कविता 


ADVERTISEMENT


सुवास शून्य


ADVERTISEMENT

# # #


खुशी तिमीलाई मिल्छ भने, म घोडा सधैँ बनुँला ।
निन्द्रा तिमीलाई आउँछ भने, तिम्रै गीत सुनाउँला ।।

तिमीले टिभिको रिमोट लुकाउँदा, म नदेखेझैँ गरुँला ।
सँगै कार्टून हेरौँ आऊ छोरी बरु म त्यसमै रमाउँला ।।

पढ्न अल्छी लागे तिमी सधैँ मलाई सम्झनु ।
म मेरै चित्र बनाउँछु, तिमी जुँगा थपिदिनु ।।

लुकामारी खेलौं छोरी, तिमी लुक म खोजौँला ।
हरेक पटक तिमी जित्नु, म सधैँ हारौँला ।।

म घर पुग्नासाथ, तिमी मतिर दौडन्छौ जब ।
मुस्कुराउँछु म अनि सबै पीडा भुल्दछु तब ।।

तिम्रा चम्किला नयन यसै , चम्किरहुन् हरपल ।
तिम्रा कलीला पाइला यसै, लम्किरहुन् हरपल ।।

अरु केही चाहिन्न मलाई, खुशी रहनु सदा ।
सम्झिदिए पुग्छ सानु, जीवनमा चोट खाँदा ।।

तिम्रो बाल्यकाल बित्छ मेरै सामु, ठूली हुनेछौ अब ।
तिम्रा हरपलको साथी हामी, बुढो हुनेछौँ तब ।।

बिहे हुनेछ तिम्रो कुनै दिन, जानेछौ हामीलाई छोडी ।
पेट भरी रुनेछु म त्यहि दिन, तिमी गएतिरै मोडी ।।