काठमाडौं-आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुरक्षालाई ध्यामा राखेर स्थानीय प्रशासन रौतहटले मौन अवधिभर जिल्लामा अनुमति नलिएका भारतीय सवारी सञ्चालनमा रोक लगाएको छ ।


ADVERTISEMENT


स्थानीय प्रशासनको अनुमति नलिएका भारतीय नम्बर प्लेटको मोटरसाईकल र चारपाङ्ग्रे गरी एक सय भन्दा बढी सवारीलाई प्रहरीले मंगलवार सदरमुकाम गौरबाट नियन्त्रणमा लिएको छ । भारतीय सवारी सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएपछि सदरमुकाम गौर लगायत आसपासका गाउँमा भारतीय नम्बर प्लेटका सवारी राखेका मानिसहरु त्रसित भएका छन् । प्रहरीले सवारी नियन्त्रणमा लिन थालेको खबर पाएसंगै आ आफ्नो सवारीलाई घरमा थन्काएको स्थानीयले बताए ।


ADVERTISEMENT

# # #


गौर लगायत आसपासका क्षेत्रका अधिकांस परिवारले भारतीय नम्बर प्लेटकै सवारी साधन प्रयोग गर्दै आएका छन् । प्रहरी नियन्त्रणमा परेका भारतीय सवारी प्रयोग गरी मतदान केन्द्रमा खटिएका कर्मचारी कार्य क्षेत्रमा जान लागेको अवस्थामा भेटिएको सुरक्षाकर्मीले बताए । ‘पक्राउ परेका अधिकांस सवारीलाई निर्वाचनमा खटिएका कर्मचारीले प्रयोग गरेको पाईयो,’ एक सुरक्षाकर्मीले भने, ‘आएको आदेश मान्नै पर्‍यो ।’

पक्राउ परेका सवारी धनीले निर्वाचनमा खटिएको कर्मचारी बताउन थालेपछि आफुहरुलाई काम गर्न समस्य भएको सुरक्षाकर्मीले बताए । सदरमुकामका मुख्य सडकमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी नेपाल प्रहरी, सशस्त्र प्रहरी आवतजावत गर्ने मानिसको शरीर समेत कडाईका साथ खानतलासी गरिरहेका छन् ।

निर्वाचनलाई प्रभावित बनाउन हातहतियार, विस्फोटक पदार्थ, अपराधिक व्यक्ति प्रवेश गर्ने भएकोले कडाई गरिएको रौतहटका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले बताए । ‘सुरक्षाको दृष्टिकोणले जिल्ला अतिसंवेदनशील छ,’ उनले भने, ‘अप्रिय घटना हुन नदिन थप सजगता अपनाएका छौं ।’ ठाउँ ठाउँमा बम विस्फोट लगायतका घटना बढेपछि उच्च सुरक्षा सतर्कता अपनाईएको उनले बताए ।

निर्वाचनलाई लक्षित गरी भएका बम विस्फोटका घटनाले सुरक्षा निकाय सामु थप चुनौती खडा गरेको उनको भनाई थियो । जिल्ला भित्र प्रवेश मात्र होईन । जिल्ला भित्र पनि भारतिय सवारी साधन गुड्न नदिने जिल्ला सुरक्षा समितीको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताए ।’ यसकोलाई जिल्ला स्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारीलाई आवश्यक निर्देशन दिईसकिएको उनले बताए ।

नाकामा भारतीय सवारी साधन भित्रन नदिन छिमेकी राष्ट्र भारतका सुरक्षा अधिकारीसंगको छलफल सहमति भएको उनले जानकारी दिए । उनका अनुसार, जिल्लामा शान्तिपुर्ण रुपले निर्वाचन सम्पन्न गराउन जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका गरी ७ हजार भन्दा बढी सुरक्षाकर्मी खटाईएका छन् । निर्वाचन सुरक्षाकै लागि २ हजार ६ सय म्यादी प्रहरी खटाईएको छ ।

जिल्ला नै अतिसंवेदनशील भएकोले त्यसै अनुरुप सुरक्षा योजना बनाएर पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।