एजेन्सी – हंगेरीको राजधानी बुडापेस्टमा बुधबार भएको विश्व च्याम्पियनसिपमा अमेरिकी पौडीवाज अनिता अल्वारेज प्रतिस्पर्धा गरिरहेकी थिइन् । एकल फ्रिस्टाइलतर्फको फाइनलमा उपाधीका लागि डाइभ हानेकी उनी विस्तारै डुब्दै स्वीमिङ पुलको पिँध पुगिन् ।


ADVERTISEMENT


२५ वर्षीय अनिता बेहोस् भएर डुब्दै गर्दा उनकी प्रशिक्षक एन्ड्रिया फ्युएन्टेसले लाइफ गार्डसँग गुहार मागिन् । उनीहरुले कुनै प्रतिक्रिया दिएनन् । त्यसलगत्तै एन्ड्रिया आफै पूलमा हाम फालिन् । उनले पिँधमा पुगेकी बेहोस् अनिताको गतिहीन शरीरलाई तान्दै चिकित्सा सहायताका लागि किनारासम्म ल्याइ पुर्याइन् ।


ADVERTISEMENT

# # #


प्रशिक्षक एन्ड्रियाले अनिताको उद्दारका लागि लाइफ गार्डलाई भनेको र उनीहरुले तदारुकता नदेखाएपछि आफै हाम फालेको बताएकी छन् । घटनाबारे फ्युएन्टेसले स्पेनी पत्रिका मार्कालाई भनेकी छन्, ‘लाइफगार्डहरूलाई पानीमा जानको लागि चिच्याइरहेको थिएँ, तर उनीहरूले मैले भनेको कुरा बुझेनन् वा उनीहरूले बुझेनन्। उनी (अनिता) सास फेर्दै थिइनन्… म सकेसम्म चाँडो गएँ, मानौं यो ओलम्पिक फाइनल हो ।’

उनले थपिन्, ‘मैले धेरै सोचेको थिइनँ, हाम फालें । मलाई लाग्छ कि यो मैँले जीवनमा गरेको सबैभन्दा पागलपनले भरिएको र सबैभन्दा छिटो फ्री डाइभ थियो । मैले उसलाई उठाएँ, स्पष्ट रूपमा उनी भारी थिइन, जुन सजिलो थिएन।’

स्पेनकाकी भूतपूर्व ओलम्पिक पदक विजेतासमेत रहेकी ३९ वर्षीय प्रशिक्षक एन्ड्रियाले देखाएको तदारुकताले अनिताले जीवनदान पाइन् । उनले अनिताको ज्यान बचाउनका लागि गरेको प्रयासको संसारभर तारिफ भइरहेको छ ।

अनिताको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको जनाइएको छ ।