चितवन– भरतपुर अस्पतालले अतिविशिष्टिकृत क्लिनिक शुरु गरेको छ । अस्पतालले बिहीबारदेखि सो सेवा शुरु गरेको हो ।


ADVERTISEMENT


अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले क्लिनिकको उद्घाटन गरे । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले हाल ११ अतिविशिष्टिकृत क्लिनिक सुरु गरिएको बताए । केही दिनमा सेवा थप हुँदै जाने उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


विशेषज्ञ क्लिनिक र जनरल बहिरङ्ग सेवा (जिओपिडी) बाट सिफारिस भएमा बिहान १० देखि १ बजेसम्म अतिविशिष्टिकृत सेवा लिन सकिने प्रा डा पौडेलले बताए । यसरी सिफारिस हुने बिरामीले अतिरिक्त शुल्क तिर्नु नपर्ने उनको भनाइ छ । ‘जिओपिडी र ओपिडीको टिकट लिने बिरामीले सिधै अतिविशिष्टिकृत सेवा लिन पाउँदैन, सिफारिस भएमा सेवा लिन पाउँछन्’,उनले सुनाए ।

दिउँसो १ देखि २ बजेसम्म पेइङ क्लिनिकमा रु ५०० को टिकट लिएर अपराह्न १ देखि ४ बजेसम्म अतिविशिष्टिकृत सेवा लिन सकिने पौडेलले बताए । सुपरस्पेशलिष्ट क्लिनिक सञ्चालन गर्ने उपत्यका बाहिर भरतपुर अस्पताल पहिलो भएको उनले जानकारी दिए । उनका अनुसार सुपरस्पेशलिष्टअन्तर्गत कलेजो रोग, मुत्रासयसम्बन्धी, मुटुसम्बन्धी, मिर्गौलासम्बन्धी, टाउको तथा नसासम्बन्धी, हाडजोर्नीसम्बन्धी, घुँडा तथा जोर्नीसम्बन्धी, जोर्नी प्रत्यारोपणसम्बन्धी, नवजात शिशुसम्बन्धी, गिजासम्बन्धी र अनुहारको हाडजोर्नीसम्बन्धी सेवा रहेका छन् ।

अस्पतालले बिरामीको चाप बढ्दै गएपछि बिहान ८ देखि बेलुका ५ बजेसम्म जनरल बहिरङ्ग सेवा (जिओपिडी) सेवा शुरु गरेको छ । अस्पतालमा दन्त सेवाको बहिरङ्ग सेवा पनि बिहान ९ः३० देखि बेलुका ५ बजेसम्म सञ्चालन गरिएको छ । प्रा डा पौडेलका अनुसार अन्य नियमित बहिरङ्ग सेवा, शल्यक्रिया, क्लिनिकल सेवा बिहान ९ः३० देखि दिउँसो २ः३० बजेसम्म सञ्चालन हुनेछन् । बहिरङ्ग र जिओपिडीको टिकट काट्ने समय पनि परिवर्तन गरिएको छ । सबैखाले बहिरङ्ग सेवाको टिकट बिहान ७ः३० देखि १२ बजेसम्म हुनेछ भने जिओपिडी तथा पेइङ ओपिडीको टिकट पुनः दिउँसो १ देखि २ बजेसम्म काट्न सकिने व्यवस्था गरिएको छ ।

हरेक शुक्रबार भने ओपिडीको जाँच १ः३० बजेसम्म र जिओपिडी तथा पेइङ ओपिडीको दिउँसो ३ बजेसम्म कायम रहने अस्पतालले जनाएको छ । रासस