नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)का अध्यक्ष तथा एमालेका युवा नेता पर्शुराम बस्नेतसँग  नेकोसको वर्तमान अवस्था र भावी रणनीति, सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेको बजेटमा खेल क्षेत्र लगायतका विषयमा गरिएको कुराकानीको संपादित अंशः  


ADVERTISEMENT


खेलकुद महासंघको नेतृत्व पाइसकेपछि तपाईंले संस्थाको लागि खेल्नुभएको भूमिकाको समीक्षा कसरी गर्नुहुन्छ ?


ADVERTISEMENT

# # #


खेलकुद महासंघको नेतृत्व पाइसकेपछि मैँले विशेषगरी संस्थाको जग बसाउने काम गरें । जसमा सातै प्रदेशको अधिवेशन, जिल्लाका अधिवेशन, पालिकाका अधिवेशन र खेलसंघको अधिवेशन सम्पन्न भएका छन् । सम्पूर्ण कामको समीक्षा नै त अहिले गर्ने बेला भएको छैन । अब हामी देशव्यापीरुपमा खेलकुदका कामहरुमा लाग्छौं । विद्यालय स्तरका, पालिका स्तरका, जिल्ला स्तरका र प्रदेश स्तरका खेलकुदका गतिविधिलाई तीब्रता दिने हाम्रो योजना छ ।

अब विद्यालयका साना बालबालिकाहरुदेखि नै उसले सबैभन्दा मन पराएको  खेललाई अभ्यास गर्न दिने वातावरण सिर्जना गर्न हामी लाग्नुपर्छ । जसले भोलिका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नेछ । यो कामलाई विद्यालयदेखि विश्वविद्यालयसम्म लैजानु आवश्यक छ । त्यसैगरी विभिन्न क्लब र कम्युनिटीहरुलाई सक्रिय बनाउने हाम्रो योजना छ ।

खेलकुद महासंघको संयोजक भएर काम गदैगर्दा यहाँले खेल्नुपर्ने भूमिका कस्तो छ र अब कसरी अघि बढ्ने सोच्नुभएको छ ?

खेलकुद महासंघमा केही समय मैँले प्रदेश नम्बर एकको सदस्य सचिव भएर पनि काम गरें । मैँले राज्यका खेलकुदसम्बन्धी कामको अवसर पनि पाएँ । यसरी अवसर पाउँदा मैँले खेलकुदका विषयमा, खेलकुद क्षेत्र र खेलाडीको हकहितका लागि धेरै कामहरु गर्न खोजें ।

खेलकुद क्षेत्रलाई नयाँ उचाईंमा लैजान, खेलका माध्यमबाट देशको नाम उचाईंमा लैजान र खेल खेलेरै जीविकोपर्जन हुने अवस्था सिर्जना गर्न सरोकारवाला पक्षहरु सक्रिय हुनुपर्छ । खेल खेलेरै जीविकोपर्जन हुने अवस्था सिर्जना भए मात्र यो क्षेत्रले नयाँ उचाईं लिन्छ भन्ने मलाई लागेको छ । खेल बापत पाएको पारिश्रमिकबाट नै परिवार पाल्ने अवस्था अहिले छैन । एउटा खेलाडीले राष्ट्रको झण्डा बोकेर खेल जीवनपर्यन्त खेले पनि रोग लागेको बेला उपचार नपाएर मर्नुपर्ने अवस्था अहिलेको छ । तसर्थ यो क्षेत्रलाई व्यावसायिक बनाउन जरुरी छ । हामी त्यसका लागि भूमिका खेल्छौँ ।

लगानीकर्ताहरु भित्र्याउनुपर्छ । प्रतिष्पर्धा गराउनुपर्छ । सरकारले पनि यसलाई प्राथमिकतामा राख्नुपर्छ । राष्ट्रिय खेलाडीहरुलाई राष्ट्रको गौरव बनाउनुपर्छ । सबै नेपालीले राष्ट्रिय खेलाडीहरुलाई राष्ट्रको गौरवका रुपमा हेर्नुपर्छ । विकसित मुलुकमा जस्तै खेलाडीका कारणले देश चलाउन सक्नुपर्छ । तीनै वटै तहका सरकारले खेलकुदका माध्यमले देशको गरिमा बढाउँछु भन्ने सोच्ने हो भने यो क्षेत्रलाई एकदमै सेन्सेटिभ भएर हेर्नुपर्दछ ।

खेलाडीको जीवनस्तर उकास्न महासंघको राणनीति के छ ?

हामीले त्यसैको लागि भनेर विद्यालयदेखि विश्वविद्यालयसम्म कम्युनिटीदेखि क्लबसम्म भन्ने नारा लिएर अघि बढ्नुपरेको हो । यही कुराहरुलाई अधार बनाएर नै हामीले विधान नीति कार्यक्रम बनाएका हौं । खेदलकुद र शिक्षाका कुरा राष्ट्रियतासँग जोडिएको कुरा हो । अन्तर्राष्ट्रिय सम्बन्धसँग पनि यसका सम्बन्धहरु जोडिएका छन् । त्यसैले यसलाई सामान्य मनोरञ्जन वा विलासिताको नजरले मात्र हेरिनु हुँदैन । यसका व्यावसायिक पाटाहरु छन् । सबैभन्दा बढी रोजगार सिर्जना गर्नसक्ने क्षेत्र पनि खेलकुद नै हो । जनतालाई विदेश जान रोक्ने भनेर सरकारले भनिरहँदा यस्तो अपार सम्भावना भएको क्षेत्रलाई बेवास्ता गर्नुहुँदैन ।

तसर्थ हरेक विद्यालयमा अनिवार्य रुपमा महत्वपूर्ण खेलकुदका प्रशिक्षकहरु राख्न सकियो भने पनि धेरै रोजगारी सिर्जना हुने थियो । तर, राज्य नै नलागेर केही हुन सम्भव छैन । महासंघले यस्ता कुराहरु उठाउन सक्छ । सबै कुरा महासंघ एक्लैले गर्न सक्ने कुरा होइन  । सरकारले नीति कार्यक्रमहरुमा खेलकुदका काम अगाडि बढाउँदै लाने काम गर्नुपर्छ । हामीले यस क्षेत्रका यावत् समस्याहरुलाई केलाएका छौं । समस्याहरु थाहा भएका हुँदा हामीलाई समाधानका उपाय पनि थाहा छ । यसलाई यसरी अघि बढाउन सकिन्छ भन्ने जानकारी हामी सरकारलाई दिन सक्छौं । महासंघ खेलका माध्यमले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकता कायम राख्नका लागि पनि कटिबद्ध भएर लागिपरेको छ ।

यहाँको माउ पार्टी एमाले पनि पटकपटक सरकारमा गएको छ । अरु पार्टीका नेतृत्वका सरकारहरु पनि बनेका छन् । खेल क्षेत्रकाे विकासका लागि सरकारकाे ध्यान किन जान सकेन जस्ताे लाग्छ ? 

खासखास समयमा खेलकुदका विषयमा काम गर्नुपर्छ भनेर पहल कदमी लिएको पनि देखिन्छ । खासखास समयमा खेलकुद विकास बोर्डका सदस्यसचिव र मन्त्रीहरुले पनि चासो लिएको पनि पाइएको छ । तर, ती कदमहरुलाई सरकार परिवर्तन भएपछि पछिल्ला सरकारहरुले खासै चासो नदेखाएको र पहल कदमी नदिएको पनि देखिएको छ । भौतिक पूर्वाधारहरु निर्माणका क्रममा पनि हामीले जसरी बनाउनुपर्छ भनिरहेका छौं, त्यो बनाउने कुरामा नै राज्य चुकेको छ ।

तैपनि एमाले सरकारमा हुँदा खेलकुदका क्षेत्रमा गरिएका कामहरुको फेहरिस्त नै म प्रस्तुत गर्न सक्छु । जतिजतिबेला एमाले सरकारमा रह्यो र एमालेका सदस्यसचिवहरुले कामको जिम्मेवारी पाए त्यतिबेला राम्रो काम भएको छ । केही अघिल्ला वर्षहरुमा शरच्चन्द्र शाह, केशव स्थापित, गणेश लामा, रमेश सिलवाल जस्ता केही औंलामा गन्न मिल्ने व्यक्तिहरुले मात्रै खेलकुदका विषयमा काम गरेकाे देखिन्छ । नभए अरु मान्छेहरुले जिम्मेवारीलाई खासै चासो नदिएर पदमा बसिरहने र त्यसै अल्झिरहने र पदावधि सकिएपछि बाहिर निस्कने काम गरिरहेको देखिएको छ ।

अहिलेको गठबन्धनको सरकारलाई खेलकुदका क्षेत्रमा काम हुनेगरी गराउन तपाईंहरु कसरी दबाब दिनुहुन्छ ?

हामीले मिडियामार्फत पनि यसरी काम गर्नुपर्छ भनिरहेका हुन्छौं । भेट भएको बेला पनि जानकारी र ध्यानाकर्षण गराइहेका हुन्छौं । विभिन्न कार्यक्रम र फोरमहरुबाट पनि आफ्ना कुराहरु राखिरहेका हुन्छौं । खेलकुद क्षेत्रका समस्याहरुलाई उजागर गरिरहेका हुन्छौं । चुनावको खर्च निकाल्नको लागि गरिने खेल आयोजनाले खेल क्षेत्रको विकास हुँदैन । सदस्यसचिवको नियुक्ति राजनीतिक रुपबाट गरिने भए पनि त्यहाँ गएपछि खेलकुद क्षेत्रसँग सम्बन्धित भएर समर्पित भएर काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यस्तो खालको चासो र विकास हुने काम गठबन्धनको सरकारले देखाएको छैन ।

बजेटमा पनि खेलकुद क्षेत्रलाई खास महत्व नदिइएको हो ? 

महत्व नदिएको मात्र होइन उपेक्षा नै गरिएको छ । बजेट बढेर आउनुपर्ने हो । बढेको छैन । यसले के देखाउँछ भने सरकार खेलकुद क्षेत्रसँग नजिक भएर काम गर्न चाहँदैन । जसरी यसको चासो लिनुपर्ने हो त्यसरी लिँदैन पनि । तसर्थ राज्यले दायित्वका रुपमा लिनुपर्ने क्षेत्रलाई उसले उपेक्षाका भावले हेरेको देखिन्छ । यो सरकारलाई एक हिसाबले खेल क्षेत्रको विरोधीको रुपमा हेर्नुपर्छ । यो सरकार फरक ढंगबाट गठन भएको हुनाले यसले खेलकुदका काम गर्दैन भन्नु त सामान्य नै कुरा भइ नै हाल्यो ।

खेलकुद क्षेत्रलाई पछिल्लो समय पर्यटन प्रवर्द्धन र अर्थतन्त्र उत्थानको प्रमुख साधनका रुपमा पनि लिइन्छ । जसका लागि ठूला अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्न आवश्यक हुन्छ । यसका लागि तपाईंहरुको पहल के हुन्छ ?

एसिया लगायत क्षेत्रका ठूला आयोजना नेपालमा आयोजना हुँदै नभएका होइनन् । भई पनि रहेको छ । तर, अरु ठूला आयोजनाहरु हामीले पाउन भौतिका पूर्वाधार बलियो चाहिन्छ । त्यसमा हामी कमजोर छौं । यसका लागि सरकार तयार हुनुपर्छ । खेलकुदबाटै हामी समृद्ध देश बनाउन सक्छौं तर हामीले यसमा पर्याप्त लगानी गरिरहेका छैनौं । संसारभरका अन्तर्राष्ट्रिय खेलाडीहरु आएर नेपालमा खेल्ने माहोल बनाउन सकिएको खण्डमा हाम्रो मुलुकमा संसारका मान्छेहरु खेल हेर्न आउँछन् । हाम्रा विभिन्न व्यवसायहरु फस्टाउँछ । देशको परिचय पनि चारैतिर फैलन्छ । यहाँको सांस्कृतिक धार्मिक पहिचान विश्वभरि प्रचार हुनेछ । पर्यटकहरु पनि बढ्न थाल्छन् ।

साना मुलुकहरु पनि देलका माध्यमल चिनिएका प्रशस्त उदाहरण छन् । हामी पछि परिरहेको कारण खेलकुदलाई प्रथमिकतामा नराखेको कारण पनि हो । यसका लागि सरोकारवाला निकायको चासो र इच्छाशक्तिको आवश्यकता पर्दछ । साथै खेलाडीलाई प्राथमिकतामा राखेर तथा भौतिक पूर्वाधारमा जोड दिएर हामीले अन्तर्राष्ट्रिय खेलकुदहरु आयोजना गर्न सक्छौं । ठूला आयोजनाहरु गर्नका लागि हामीले पूर्वाधारहरु निर्माणमा जोड नदिने हो भने सम्भव छैन । लाखौं मान्छेहरु एकैपटक आउने खण्डमा हामीसँग रंगशालाका अतिरिक्त होटेलहरु बाटोघाटोहरु स्वास्थ्य सेवाहरु र पार्कहरु सुविधायुक्त हुनुपर्छ । यी सबै अन्तर्राष्ट्रियस्तरको हुनुपर्छ । हामीले त्यसै हचुवाका भरमा यस्ता खेलकुदका आयोजनाहरु पाउँदैनौं ।

अब राजनीतितर्फ मोडिऔँ । स्थानीय निर्वाचन सम्पन्न भएसँगै अब देश प्रदेश र प्रतिनिसभा निर्वाचनतर्फ अघि बढेको छ । आगामी निर्वाचनको परिदृश्य कस्तो रहने आँकलन गर्नुभएको छ ?

जनताको आकर्षणका कुरा गर्ने हो भने त एमालेप्रति नै छ । संसारभरि नै सत्ता पक्षकाविरुद्ध संसदमा गठबन्धन हुन्छ । तर नेपालमाचाँहि प्रतिपक्षकाविरुद्ध सत्ताधारी दलहरुको गठबन्धन छ । सत्ता पक्षको गठबन्धन संसदको सबैभन्दा ठूलो दल प्रतिपक्षकोविरुद्धमा भएको अनौठो उदाहरण हाम्रो मुलुकमा देखिएको छ ।

निष्पक्ष चुनाव हुने हो भने एमाले पहिलो पार्टी हुनेमा कुनै शंका नै छैन । हाम्रो जितलाई कसैले रोक्न नसक्ने भए पनि हाम्रोविरुद्ध राज्यका विभिन्न संयन्त्र लगाएर हामीलाई रोकिएको हो भन्न सकिन्छ । अहिले राज्य संयन्त्रको चरम दुरुपयोग एमालेलाई पाखा लगाउनकै लागि, हाम्रो जनमत भाँड्नकै लागि प्रयोग भइरहेको हामी देख्न सक्छौं । तर पनि संघीय चुनावमा एमाले नै पहिलो पार्टी हुन्छ भन्नेमा अझै पनि हामी विश्वस्त छौं । राजनीतिमा गठबन्धन पनि सँधै रहिरहन्छ र यो अजम्बरी नै हो भन्ने पनि होइन ।

तपाईंलाई एमालेको उदाउँदा युवा नेताका रुपमा पनि हेर्ने गरिन्छ । प्रदेश र संघीय चुनावमा यहाँको व्यक्तिगत रुपमा तयारी के रहेको छ ?

यस विषयमा मलाई साथीहरुले पनि प्रश्नहरु गरिरहनुहुन्छ । राजनीतिमा सक्रिउ रुपमा लागेको पनि झण्डै तीन दशक समय बितिसकेको छ । यी बितेका वर्षहरुमा मैँले विभिन्न स्थानमा बसेर काम गर्ने अवसर पनि पाएको छु र चुनौतीहरुको सामना पनि गरेको छु । साथै कामका शिलशिलामा विभिन्न अनुभव र अझै जिम्मेवार हुने मौका पनि पाएको छु । यस हिसाबले मैँले पार्टीले दिएको जिम्मेवारीलाई सम्हाल्दै आएको छु । भोलिका दिनमा पनि पार्टीले दिएको जिम्मेवारीलाई राम्ररी वहन गर्न सक्ने क्षमता विकास भएको छ । मैँले पार्टीमा मलाई यो चाहिन्छ त्यो चाहिन्छ भनेको पनि छैन । जनताको माग र पार्टीले विश्वास गरेर फिट हुने क्षेत्रको जिम्मेवारी दिने कुरा मेरा लागि महत्वपूर्ण कुरा हो ।