरिस्त पनि हामी जनताकाबीच लिएर जाने नै छौं । यसकारण हामीले गठबन्धनसँग डराउनु नै पर्दैन । अहिलेको सरकार कुन हिसाबमा चलेको छ त्यो त जनाताले देखिरहेकै छन् । यसकारण उहाँहरुले गठबन्धन गर्दा पनि हामी बलियो छौं ।

दुई तिहाईको सरकार जोगाउन नसकेको कुरा पनि जनताले महसुस गरेका होलान् नि ?

दुई तिहाईको सरकार एमाले एक्लैले बनाएको थिएन । त्यसमा माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकीकरण पनि कारक थियो । तत्कालीन गठबन्धन पार्टी एकीकरणको रुपधारण नै नगरेका कारण पार्टी एकीकरणचाँहि अप्राकृतिक जस्तो पनि भयो । पार्टी एकीकरण यही कारण टिकेन । यसमा एमालेलाई मात्र दोष दिन मिल्दैन । गठबन्धनमा भएका अन्य पक्ष पनि दोषी नै छन् । एमालेले यसको जिम्मेवारी लिइरहेको पनि छ । नेकपाको सरकार ढल्नुमा दोष र जिम्मेवार अरु पार्टीले पनि लिनुपर्छ भन्ने हो ।

माधव नेपालले पार्टी फुटाएर गएपछि त्यसले आगामी निर्वाचनमा एमालेलाई कति क्षति पुर्याउने आँकलन गर्नुभएको छ ?

यसकोबारेमा पार्टीले राम्ररी सोचेको छ । यसअघि ५० सालमा केन्द्रीय कमिटी र संसदको पनि ५०/५० प्रतिशत विभाजन हुँदा पनि जनताले विभाजनकारीलाई साथ नदिएको इतिहास हामीसँग छ । स्थानीय निर्वाचनको आँकडाले पनि हामी यसको समीक्षा गर्न सक्छौं । यसमा पनि विभाजन गर्नेलाई साथ नदिएको र पार्टीको मूल प्रवाहलाई नै बढी साथ दिएको हामीले देखेका छौं । सबै मतलाई समीक्षा गर्दा पार्टी विभाजन गर्नेलाई जनताले ४ प्रतिशत मत दिएको देखिन्छ । त्यो ४ प्रतिशत मतलाई अन्य स्थानबाट पूर्ति गर्न हामी सक्षम भइसकेका छौं । विभाजनको असर पनि हामीलाई पर्दैन भन्ने हो ।

 स्वतन्त्र उम्मेदवारहरु पनि बढेका छन् । हिन्दुराष्ट्रको जनमत बढेको र प्रदेशको संरचना कमजोर भएको भन्ने एकखालको जनधारणा देखिएको छ,  एमालेले यी एजेण्डा उठाउन खोजेको हो ?

एमालेले हिन्दुराष्ट्रको अवधारणा आत्मसात गरेको छैन । अहिलेको संविधानले हामीलाई संघीयताजस्तो राम्रो कुरा दिएको छ । यो विश्वकै उत्कृष्ट संविधानहरुमध्येको एक हो । प्रदेश संरचना पनि यही अवधारणामा आएको छ । यस्तो युगीन संविधान बनाउन नेकपा एमालले ठूलो समय खर्च गरेर र ज्यादै प्रशंसनीय भूमिका निभएको छ । संविधानको कार्यान्वयनका पक्षमा भएका कमजोरीले मात्रै प्रदेश संरचना कमजोर दखिएको हो । पूर्ण कार्यान्वयन हुन केही समय लाग्न पनि सक्छ ।

हामीकहाँ संघीय संरचना र स्थानीय संरचना पहिलेदेखि नै भएकोले यसको परिचालन गर्न समस्या आएनन् । तर, प्रदेश संरचना नयाँ भएकाले नीति निर्माणदेखि सबै कुरा निर्माण गर्दा समय पनि लाग्यो । केन्द्रमा रहेको सरकार ढल्नाले राजनीतिक अस्थिरता मौलाएर प्रदेशहरु कमजोर देखिएका हुन् । अब निर्वाचनपछि स्थायी सरकार बन्नेछ र प्रदेशहरु पनि राम्ररी चल्नेछन् । एमाले यही आत्मविश्वास लिएर अघि बढिरहेको छ ।

आगामी निर्वाचनपछिको राजनीतिक परिदृश्य के होला ?

अहिले हामीसँग भएका मतमा १६ प्रतिशत मत थपियो भने दुवै तहमा एमालेले बहुमतको सरकार बनाउनेछ । हाम्रो लक्ष्य १६ प्रतिशत मत बढाउने भन्नेमा केन्द्रित भए पनि जनताले हामीलाई त्योभन्दा माथि मत दिनुहुन्छ भन्ने लागेको छ । हाम्रो पार्टीको संरचनाले, कार्यकर्ताले, नेताहरुले यसमा केन्द्रित भएर विभिन्न कामहरु गरिरहनुभएको छ । आत्मविश्वासका साथ हामी अघि बढिरहेको र बहुमतको सरकारको दाबी पनि यही कारणले गरेको हो ।

गठबन्धन भत्काउने राणनीतिमा एमाले लागेको छ कि छैन ?

एमालले यो गठबन्धन भत्काउने रणनीति बनाएको छैन । किनभने एमालेलाई यो गठबन्धन रहनु र नरहनुले खास असर पारेको नै छैन, पार्दैन पनि । अर्को कुरा गठबन्धन आफैंमा मक्किसकेको छ । त्यहाँभित्र अनेक विरोधाभास र अन्तर्विरोधहरु रहेका छन् । यो माकुराको जालोजस्तो एकदमै कमजोर डोरीमा अडेको छ । सरकार पनि इतिहासकै गैरजिम्मेवार र नालायक देखिएको छ । यति कमजोर शक्तिलाई ध्वस्त गर्न एमालेले थप शक्ति लगाउनुपर्ने रणनीति बनाउनै पर्दैन । यो आफैं चाउरिएर सकिने गठबन्धन हो ।

राष्ट्रपतिबाट सुझावसहित फिर्ता भएको नागरिकता विधेयक संसदले हुबहु पारित गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिकहाँ नै पठाएको छ । नागरिकता विधेयकका सन्दर्भमा एमालेको धारणा के हो ?

नागरिकता विधेयकका सन्दर्भमा एमाले प्रष्ट छ । जसले नागरिकता पाउनुपर्ने हो, जो नेपाल आमाका सपुत हुन्, जो परम्परादेखि नेपालमा बस्दै आएका छन्, जसमा देशभक्ति छ र जो यहाँको माटोसँग घुलमिल छ उसलाई नागरिकता दिने कुरामा एमालेले विरोध गर्दैन । यो उसको नागरिकतासम्बन्धी हक पनि भएकाले उसले नागरिकता पाउनुपर्छ भन्नेमा एमाले प्रष्ट छ ।

तर, अहिले अंगीकृत वैवाहिक नागरिकताको जुन विषय उठेको छ त्यो संसारमा नै नभएको जात्रा गर्न लागिएको हो । अघिल्लो दिन बिहे गरेर भोलिपल्ट राजनीतिक अधिकार सहितको नागरिकता दिने कुरा एमालेलाई मान्य छैन । केहि समयसीमा तोकेर मापडण्ड बनाएर अंगीकृत वैवाहिकहरुलाई पनि नागरिकता दिनुपर्छ भन्ने कुरामा भने एमालेले विरोध गर्दैन । समयसीमा तोकेर संक्रमणकालीन पाँचसात वर्ष समय राखेर अंगीकृत वैवाहिकहरुलाई नागरिकता दिने अन्तर्राष्ट्रिय कानुनहरु पनि छन् । एमाले यसमा प्रष्ट छ ।

नागरिकता विधेयकलाई चुनावी एजेण्डा बनाउन एमालेले राष्ट्रपतिलाई प्रयोग गरेको छ भन्ने कुरा पनि आएका छन् नि ?

एमाले र राष्ट्रपतिलाई एकै ठाउँमा जोड्न हुँदैन । राष्ट्रपतिलाई संविधानले आफ्ना अधिकार र कर्तव्यका सीमाहरु दिएको छ । आफ्ना अधिकार र कर्तव्यका सीमाहरुमा रहेर नै उहाँले राष्ट्र र राष्ट्रियताका विषयमा विवेकसम्मत निर्णय गर्ने कुरा हो । राष्ट्रपतिले नागरिकता विधेयकमा देखाउनु भएको विवेक राष्ट्र र राष्ट्रियताका हितमा रहेको कुरा जनताले पनि महसुस गरेका छन् ।

अर्को कुरा राष्ट्रपति कुनै पार्टीको मान्छे नभएर राष्ट्रको नै राष्ट्रपति भएको कुरा पनि भुल्नुहुँदैन । राष्ट्रपतिले आफ्नो विवेक प्रयोग गरेर उचित निर्णय लिने कुरालाई एमालेले कहिले पनि विरोध पनि गरेको छैन । राष्ट्रपतिलाई यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर एमालले निर्देशित गर्ने काम पनि गरेको छैन र गर्न मिल्दैन पनि । राष्ट्रपति हाम्रो संविधानको संरक्षक र पालक पनि हो । राष्ट्रपतिको राजिनामाका कुरासमेत गरेर गठबन्धनले बजारमा राष्ट्रपतिको पदीय गरिमालाई धमिल्याउने काम गर्यो । यस्तो गर्नुहुँदैन ।

तपाईंले प्रदेश १ सरकारको मन्त्रीको भूमिका पनि निर्वाह गर्नुभयो । आफ्नो कार्यकालमा तपाईंले गरेका कामहरु के-के हुन् ?

मैँले प्रदेशको मन्त्रालय सम्हाल्ने समयमा मन्त्रालयमा केहि पनि भौतिक कुराहरु बनिसकेका थिएनन् । मन्त्रालयका कार्यालयसमेत आफैंले व्यवस्थापन गर्नुपर्ने समय थियो । प्रदेशको संरचना पनि राम्ररी तयार भएको थिएन । नीति निर्माणहरु पनि भएका थिएनन् । पिर्का, गुन्द्री, काठका ठेउकाहरुमा बसेर हामीले संरचना तयार गर्ने काम गर्यौं । हामीले बजेट खर्च गर्ने त्यसका नीति निर्देशिका बनाउने अधिकार पनि पाएका थिएनौं । त्यो बेला शून्यबाट नै काम सुरु गरेर प्रदेशको एकखालको संरचना बनाउन हामीले काम गर्यौं ।

बजेट पनि खर्च गर्न नपाउने, ऐन-निर्देशिका पनि नभएको अवस्थामा मैँले मेरो मन्त्रालयमा सरसफाइका काम पर्ने भएकाले आफैं झाडु बोकेर प्रदेशका विभिन्न स्थानमा सरसफाइको अभियान पनि चलाएको थिएँ । मन्त्रालयका काम गर्न मन्त्रालयमा बस्ने वातावरण नभएसम्म ऊर्जालाई समाप्त गर्न हुँदैन भनेर एक महिना यस्तो अभियान चलाएँ । त्यसपछि विस्तारै मन्त्रालयका संरचनाहरु तयार गर्ने, ऐननिर्देशिका बनाउने, सरकारका अरु नीतिगत काममा लाग्दै गएर सरकारलाई एउटा आकार दिने काम भयो । स्थानीय तह र केन्द्र सरकारसँग समन्वय गर्ने रणनीति र योजनाहरु बनायौं । मेरो कार्यकालमा हाम्रो प्रदेशका १३७ वटै स्थानीय तहमा खेलकुद मैदान बनाउने काम पनि भयो ।

विराटनगरमा काठमाडौंपछि रात्रीकालीन पनि खेलकुद खेल्ने प्रबन्ध पनि मेरै कार्यकालमा भयो । नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहन विश्वविद्यालय बनाउने काम पनि भयो । डिजीटल पढाइका सन्दर्भमा मैले पहिले नै चालेको कदम कोरोनाकालमा आएर सही कदम थियो भन्ने पुष्टि भयो । सबै प्रदेशमा पठनपाठन ठप्प हुँदा पनि हामीले डिजीटल पढाइका सन्दर्भमा कोरोनाअघि नै तालीम दिएका कारण पढाइ अवरुद्ध भएन ।

कोरोना अस्पताल छुट्टै बनाउनुपर्छ भन्ने अवधारणा प्रदेश १ मा नै पहिलोपटक आएको हो । अरुले पनि त्यसको अनुशरण गरे । प्रदेश १ मा कोरोना संक्रमणलाई फैलिन नदिन हामीले चालेको ‘थ्रिटि’को अभियान उपायोगी साबित भएर धेरै मान्छेको ज्यान बच्यो । यही अभियान पछि देशभर अवलम्बन पनि गरियो । त्यतिबेला विश्व स्वास्थ्य संगठनसमेत हामीसँग प्रभावित भएको थियो । कोरोनाकालमा एक हप्तामै ५० शय्याको अस्पताल बनाएर हामीले जगारण पैदा गर्यौं । आज त्यो अस्पताल २ सय शय्याको भएको छ ।

महिला, बालबालिका, मजदुर, र पूर्वाधार लगायत धेरै कुरामा प्रदेश १ सरकारले देशलाई नै सही दिशानिर्देश दिने  काम गरेको थियो । मलाई सबैभन्दा गर्व लाग्ने कुरा भनेको प्रदेशका मन्त्रालयमा हरेक दिन पाँच सय मान्छेहरु मागपत्र लिएर स्थानीय सुविधाका कुरा लिएर आइरहेका हुन्थे । संघीय मन्त्रालयमा यसो हुन सम्भव नै छैन । त्यसकारण प्रदेश सरकारको संरचना चाहिन्छ ।

आगमी चुनावमा तपाईंको तयारी के छ ?

आगमी चुनाव हाम्रो पार्टीले व्यक्तिले म यहाँ लड्छु भनेर भन्न नपाउने भनेर निर्देशन पनि दिएको छ । स्थानीय तह, जिल्ला तह, प्रदेश तहमा निर्णय हुँदै केन्द्रमा पुगेपछि पार्टीले आधिकारिक टुंगो नलगाएसम्म हामी यही लड्छौं भनेर भन्दैनौं पनि । चुनावमा व्यक्ति सर्वोपरी हुँदैन  । जिल्ला कमिटीहरुले उम्मेदवारको सिफारिस छिटोभन्दा छिटो पठाउने काम गर्दैछन् ।

मलाई प्रदेश सरकार र संघीय सरकारको औचित्य पुष्टि गर्ने खालको जिम्मेवारी पाए हुने थियो भन्ने लागेको छ । पार्टी अध्यक्षले सबै निर्वाचन क्षेत्रमा निर्वाचनमुखी क्रियाकलाप गर्न र बाहिरको काम छाडेर निर्वाचनमा होमिन आफ्नो निर्वाचन क्षेत्रमा बलियो भएर उपस्थित हुन पनि निर्देशन दिनुभएको छ । को उम्मेदवार हुने भन्ने कुरालाई गौण कुरा मानेर पार्टीलाई जिताउने कुरामा लाग्न मलगायत सबैलाई यही निर्देशन दिनुभएको पाएको छु ।