ललितपुर – निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उम्मेदवार र तिनका समर्थकले आचारसंहिताको उल्लंघन गर्ने क्रम बढेको छ ।


ADVERTISEMENT


उम्मेदवारी दर्तापछि शुरुका दिनमा आचारसहिंता पालना भइरहे पनि निर्वाचन नजिकिँदै गर्दा उल्लंघन बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसहिंता अनुगमन अधिकृत भीम पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका विभिन्न भागमा ब्यानर, पम्प्लेट टाँस्ने काम बढिरहेको छ ।”


ADVERTISEMENT

# # #


शहरका भित्री भागभन्दा पनि चक्रपथ बाहिर उम्मेदवारका प्रचार सामग्री टाँसिएको र झुण्ड्याएको बढी पाइएको छ । दलका उम्मेदवार मात्रै होइन, आचारसहिंताको उल्लंघन गर्नेमा स्वतन्त्र उम्मेदवारसमेत छन् ।
आचारसहिंता पालना गराउनका लागि जिल्लास्तरमा सर्वदलीय बैठक भइरहेका छन् । बैठकमा आचारसहिंता विपरीत राखिएका पर्चा, पम्प्लेट हटाउन दल र उम्मेदवारलाई पटक पटक सम्झाइएको पाण्डे बताउनुहुन्छ । कार्यालयले लिखित र मौखिक दुवै रुपमा उम्मेदवारलाई आचारसंहिताको पालना गर्न सम्झाइरहेको छ । उहाँले भन्नुभयो, “हामीले यही मंसिर १४ गते लिखित रुपमा नै बढी प्रचार सामग्री भएका दल र उम्मेदवारलाई हटाउन भनेका थियौंँ ।”

आचारसहिंता विपरीत राखिएका प्रचार सामग्री हटाउन कतिले माने पनि कतिपयले अटेर गर्ने गरेको पाण्डे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले भनेपछि कतिपयले भने भोलिपल्ट आफैंँ हटाएका पनि थिए ।” अटेर भएका कतिपय स्थानमा भने सुरक्षाकर्मीको सहयोगमा हटाइएको छ । सुरक्षाकर्मीले केही दिन पहिले जाउलाखेल, पुल्चोक, सानेपालगायत स्थानमा आचारसहिंता विपरीत राखिएको प्रचार सामग्री हटाएको थियो ।

आचारसहिंता उल्लंघन भएको भन्दै कार्यालयमा मौखिक उजुरी परिरहेको छ । पाण्डेले भन्नुभयो, “ठूलो स्पिकर बजाएको भन्दै केही दिन पहिले उजुरी परेको थियो ।”

केन्द्रमा निर्वाचन आयोगले आचारसंहिताको कार्यान्वयनको अवस्था अनुगमन गरिरहेको छ । जिल्लामा भने एक अधिकारीलाई आचारसंहिता कार्यान्वयनको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । एक जना मात्रै हुँदा रिपोर्टिङ भन्दा अरु कामगर्न नभ्याइने पाण्डे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक जना व्यक्तिले आचारसंहिताको पालना भए÷नभएको मात्रै हेर्न भ्याउँछ, पालना गर्न लगाउनेसम्मको काम गर्न भ्याउँदैन ।”

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सीता साम्बा लिखितभन्दा पनि मौखिक उजुरी आउने गरेको बताउनुहुन्छ । केही दिन पहिले ठेचोमा झण्डालगायत प्रचार सामग्रीको प्रयोग भएको उजुरी आएको थियो । उहाँले भन्नुभयो, “लिखित रुपमा भने एउटा पनि उजुरी हामीकहाँ आएको छैन ।”
मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले निर्वाचन आचारसहिंता विपरीत प्रचार सामग्री राख्ने काम ग्रामीण क्षेत्रमा मात्रै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शहरी क्षेत्रमा छिटफुट भए पनि हामीले हटाउन लगाएका छौँं ।” मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी एउटा पनि छैन । दलहरुबीचमा एउटाले राखेपछि उजुरी गर्नुभन्दा पनि राख्नेमा नै होडबाजी हुने उहाँ बताउनुहुन्छ ।

जिल्लामा तीन प्रतिनिधिसभा सदस्यका लागि ४७ जनाको र छ प्रदेशसभा सदस्यका लागि ६३ जनाको उम्मेदवारी परेको छ । जिल्लाभरमा दुई लाख २८ हजार ३३८ जना मतदाता छन् । क्षेत्र नं ३ मा सबैभन्दा बढी ८६ हजार ४३९ र क्षेत्र नं १ मा सबैभन्दा कम ६५ हजार ९१८ मतदाता छन् । क्षेत्र नं २ मा ७५ हजार ९८१ मतदाता छन् ।
स्थानीय निकायको निर्वाचनमा भन्दा अहिले झण्डै १५ हजार मतदाता थप भएको कार्यालयले जनाएको छ । जिल्लामा १३१ मतदानस्थलमा २७७ मतदान केन्द्र छन् । निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी आवश्यक सामग्री लिएर सम्बन्धित केन्द्रमा मंगलबार नै पुगिसकेका छन् । सञ्चिता घिमिरे/रासस