वर्तमान राजनीतिक परिदृश्य, आसन्न संघ र प्रदेश निर्वाचनका लागि एमालेको तयारी, रणनीति र योजना लगायतका विषयमा नेकपा एमाले खोटाङका अध्यक्ष राम दंगालसँग गरिएको कुराकानीको सम्पादित अंशः 


ADVERTISEMENT


नेकपा एमाले खोटाङ्ग अहिले के गर्दैछ ?


ADVERTISEMENT

# # #


स्थानीय तहको निर्वाचनमा हामीले सोचेअनुसारको परिणाम ल्याउन सकेनौं । यसकाबारेमा हामीले चुनावी समीक्षा पनि गरिसकेका छौं । एमालेले सोचेअनुरुप चुनावी नतिजा नपाउनुको प्रमुख कारण पाँच दलीय गठबन्धन रहेको हाम्रो ठहर छ । साथै गठबन्ध्नले राज्य संयन्त्रको दुरुपयोग, पैसाको चलखेल  गर्दा पनि नतिजा तलमाथि आएको हो ।

अहिले नेकपा एमाले खोटाङ्ग संघ र प्रदेशको निर्वाचनको तयारीमा रहेको छ । दुई वटा प्रदेश र एउटा संघको निर्वाचन क्षेत्रमा विगतबाट पाठ सिक्दै हामी हाम्रो जिल्लामा एमालेका उम्मेदवारलाई जिताउनका लागि लागी परेका छौं । खोटाङ्गमा हामी आफ्नो सङ्गठन सुदृढीकरणको अभियानमा लागेका छौं ।

स्थानीय तहका सरकारलाई पार्टीको मातहतमा राख्ने, सहयोग र सरसल्लाह गर्ने र सुझाव दिने काम पनि गरिरहेका छौं । हामीले हार व्यहोरेको स्थानीय तहमा प्रतिपक्षी सरकार गठन गर्ने काम पनि गरेका छौं । राम्रो काममा सहयोग गर्ने र नराम्रो काम गर्न लागेमा त्यसका विरुद्ध संघर्ष गर्ने कामहरु भइरहेका छन् ।

यी काममा हामी सचेत भएर अघि बढिरहेका छौं । वर्षाका बेला पनि पार्टीले सदस्यता नवीकरण, पार्टी स्कुलिङ्ग तालीम, जनसङ्गठनहरुका पुनर्गठन सम्मेलन तथा अधिवेशन गरिरहेको छ । यसर्थ हामी निर्वाचनको घनीभूत तयारीमा लागिरहेका छौं ।

आगामी निर्वाचनमा हालको पाँच दलीय गठबन्धन जारी रहने निश्चित छ । यसले तपाईंहरुलाई खोटाङमा कस्तो असर पुर्याउला ?

अहिलेको अवस्थामा नेकपा एमालेसँग एक्लैएक्लै चुनाव लड्ने हिम्मत मुलुकका कुनै पनि पार्टीमा छ जस्तो मलाई लाग्दैन । नेकपा एमाले जनताको मन जितेको पार्टी हो । एमाले देशका सबै पार्टी एकातिर हुँदा पनि लोकप्रिय मतमाचाँहि देशको पहिलो पार्टी यसै कारणले भएको हो ।

राष्ट्रियता, जनजीविका, विकास निर्माण र ‘समृद्ध नेपाल:सुखी नेपाली’ बनाउने सन्दर्भमा एमालेले लिएका अडानहरुबाट डराएका विदेशी शक्तिहरु आत्तिएर गठबन्धन बनाइदिएका हुन् । एमालेले लिएको बाटोले देश छिटै विकास हुन सक्तथ्यो । जसले विदेशी शक्तिहरु खेल्ने ठाउँ पाउँदैनथे । एमालेलाई कमजोर बनायो भने मात्र विदेशी शक्तिहरुले नेपालमा खेल्ने ठाउँ पाउने अवस्था आएपछि गठबन्धन बनाइएको हो ।

स्थानीय तहको निर्वाचनमा भएको जस्तो पैसा, सत्ता, कर्मचारी र सुरक्षाकर्मीको दुरुपयोग आगामी निर्वाचनमा एमाले कार्यकर्ताले हुन दिनुहुँदैन । देशमा भइरहेको भ्रष्ट्राचार, अत्याचार र अनियमिततालाई रोक्नु पनि हाम्रा कार्यकर्ताको दायित्व हो । नागरिकता विधेयकमार्फत् देशलाई फिजीकरण गर्न लागिएको छ, राष्ट्रियतामाथि खतरा आइलागेको छ । यस्तो बेलामा विश्वास गर्न लायक पार्टी नै एमाले हो ।

महङ्गीका विरुद्ध कुनै पार्टीले आवाज उठाएका छैनन् । तर, सरकारका कुकर्मतर्फ एमालेले आवाज उठाइरहेको छ । तसर्थ हामी जनताका माझमा छौं । यसैको जोडबलले आगामी संघ र प्रदेशको निर्वाचनमा  जित हात पार्छौं ।

तर, पाँचवटा पार्टी एउटै शक्ति भए त्यसलाई जित्न एमालेलाई अलि बढी नै तागत चाहिएला नि ?

त्यो तागत  एमालेले निर्माण गर्न सक्छ । एमाले अरुको तागतमा विश्वास गर्दैन । एमाले त जनताका माझमा छ नि ! कसैको सहारामा  अघि बढ्नुपर्ला भनेर हामी कुरेर बसेकै छैनौं । हामीसँग अहिले पनि उहाँहरुसँग एक्लै लड्ने तागत छ । एमाले आफैंमा एउटा बलियो शक्ति हो । जनतालाई सचेत बनाउने काममा हामी कहिले पनि चुकेका छैनौं ।

आज नेपालमा संघीय गणतन्त्रको स्थापना हुनुमा एमालेको भूमिका सामान्य छैन । पार्टीको गठन नै जनताका भावनाहरु समेटिएर भएकाले हामी कसैसँग डराउनुपर्ने अवस्था कहिल्यै आएन । हामीले राणा र राजा माओवादीकाविरुद्ध संघर्ष गर्यौं । नेकपा एमालेलाई सक्नको लागि जुनजुन शक्तिहरु लागि परे कालान्तरमा तिनीहरु सकिँदै गएको इतिहास हामीसँग छ । नीति निष्ठा र विचार सही भएपछि जनताले विश्वास गर्दछन् । त्यही कारण हामीलाई जनताले विश्वास गरेका हुन् ।

तपाईंले नागरिकता विधेयकमार्फत देशलाई फिजीकरण गर्न लागिएको भन्नुभयो । तर, तपाईंकै पार्टी नागरिकता विधेयक पास गर्दा संसदमा मौन किन रह्यो ?

एमालेले यसका बारेमा विरोध गरिरहेको छ । संसदमा पनि आवाज उठाएको छ । तर, गठबन्धन एमालेकाविरुद्ध एक भएको कारण हाम्रो आवाज जनतामा पुगिरहेको छैन । माधव नेपाल पक्षलाई पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याउँदा एमालेले लामो समयसम्म विरोध गर्नुपरेको पनि ताजै छ । नेकपा एमालेले राष्ट्र हितका विपरीत भइरहेको हरेक गतिविधिमा आवाज उठाइरहेको छ ।

अर्थमन्त्रालयमा भएको पदीय दुरुपयोगको विषयमा एमालेले आवाज उठाएको होइन ? छानबिन समिति पनि एमालेकै पहलमा भएको हो । समिति बनेर पनि अर्थमन्त्रीमको कल डिटेल, सिसीटिभी फुटेज निकाल्न नदिने भनियो । यसरी सत्ताको दुरुपयोग भइरहेको छ । एमालेले सदनमा मात्र बोलेर नहुने अवस्था आएकोले अब हामीले सडकमा पनि आवाज उठाउनुपर्छ र उठाइरहेका पनि छौं ।

तर, गठबन्धनले बहुमतको आधारमा कहिले अध्यादेश ल्याएर, कहिले ठेलमेल गरेर प्रमुख प्रतिपक्षी दलको र जनताको भावनालाई कुल्चिरहेको छ । मुलुकको अर्थतन्त्र श्रीलंकाको हालतमा गइराख्दा पनि सरकारमा रहेका कुनै पनि दललाई  वास्ता नभएको अवस्था छ । एउटा मन्त्रालयलाई फुटाएर सातवटा, सातवटालाई फुटाएर १४ वटा मन्त्रालय बनाएर भागबन्डा गर्न प्रधानमन्त्री नै सक्रिय छन् । यस्तो सरकारले जनताको कुरा सुन्छ त ? देश एकदमै सङ्गीन मोडमा उभिएको छ । जनताले कसको कारण यस्तो भएको छ भन्ने कुरा बुझेका छन् ।

एमालेलाई जनमत जोगाउन नसकेको र दुईतिहाईको सरकार क्षतविक्षत पारेको जस्ता आरोपहरु लगाइन्छन् । यसले चुनावमा जाँदा तपाईंहरुलाई कत्तिको असर गर्ला ?

अघिल्लो सरकारमा एमाले रहँदा एमालेले मात्रै दुई तिहाई मत ल्याएको होइन । एमालेले मात्रै दुई तिहाई मत पाएको त ५४ सालको स्थानीय निर्वाचनमा मात्रै हो । त्यतिबेला पनि एमालेलाई समाप्त पार्न धेरै खाले प्रयत्न भए । विभिन्न नेताहरुलाई उचालेर एमाले फुटाइयो ।  ५२ सालमा एमालेलाई सक्न र कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन माओवादी जनयुद्धको सुरुवात भयो । त्यो जनयुद्धमा एमालेका धेरै नेता कार्यकर्तालाई मारियो, अपहरण गरियो लखेटियो ।

त्यतिबेला एमाले अब सकिन्छ जस्तो लागेको थियो । कतिपय चुनावमा हार व्यहोरे पनि नीतिगत रुपमा हामी जितिरहेका छौं । कांग्रेसलाई गणतन्त्रसम्म ल्याउन र जंगलबाट माओवादीलाई शान्तिको बाटोमा हिँडाउन एमालेको भूमिका महत्वपूर्ण छ ।

यस्तै शान्तिपूर्ण आन्दोलनमा आइसकेपछि  कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन र सुशासनका पाटामा काम गर्न माओवादीसँग पार्टी पनि एकता भएको हो । तर, प्रचण्ड सँधै कब्जाको राजनीति गर्नतर्फ लाग्नुहुन्छ । उहाँले कब्जाकै रणनीति बनाउन थालेपछि हामीले एमाले जोगाउनुपरेको हो । तर, केही मान्छेलाई अध्यादेश ल्याइदिएर पार्टी चोइट्याउन लगाइयो । सारा शक्ति  लागेर एमालेको सरकारलाई अदालतमार्फत् हटाइएको पनि ताजै छ । यति गर्दा पनि एमाले कमजोर भएको छैन ।

जनताको माया पाइरहेको छ । तसर्थ अरुले बनाइदिएको शक्तिले चुनाव जित्न अप्ठेरो छ । एमाले एकढिक्का भएर आफ्नो काम गरिरहेको छ । हामीले जनाधार खडा गरेका कारण यही बलले हामीले चुनाव जित्छौं भन्ने हो । फेरि जनमत स्थिर पनि त हुँदैन ।

जनमत स्थिर नभएकै कारण यसअघि तपाईंहरुको पक्षमा जनमत थियो । अब पालो अर्कोको आउला भन्नेतर्फ पनि सोच्नुभएको छ कि ?

त्यसो होइन । अहिलेको जनमतले एमाले नेपालको पहिलो पार्टी हो । यो मेरो तथ्य नभएर निर्वाचन आयागको तथ्य हो । नेकपा एमाले कस्तो पार्टी हो भनेर जाँच्नको लागि एकपटक सबैले एक्लाएक्लै चुनाव लडेर हेरौं न त ? माओवादी कांग्रेसले एक्लै चुनाव लड्ने आँट नगर्नुको कारण नै एमालेको डरले होइन त ? सबै पार्टी मिलेर पनि एमाले लोकप्रिय मतमा पहिलो भएको अवस्था छ ।

सकरारका वर्तमान गतिविधिले गर्दा जनता यो सरकारलाई विस्थापित गर्ने मौका पर्खिरहेका छन् । त्यस्तो मौका भनेको आगामी संघ र प्रदेशको निर्वाचन हो । तसर्थ हामी बहुमत ल्याउँछौं ।

निर्वाचनअघि नै फेरि कम्युनिष्टहरु एकै छातामुनि बस्ने वातावरण बन्ला कि नबन्ला, यहाँको धारणा के छ ?

राजनीति व्यक्तिगत स्वार्थका लागि गरिने कुरा नभएर देश र जनताका लागि गरिने कुरा हो । देश र जनताका लागि भनेर धेरै मान्छेहरुले रगत, पसिना र ज्यानसमेत गुमाएका छन् । एकता भनेको इमानदारितामा टिक्ने कुरा हो । एमालेले इमानदार भएर कार्यगत एकता गर्न वा पार्टीगत एकता गर्न कोही आउँछ भने सँधै ढोका खुला राखेको छ ।

सिद्धान्त र विचार मिल्ने पार्टीसँग हामी एकता गर्दैनौं भन्ने छैन । माओवादीबाट हामीलाई धोका भएको भए पनि उहाँहरु सच्चिएर देश र जनताका लागि राजनीति गर्न तयार भएर आउनुभयो भने एकता हुन सक्तछ । तर, व्यक्तिगत स्वार्थका लागि आउने कुनै पार्टीसँग एकताको मतलब नै हुँदैन । तर, माओवादीले एमालेलाई देखाएर कांग्रेससँग चुनावी सिटको बार्गेनिङ्ग पनि गरिरहेको कारण तत्काल हाम्रो एकता हुने सम्भावना छैन ।

जिल्लाका तर्फबाट पार्टी नेतृत्वलाई के भन्न चाहनुहुन्छ ?

हामीले पार्टी नेतृत्वलाई दिनुपर्ने सुझावहरु  लिखितरुपमा नै पनि दिएका छौं । हाम्रा पनि कमजोरीहरु भएका स्थानमा सच्चिएर जानुपर्छ । पार्टीलाई संगठित बनाएर लैजाने कुरा, पार्टीमा दुख गरेका कार्यकर्तालाई स्थान दिने कुरा र पार्टीलाई राम्रो बनाउन गर्नुपर्ने कामका बारेमा हामीले पार्टी नेतृत्वलाई सुझाव दिइसकेका छौं ।

चुनावमा पैसाको खोलो बगाउने प्रवृत्तिलाई रोक्न पनि पार्टी नेतृत्वसँग कुरा भएको छ । हामीले पैसावालाले टिकट पाउने, टिकट खरिदबिक्री गर्ने तथा स्वार्थमा लिप्त हुने प्रवृत्तिबाट टाढा हुनुपर्छ भन्ने सुझाव पनि दिएका छौं । यसो हुँदै गएमा सर्वहारा वर्गको पार्टी नरहने र सम्भ्रान्त वर्गको हातमा पार्टी पुग्ने खतरा हुन्छ । यसकातर्फ बेलैमा सोच्नुपर्छ । एमालेमा पनि केही प्राविधिक समस्याहरु छन् । तिनलाई समाधान गर्नुपर्छ । स्थानीय निर्वाचनबाट पाएको पाठको पनि समीक्षा गरेर अघि बढ्नुपर्छ ।

कस्तो व्यक्तिलाई टिकट दिनुपर्छ ?

टिकट वितरणका पार्टीका मापदण्डहरु पनि बनेका छन् । जनताप्रति इमानदार, प्रलोभनमा नपर्ने, स्वच्छ छवि भएको, पार्टीप्रति निष्ठावान् पार्टीका कार्यकर्ताका समस्याहरु सुन्नसक्ने, देशभक्त र सच्चा मान्छेलाई टिकट दिइनुपर्छ । पार्टीका मापदण्ड विपरीत गएर मनोमानी टिकट वितरण गर्न हुँदैन । योग्य व्यक्तिले टिकट पाउनुपर्छ जसले पार्टी र देशका लागि योगदान दिन सकोस् ।

खोटाङ्गमा संघीय निर्वाचनमा युवा अनुहारहरु आउन सक्लान् ?

खोटाङ्गको एमाले युवाहरुले नै हाँकिरहेका छन् । एमालेमा युवा नेताहरुको कमी छैन । सबैभन्दा धेरै युवा कार्यकर्ताहरु भएको पार्टी पनि एमाले नै हो । पहिले हाम्रो पार्टीले बुढाबुढीलाई मार्छ भन्ने हल्ला फिँजाइएको कारण हाम्रो पार्टीमा युवाहरु मात्र रहन्थे । अहिले सबैले पार्टीलाई बुझेको कारण युवाका अतिरिक्त व्यक्तिहरु पनि पार्टीमा रहेका छन् ।

युवाहरु मात्र भएर पनि पार्टी सबल हुन सक्तैन भन्ने लाग्छ । अनुभवी मान्छेहरु पार्टीमा जहिले पनि चाहिन्छ । सबै उमेर समूहका मान्छेहरु पार्टीमा रहनुपर्छ । एमाले वृद्धवृद्धालाई सम्मान गर्ने र सामाजिक सुरक्षाका कुरा उठाउने पार्टी पनि भएकाले सबै उमेर समूहका मान्छेहरुले टिकट पाउँछन् जस्तो मलाई लाग्छ ।

अर्कोतिर साठी वर्ष उमेर समूहका नेताहरुको लामो पङ्क्ति पनि एमालेमा रहेका छन् । युवा पुस्ता र अन्य पुस्ताको संयोजन गरेर नै एमालेले उम्मेदवारी दिन्छ । अरुले बनाइदिएको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा खोटाङमा परास्त गर्छौं ।

अन्त्यमा के भन्नुहुन्छ ?

मेरो पार्टीको तर्फबाट र खोटाङ्गका जनताका पक्षबाट अहिलेको सरकार पश्चगामी दिशातर्फ गइरहेकोले यसकाविरुद्ध सम्पूर्ण राष्ट्रिय शक्तिहरु एकजुट हुनु जरुरी छ भन्न चाहन्छु । हामीले हाम्रो मुलुक बचाउनका लागि अहिलेको सरकारलाई विस्थापित गर्नुपर्छ । तसर्थ हामी एकजुट भएर अघि बढौं मुलुकलाई जोगाउने काममा लागौं भन्न चाहन्छु ।