काठमाण्डौं-पर्वतका विभिन्न वित्तीय संस्था तथा ग्रामीण भेगमा नक्कली नोट भेटिन थालेका छन् ।


ADVERTISEMENT


निर्वाचन आफ्नो पक्षमा पार्न नक्कली नोटको प्रयोग हुन सक्ने आशंकासमेत गर्न थालिएको छ । यसअघि बागलुङ, म्याग्दीमा पनि नक्कली नोट भेटिएको थियो । अहिले पर्वतमा पसल र वित्तीय संस्थामा ल्याइएको रकममा नक्कली नोट भेटिन थालेको पाइएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा नक्कली नोट भेटिन थालेपछि सुरक्षाकर्मीलाई यसले चुनौती थपिदिएको छ ।


ADVERTISEMENT

# # #


कुश्मास्थित गण्डकी विकास बैंकका रकम जम्मा गर्ने क्रममा एक लाखको मुठोमा एउटा हजारको नक्कली नोट फेला परेको थियो । साथै ग्रिन डेभलपमेन्ट बैंक तथा हिमालयन बैंकमा जम्मा गर्न ल्याइएको पैसाको बिटोमा पनि नक्कली नोट भेटिएको थियो । गण्डकी विकास बैंकमा केही दिनअघि गुरुङ थरका ग्राहकले रकम जम्मा गर्न ल्याउने क्रममा उक्त नोट भेटिएको थियो । ग्राहकले जम्मा गर्न ल्याएको पैसाको बिटोमा एक हजार रुपैयाँको नक्कली नोट भेटिएको ग्रीन बैंकका सुदीप राजभण्डारीले जानकारी दिए ।

पर्वतका बैंक तथा वित्तीय क्षेत्रले भने निर्वाचनको समयमा नचिनेका मानिसले दिएको रकम पहिचान नगरी त्यसलाई नबुझ्न आग्रह गरेका छन् । नक्कली नोट फेला परेमा त्यसको प्रयोगकतालाई मुलुकी ऐनअनुसार जेल सजायसमेत हुन्छ । जाली नोट कारोबारमा राष्ट्र बैंकले पनि कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।

निर्वाचनका बेला खर्च हुने ठूलो रकम बैंक तथा वित्तीय संस्थाबाट कारोबार नगरी सीधै हुने भएकाले यस्ता नोटको चलखेल हुन सक्ने सुरक्षा निकायको अनुमान छ । नक्कली नोटबारे अहिलेसम्म कुनै उजुरी नपरेको र परेको अवस्थामा अनुसन्धान एवं छानबिनसमेत गरिने घिमिरेले जानकारी दिए ।