काठमाडौँ– चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका छन्।


ADVERTISEMENT


रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा रक्षामन्त्री खाँण र सचिव श्रीधर सापकोटाले स्वागत गरेका थिए।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुबाटारमा आजै केहीबेरपछि शिष्टाचार भेट गर्नेछन् । रक्षामन्त्री बालकृष्ण खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आजै भेटवार्ता हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणका क्रममा उनले शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्नेछन् ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले भोलि भेटवार्ता गर्नुहुने कार्यक्रम रहको छ । रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाको अवलोकन भ्रमण गर्नेसमेत कार्यक्रम रहेको छ ।

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो र सहयोगका बारेमा छलफल हुने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले जानकारी दिए।

चिनियाँ रक्षामन्त्री चाङको उच्चस्तरको भ्रमणले नेपाल र चीनबीचको सम्बन्धमा थप उचाइ प्रदान गर्ने विश्वास प्रवक्ता नागिलाले व्यक्त गरे। नेपालको पूर्वाधार निर्माणमा चीनको सबैभन्दा ठूलो सहयोग रहँदै आएको छ । चीनले पछिल्लो समय नेपालका ऊर्जा, सडक सञ्जाल, प्रविधि तथा व्यापार क्षेत्रमा लगानी र सहयोग गरिरहेको छ