काठमाडौँ– पहाडी तथा दुर्गम क्षेत्रमा घण्टौँ हिँडेर मतदान गर्न जाने गरेको विषय सहज लागेपनि राजधानी काठमाडौँमै डेढ घण्टा हिँडेर मतदान केन्द्रसम्म मतदाता पुगेको भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।


ADVERTISEMENT


यो आश्चर्य होइन, यथार्थ हो । भक्तपुरको लोकन्थली घर भएकी अंशु ढुंगेल डेढ घण्टा हिँडेर काठमाडौँको मध्य भाग पुरानो बानेश्वरस्थित रत्नराज्य उच्च माध्यामिक विद्यालय आएर मतदान गरिन् ।


ADVERTISEMENT

# # #


पुरानो बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालयमा आफ्नो मतदाता नामावली भएपछि उनले भक्तपुरबाट पैदल हिँडेर त्यस ठाँउमा आएर मतदान गरेकी हुन् ।

यस्तै कोटेश्वर महादेवस्थानबाट मतदानका लागि एक घण्टा हिँडेर आएका ६३ वर्षीय सञ्जय भट्टराई लामो दूरी हिँडेर मताधिकार प्रयोग गर्न आएको बताउँछन् । मतदानपछि भट्टराई पार्टी भन्दापनि असल र विकासप्रेमी नेतालाई मतदान गरेको बताउँछन् । “जनताको सुःख दुःखमा भिजेको तथा आफ्नो ठाँउको विकास गर्ने नेतालाई मतदान गरेको छु,”– उनी भन्छन् ।

यसैगरी बानेश्वरबाट मतदानका लागि आउनुभएका पञ्चनारायण महर्जन निर्वाचनमा मत प्रयोग गर्न पाएकोमा मख्ख हुनुहुन्थ्यो । “निर्वाचनपछि मुलुकमा केही परिवर्तन हुन्छ भन्ने लागेको छ,”– उनले भने ।

निर्वाचनको दिनमा सरकारले निजी तथा सार्वजनिक सवारी साधन चलाउन रोक लगाएपछि टाढाटाढाबाट मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न मतदानस्थलसम्म पुगेका छन् ।

पुरानो बानेश्वरको रत्नराज्य विद्यालयमा तीनवटा मतदान केन्द्र राखिएको छ । केन्द्र ‘ग’ का मतदान अधिकृत नगेन्द्रकुमार कालाखेती रत्नराज्य मतदान स्थलमा तीन हजार ७०४ मतदाता रहेको बताउन्छन् । “बिहानदेखि नै एकै तवरले मतदाताहरु लाइनमा बसेर आफ्नो मताधिकारको प्रयोग गरिरहनुभएको छ,”– उनले भने ।

काठमाडौँ महानगरपालिकाको १०, ११, २९ र ३१ नं वडामा रहेका पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमुल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाललगायतका ठाँउ यस क्षेत्रमा पर्छन् ।

काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, वाम गठबन्धनबाट अनिल शर्मा र विवेकशील साझा पार्टीबाट पार्टीका संयोजक रविन्द्र मिश्र चुनावी मैदानमा छन् ।