जीवनमा आइपर्ने समस्या र चुनौतीको अग्रिम जानकारी पाएर त्यसलाई निराकरण गर्न, आफ्नो भाग्य र भविष्य थाहा पाउन चिना हेराउने वा ज्याेतिषीकहाँ जाने प्रचलन नेपालमा परापूर्वकालदेखि चल्दै आएको छ ।  तर, पछिल्लो समय विकसित एवम् पश्चिमा जगतले अभ्यास गर्दै आएको ‘ट्यारोट कार्ड’ नेपाली समुदायबीच पनि लोकप्रिय बन्दै गएको छ ।  यसै सन्दर्भमा ‘ट्यारोट कार्ड’मार्फत भविष्य हेर्ने बेलायत निवासी ट्यारोट कार्ड रिडर, रेइकी मास्टर, स्टोन एवम् वास्तु एक्सपर्ट क्षमता ढकालसँग ‘ट्याराेट कार्ड’ भनेको के हो ?  यसबाट के-के कुरा, कसरी थाहा पाउन सकिन्छ, विधाको सुरुवात र यसले गर्ने फाइदाबारे चर्चा गरिएको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश:  


ADVERTISEMENT


आजभोलि के गर्दै हुनुहुन्छ ?


ADVERTISEMENT

# # #


अहिले म नेपालमा परिवारहरुसँग भेटघाट गर्नका लागि आएको हुँ । विशेषगरी नेपाली महिलाहरुको महान् चाड तीजका अवसरमा दिदीबहिनीहरुसँग भेटघाट गर्न सकिन्छ भनेर नै नेपाल आएको छु । यसैक्रममा नेपालमा पनि मान्छेहरु भविष्य हेरिदिनुहोस् भनेर आइराख्नुभएको छ । समयले भ्याएसम्म उहाँहरुलाई सेवा पनि दिइरहेको छु ।

तपाईंले  ‘ट्याराेट कार्ड’मार्फत भविष्य हेर्ने गर्दै आउनुभएको छ । यो विधि के हो  ? यसले कसरी काम गर्छ ? 

ट्यारोट कार्ड एक हिसाबले हेर्दा तासको पत्ताहरु जस्तै लागे पनि यी तास  होइनन् । यो विधिको सुरुवात इटालीमा १५ सय वर्ष पहिलेबाट सुरु भएको देखिन्छ । यसैगरी १९३०/४० को दशकबाट नयाँ रुपमा सुरु भएको देखिन्छ । नेपालमा पनि यस्ता पुराना धेरै खालका विद्याहरु रहेका छन् । चामलबाट जोखाना हेर्नु, अनुहार पढेर पत्ता लगाउनु, ज्योतिषशास्त्र अनुसार चिना हेर्नु, हात हेर्नु जस्ता धेरै खालका विद्याहरु नेपालमा पनि विद्यमान रहेका छन् । त्यस्तै विद्यामध्ये ट्यारोट कार्ड एक पश्चिमी विद्या हो । जसमा शक्तिको माध्यमबाटबाट प्रश्नकर्ताका भूत, भविष्य र वर्तमानका बारेमा जान्न सकिन्छ ।

यसमा एक हिसाबले मान्छेको हृदयचित्र नै देखापर्ने हुन्छ । यसैका आधारमा ट्यारोट कार्ड विद्या जानेका मान्छेले जीवनको अवस्था कस्तो रहेको छ, कतातर्फ जीवनलाई लैजानु उपयुक्त हुन्छ, के गर्नु राम्रो हुन्छ जस्ता कुराहरु बताउने गरेका हुन्छन् । मैले पनि यो विद्या सिकेर यसैका आधारमा भविष्यवाणी गर्ने गरेको हो । हाम्रो ब्रह्माण्डमा धेरै खालका उर्जाहरु रहेका हुन्छन् । ट्यारोट कार्डमार्फत् मूलभूत रुपमा व्यक्तिको नामबाट र उर्जाबाट भविष्यवाणी गर्ने गरिन्छ ।

यो कस्तो किसिमको कार्ड हो ?

ट्यारोट कार्डमा मान्छेको जीवनमा घट्ने जन्मदेखि मृत्युपर्यन्त घट्ने घटनाहरुको बारेमा बताइएको हुन्छ । मान्छेले हरेक उमेर समूहमा विभिन्न किसिमका तनाव, दुख, अप्ठेरापन र सुख तथा समृद्धि विभिन्न आयाममा भोगिरहेका हुन्छन् । यही कुरालाई ट्यारोट कार्डमा दर्शाइएको हुन्छ । यसैगरी यसमा विभिन्न देवीदेवताको कुरा पनि राखिएको हुन्छ ।

ट्यारोट कार्डलाई नेपालमा धेरैजसो मान्छेले ‘क्रिश्चियानिटी’ हो भनेर भनिरहेको पाइएको छ । म यो ‘क्रिश्चियानिटी’ नभएको प्रष्ट्याउन चाहन्छु । यसमा जिसस क्राइष्ट छैनन् ।

यसमा पनि पूर्वीयहरुले प्रयोग गर्दै आइरहेका नवग्रहमध्ये सात ग्रहहरु छन् । सूर्यदेवदेखि लिएर शनिदेवसम्म समावेश भएका हुन्छन् । अनि ट्यारोट कार्ड पनि एकै खालको मात्र हुँदैनन् । यसका सयौं प्रकारहरु पाइन्छन् ।

मैलै प्रयोग गरिरहेको ट्यारोट कार्ड ‘मिथिक ट्यारोट कार्ड’ र ‘लभ ट्यारोट कार्ड’ हो । अरु विभिन्न किसिमका कार्डहरु पनि प्रयोग गर्दै आएको छु ।

तपाईंले प्रयोग गर्दै आएका कार्डहरुमार्फत कुन विधिले मान्छेका भाग्यको बारेमा हेरिरहनुभएको हो  ?

प्रायजसो मसँग हेर्न आउनेहरुलाई मैँले कार्ड फिट्न लगाउने गरेको छु । यसैगरी उहाँहरुको नामबाट पनि पूर्ण उर्जाको साथमा भविष्यवाणी गर्ने गरेको छु । यसमा कार्डहरुको ‘प्लेसमेन्ट’ गर्नुपर्ने हुन्छ । कसैको तीन कार्ड ‘रिड’ गर्नुपर्ने हुन्छ भने कसैको दस कार्ड ‘प्लेसमेन्ट’ गर्नुपर्ने अवस्था पनि आउँछ । हरेक दिनको अवस्थाका बारेमा थाहा पाउन ७६ वटा कार्डहरुमध्ये एउटा मात्र गणना गर्नुपर्ने हुन्छ ।

कार्डहरु त्यसै फिटिने पनि होइनन् । यसलाई ‘इनर्जी’को सहायता हुन्छ । त्यसैगरी देब्रे हातले कार्डलाई तीनमा भाग गरेर देब्रे हातले नै कार्डलाई टिप्नुपर्ने हुन्छ । कार्डलाई आफ्नो ‘इनर्जी’ दिनुपर्ने हुन्छ । यदि कोही मान्छे लण्डनमा बसिरहेको छ भने उसको बारेमा सोच्दै ‘इनर्जी’ दिएर कार्डहरुलाई प्लेसमेन्ट गर्दै जानुपर्छ । दशवटा ‘प्लेसमेन्ट’ मध्ये पहिलो हाउसले तपाईंको बारेमा, दोस्रो हाउसले तपाईंको समस्याका बारेमा, तेस्रो हाउसले तीन हप्तापछि के हुँदैछ भन्ने बारेमा, चौथो हाउसले तपाईंको ‘लाइफ प्यार्टन’ के हुँदैछ भन्ने बारेमा बताउँछ ।

यस्तै पाचौं हाउसले तपाईंको विगतमा के भएको थियो भन्नेबारे, छैठौं हाउसले भोलिका दिन के हुँदैछ भन्नेबारे, सातौं हाउसले तपाईं अहिले के सोचिरहनुभएको छ भन्नेबारे, आठौं हाउसले तपाईंलाई समाजले कस्तो मान्छेको रुपमा सोचेको छ भन्नेबारे, नवौं हाउसमार्फत तपाईंबारे भएको धेरै कुराहरु के-कसो छ भन्नेबारे, छ महिनाभित्र तपाईंको जीवनमा के हुँदेछ भन्ने बारेमा बताउँछ । यसरी कार्डहरुलाई प्लेसमेन्ट गर्दै थाहा पाउने हो । यो एक खालको संरचना भयो ।

यसै गरी अन्य संरचनामा फाइभकार्ड रिडिङ भन्ने एकखालको संरचना, थ्रि कार्ड रिडिङ भन्ने संरचना, वान कार्ड रिडिङ संरचना पनि हुन्छन् । कसैको बारेमा हेर्दा मैँले ४५ मिनेटदेखि लिएर १ घण्टासम्मको समय लगाइरहेको हुन्छु ।

पाँचवटा मात्र कार्ड हेर्दा वा तीन कार्ड मात्र हेर्दा के थाहा हुन्छ ? 

पाँचवटा कार्ड हेर्दा भूत, वर्तमान र भविष्य के हुँदैछ र ‘अनकन्सेस लेभल’ कस्तो छ भनेर थाहा पाउने गरिन्छ । यसैगरी तीन कार्ड मात्र हेर्दा भूत, वर्तमान र भविष्यका बारेमा थाहा पाउने गरिन्छ । कार्डहरु एउटापछि अर्को हुँदै जाने मात्र नभएर तिनीहरुले हामीलाई उत्तरहरु दिँदै जाने हुन् । कार्डहरुले यसपछि के हुन्छ, भविष्य के हुँदैछ र के भइरहेको छ भनेर जानकारी दिँदै जान्छन् ।

हेराउने मान्छेलेले के प्रश्न गरिरहेको छ भन्ने कुरामा पनि धेरै कुरा निर्भर हुन्छ । उहाँहरुलाई जागिरबारे, विगतका सम्बन्धबारे, परिवारबारे, बिहे गर्नेबारेमा वा चिना मिलाउनेबारेमा र बच्चाको बारेमा थाहा पाउने जस्ता प्रश्नको आधारमा ७६ कार्डहरुलाई ‘प्लेसमेन्ट’ गर्दै कार्डले बताएअनुसार उत्तर दिनुपर्ने हुन्छ ।

कार्डहरुले ‘इनर्जी’को आधारमा तपाईंलाई आर्थिक संकट परिरहेको छ भने परेको कुरा भनिराखेको हुन्छ  भने संकट छैन भने छैन भनिरहेको हुन्छ । जागिर गर्न मन लागिरहेको छ भने जागिरमा तनाव भएको कुरा भनिदिएको हुन्छ ।

ट्यारोटका ७६ कार्डहरुमा जन्मदेखि मृत्युपर्यन्तका सबै दशा, अन्तर्दशाहरु हुन्छन् । कार्ड र ‘इनर्जी’ले जे बताएको हुन्छ, त्यसैको आधारमा भविष्यवाणी गरिन्छ ।

पश्चिमा जगतमा यसको प्रयोगको अवस्था कस्तो रहेको पाउनुहुन्छ ?

पश्चिमा जगतमा यसलाई  ९० प्रतिशत  मान्छेहरुले विश्वास गरिरहेका छन् । यो राम्रो प्रतिशत हो । हाम्रो देशमा धामी-झाँक्री वा माला लगाएका सबै खालका बाबाले भनेको विश्वास गर्ने प्रचलन पनि रहेको पाइन्छ । यस्तो कुरामा विश्वास गर्नुहुँदैन ।  ‘ट्यारोट कार्ड’का सन्दर्भमा धेरै नेपालीहरु अझै पनि अनभिज्ञ नै रहेका छन् । यसैगरी नेपालमा ज्योतिषशास्त्रमा पनि बढी विश्वास गर्ने गरिन्छ । ज्योतिष शास्त्र एक विज्ञान पनि हो ।

पश्चिमाहरुले भने कार्डबाट भविष्य बताउने कुरालाई धेरै विश्वास गरिरहेका छन् । ‘इनर्जी’मा चल्ने भएका कारण पनि पश्चिमाहरुमा कार्डबाट भविष्य हेरिने कुरालाई बढी विश्वास गरेका हुन् भन्ने मलाई लाग्छ । पश्चिमाहरुले धेरैजसो सोध्ने प्रश्न भनेको सम्बन्धका बारेमा, पैसाका बारेमा र परिवारका बारेमा रहेको पाएको छु ।

यस्तो विद्या सिक्न मन लागेको खण्डमा कसरी सिक्न सकिन्छ ?

यस विद्यालाई सिक्न विश्वविद्यालयमा जानुपर्ने हुन्छ । विश्वविद्यालय तहमा नै यसको तालिम र सिकाई भइरहेको छ । यस विद्याका विभिन्न तहहरु रहेका हुन्छन् । तहहरुलाई पार लगाउँदै ‘एडभान्स कोर्स’हरुको पनि पढाई भइरहेको छ । हाम्रो देश र भारतका विभिन्न विश्वविद्यालयमा ज्योतिषविज्ञान पढाइ भएजस्तै विश्वविद्यालयका ‘कोर्स’मा ट्यरोट विद्या पढाइने गरेको छ । मैले ट्यारोट कार्ड ‘एडभान्स लेभल’सम्म अध्ययन गरेको छु । यसको मैले लगातार अभ्यास गरिररहेको पनि १० वर्ष बितिसकेको छ ।

हाम्रोमा ज्योतिषीले हेर्ने र ‘ट्याराेट कार्ड’मार्फत हेर्दा के फरक छ ?

ज्योतिष विज्ञानमा बच्चा जन्मिएपछि जन्म मिति अनुसार नै उसका जीवनका सबै कुरा यकिन भएको हुन्छ । यही आधारमा ज्योतिषीहरुले भविष्यवाणी गर्ने हुन् । जस्तो ज्योतिष विज्ञानमा विवाहको योगहरु देखा परेको खण्डमा चार वर्षभित्र, तीनवर्षभित्र वा दुई वर्षभित्र बिहे हुन्छ भनेर भविष्यवाणी गरिन्छ भने,  ट्यारोट कार्डमा नजिकै छ भने ‘एस’ टाढा हुँदा ‘नो’ नै भन्ने गरिन्छ । ट्यारोट कार्डबाटचाँहि भोक लागेको बेला म्यागी चाउचाउ खाएजस्तो छिटो उत्तर दिन सकिने हुन्छ । ज्योतिषविज्ञान र यसमा खास फरक नदेखिए पनि ट्यारोट कार्डले अलिकति छोटो समयको छिटो उत्तर दिन सकिने हुन्छ । यतिमात्र फरक हो ।

ट्यारोट पढेका अन्य कोही नेपाली भेट्नुभएको छ ?

मैले लण्डनमा रहँदा अहिलेसम्म यो विद्या पढेको नेपालीहरु  भेटेको छैन । नेपालमा पनि खास कसैको पनि चर्चा नभइरहेकोले हुनुहुन्न होला भन्ने लागेको छ । सायद् यो विद्या सिकेको नेपाली म नै पहिलो हो कि जस्तो लागेको छ । पहिले नै सिकेका तर प्रयोगमा नल्याएकाहरु भए भिन्दै कुरा भयो ।

भविष्यवाणी गरेको मान्छेहरुमा कति प्रतिशत भविष्यवाणी मिलेको पाउनुभएको छ ?

मैले भविष्यवाणी गरेका जति पनि  हुनुहुन्छ उहाँहरु आजसम्म सन्तुष्ट नै भएको पाएको छु । शतप्रतिशत नै मिलेको छ भनेर दाबी गर्नु पनि हुँदैन । तर, पनि ८० देखि ८५ प्रतिशतकोचाँहि मिलेको नै पाएको छु । कहिलेकाँहि हेराउनेले दिएको जन्ममितिहरु नमिलेको खण्डमा उत्तर पनि नमिल्ने हुन्छ ।

यसबाहेक कहिले पनि मैले गरेको भविष्यवाणी मिलेन भनेर गाली खानुपरेको छैन । धेरैजसो मान्छेको राम्रो  प्रतिक्रिया पाइरहेको हुन्छु । उहाँहरुले तपाईंले बताउनुभएको बाटोमा हिँडेर बच्चाहरु ठिक ठाउँमा आएको, परिवार सही बाटोमा हिँडेको कुरा बताएर प्रतिक्रिया दिइरहेको पाएको छु । मैले भावनात्मक थेरापीको काम पनि गरिरहेको कारण धेरै किसिमका मान्छेहरु सही बाटोमा हिँडिरहनुभएको पाएको छु । जसमा लागूऔषध दुर्व्यसनी, आत्महत्याको तयारी गरेका मान्छेहरु पनि बाँच्नुभएको छ ।  प्राविधिक पाटोमा जानकारी लिएर भविष्यवाणी गर्ने गरेको कारण पनि धेरै कुरा मिलेको हो जस्तो लाग्छ ।

तपाईंले धेरैको भविष्यवाणी हेर्नुभयो । आखिर जीवन के रहेछ ?

मैले माथि पनि बताइसकेको छु मान्छेको जीवन एउटा ब्रमाण्डीय उर्जाबाट चलिरहेको हुन्छ । हामी बिहान उठ्दा पनि कहिलेकाँहि एकदमै उर्जावान् भएर उठिरहेका हुन्छौं भने कहिलेचाँहि त्यसको विपरित हुन्छ । बिहानबाट नै हामी खुसी भएर उठेका छौं भने दिनभर स्वस्थ महसुस गर्दछौं । दुःखी भएर उठ्दा दिनभर उदास महसुस गरिरहेका हुन्छौं । जीवन क्षणिक छ । यसलाई हामीले खुसीसाथ नै बाँच्नुपर्दछ । दु:खी हुने बाटोबाट हामी बचेर हिँड्नुपर्दछ । मसँग हेर्न आउनेमध्ये सबैजसोलाई एक न एकखालको समस्या रहेको हुन्छ । समस्या नभएको त कोही पनि मान्छे नै छैनन् भन्ने लाग्छ। तसर्थ समस्यालाई समाधान गर्नेतर्फ हामी उन्मुख हुनुपर्छ । खुसी मिल्ने कुराहरुमा मन लगाउनुपर्छ । खुसी भएर जीवन बाँच्नु नै जीवन हो जस्तो लाग्छ ।

ट्यारोटबाट भविष्य हेर्दा कति खर्च लाग्छ ?

विदेशको र यहाँको मूल्य एउटै माग्नु पनि हुँदैन । त्यहाँको अवस्था र यहाँको अवस्था फरक रहेको छ । मैले अमेरिकामा रहेका र लण्डनमा रहेकोलाई पनि फरक फरक मूल्य राखेको छु । मूल्य भनेको आम मान्छेले पनि ग्रहण गर्नसक्ने सेवा लिनसक्ने हुनुपर्छ । धरैले तिर्न नसक्ने मूल्य लिनु पनि हुँदैन । मान्छेले भविष्यवाणी मिलेपछि आफूखुसी धेरै दिएर जाने कुरा फरक पाटोको कुरा भयो । यति नै दिनुपर्छ भनेर भन्नु पनि मलाई ठिक हो जस्तोचाँहि लाग्दैन । उहाँहरुले आ-आफ्नो क्षमताअनुसार तिर्ने गर्नुहुन्छ ।

यही शिलशिलामा कतिवटा देश जानुभयो ?

विभिन्न देशका व्यक्तिहरुले मलाई बोलाइरहनुभएको हुन्छ । उहाँहरुले विभिन्न माध्यमबाट मेरोबारेमा खोजी गर्नुहुँदो रहेछ । यही विद्याको कारणले धेरै मान्छेहरुसँग जोडिने अवसर पाएको छु । अहिलेसम्म यही कामको शिलशिलामा आठवटा देशमा भ्रमण गरेको छु । उहाँहरुले मलाई खोजिरहने कारण  जुनसुकै देशमा रहँदा पनि मैले म यो देशमा रहेको छु,  यो काममा समय खर्च गरिरहेको छु,  तपाईंहरु पर्खिनुहोस् भनेर मैले जानकारी गराइरहेको हुन्छु । कतिपयले फोन पनि गरिराख्नुभएको हुन्छ । कहिलेकाँहि थोरै समय निकाल्न पनि समस्या भएको  हुन्छ । तसर्थ उहाँहरुले समय कुर्नुपर्ने पनि हुन्छ ।

नेपालमा यो विधालाई प्रचारमा ल्याउनका लागि के गर्न सकिन्छ ?

कतिपय अवस्थामा नेपालमा माताहरुकोमा हेराउने प्रचलन रहेको छ । कतिपयले राम्रै उपचार  गरिरहेको भए मोहित पारेर पनि कतिपयले यसका नाममा जालसाझी गरिरहेका छन् । मोहित पारेर लुटपाट गर्ने, मान्छेलाईभावनात्मक धम्की गर्ने र धर्मका नाममा अपराधको अभ्यास गर्ने काम हुनु हुँदैन ।

ज्योतिष शास्त्र अध्ययन नगरिकन ज्योतिषी हुँ भन्दै जथाभावी फलाकिरहेकाहरुलाई पनि कारबाही गर्नुपर्छ । जसले गर्दा विद्याको महत्व बुझाउँछ र ट्यारोटजस्ता विधाहरु पनि नेपालमा फैलन अवसर प्राप्त गर्दछन् ।

भविष्य हेर्नका लागि तपाईंलाई सम्पर्क कसरी गर्न सकिन्छ ? 

आफ्नो भविष्य हेर्न चाहनेहरुले फेसबुक मेसेन्जर र ह्वाटस्एपबाट मलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

यो विधाका बारेमा चासो देखाउनेहरुलाई तपाईंको सन्देश के छ ? 

म आम मान्छेलाई के भन्न चाहन्छु भने हरेक वर्ष कम्तीमा एक पटक तपाईंहरुले आफ्नो ग्रहदशा के भइरहेको छ, जीवन कता जाँदैछ भन्ने जानकारी लिनका लागि विज्ञ ज्योतिषीसँग चिना हेराउने गर्नुहोस् । यसले तपाईंलाई आफ्नो चलिरहेको समयको ज्ञान मिल्दछ भने शक्ति र भइपरी आउने घटनाबारे जानकारी पनि मिल्छ । जति पनि शास्त्रीय रुपमा आएका विद्याहरु छन् तिनीहरु जादु होइनन् । यी विज्ञानमा आधारित छन् । ट्यारोट पनि यही विधा हो । यसले समस्यालाई पहिले नै पहिचान गरेर समाधानको बाटो खोज्न सघाउ मिल्छ ।

विज्ञ मान्छेसँग तपाईंले आफ्नोबारेमा हेराउँदा आइपर्ने समस्यालाई टारेर जाने सल्लाह पाउन सकिन्छ । ग्रह दशाहरुलाई पनि एन्टिक्लकमा घुमाउने उपचारात्मक विधिहरु रहेका छन् । तिनको प्रयोग गरेमा जीवनलाई सुखी र खुसी बनाउन सकिन्छ ।

ट्यारोट विधाकै सन्दर्भमा भन्नुपर्दा यस विधाका पुस्तकहरुमा पनि हाम्रा हिन्दुहरुले मान्दै आएको ग्रहहरु, शिवजीको अर्धनारीश्वर रुप श्रीयन्त्र लगायतका कुराहरु समेटिएका छन् । यस विधाले हामीले आफूले चाहे अनुसारको जीवन बनाउन सहयोग गर्छ ।  कमीकमजोरीलाई हटाएर आत्मबल बढाउने र जीवनलाई सुखी बनाउने विधाका सन्दर्भमा पश्चिमा जगतमा ट्यारोटको प्रयोग बढिरहेको छ ।