काठमाण्डौं-गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुदृढ सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । गृह प्रवक्ता मोहनकृष्ण सापकोटाले आम मतदातालाई निर्धक्क र निर्भयसाथ मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दै भने, ‘केन्द्रदेखि जिल्लाका मतदानस्थलसम्म चुस्त र दुरुस्त सुरक्षा व्यवस्थापन गराउन निर्देशन दिइसकिएको छ ।’


ADVERTISEMENT


मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर, म्यादी प्रहरी गरेर २ लाख जनशक्ति खटाइएको जानकारी दिए । उनले १० देखि ३० मिनेटभित्र जुनसुकै स्थानमा पुग्ने गरी सुरक्षाकर्मीको क्विक रेस्पोन्स टिम राखिएको बताए । गृह मन्त्रालयको संयोजकत्वमा मजबुत सुरक्षा व्यवस्था मिलाइएको बताउँदै गृह सचिवले भने, ‘निर्वाचन सुरक्षामा कुनै कसर बाँकी राखेका छैनौं ।’


ADVERTISEMENT

# # #


नेपाल प्रहरीले ७२ हजार प्रहरीमध्ये ९० प्रतिशतलाई निर्वाचन सुरक्षामा फिल्डमा खटाइएको जनाएको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना परिचालन गरिएको छ । मतदानस्थलमा सुरक्षा संवेदनशीलताका आधारमा जनशक्ति, हातहतियार तथा साधन स्रोत परिचालन गरिसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षकको कमान्डमा मोबाइल टोली र पैदल गस्ती टोली देशैभर खटिने पनि प्रहरीले जाएको छ । त्यस्तै वरिष्ठ प्रहरी उपरीक्षकको कमान्डमा रिजर्भ टोलीको पनि व्यवस्था गरिएको छ। प्रहरीले सुरक्षा अवस्था र मतदाताको संख्याका आधारमा सुरक्षाकर्मीहरूको संख्या निर्धारण गरेको छ। प्रहरीले एउटा बुथको सुरक्षार्थ बढीमा ५६ जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।

प्रहरीले खबर संकलनका लागि देशैभर सादा पोसाकका प्रहरी परिचालन गरेको छ भने आकस्मिक सहायताका लागि केन्द्र र सबै प्रदेशहरूका हेलिकप्टर तयारी हालतमा राखेको छ। प्रहरी प्रवक्ता न्यौपानेले भने, ‘निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी सकिएको छ। मतदाता र उम्मेदवारको सुरक्षामा कुनै कसर बाँकी राखिएको छैन ।’