ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.-१ का वडाध्यक्ष छिरिङ लामासँग गरिएको कुराकानी :


ADVERTISEMENT


महालक्ष्मी नगरपालिकाको वडा नम्बर एकबाट वडाध्यक्षमा विजयी हुनुभयो के-के काम गर्दै हुनुहुन्छ ?


ADVERTISEMENT

# # #


सर्वप्रथम म  महालक्ष्मी नगरपालिका वडा नम्बर एकका बासिन्दाहरुलाई अत्यधिक मत दिएर हाम्रो टिमलाई विजयी गराइदिनुभएकोमा धन्यवाद दिन चाहान्छु । यसका साथै निर्वाचनमा भाग लिने सबै साथीहरुलाई पनि म आगामी दिनमा मिलेर सँगै वडाको भलाइका लागि काम गर्न अपील गर्न चाहान्छु । वडाका बासिन्दाहरुले विशेषगरी मलाई खानेपानीको क्षेत्रमा राम्रो काम गरोस् भनेर नै जिताउनुभएको मैँले पाएको छु । भोट माग्ने क्रममा पनि यो कुरा मैले महसुस गरेको छु । विशेष गरी यहाँ खानेपानीको समस्या देखा परेको छ । यसै समस्यालाई समाधान गर्ने बाटोमा लागिरहेको छु ।

त्यसैगरी चारवटा कुराहरुलाई हामीले विशेष ध्यान दिन जरुरी छ । खानेपानी, स्वास्थ्य, शिक्षा र बाटोघाटोका कुरामा हामी लक्ष्य लिएर अघि बढिरहेका छौं । अरु कुराहरु विस्तारै यसकै वरिपरि हुँदै आउने कुरा हुन् । तसर्थ यी चार कुरा विशेष प्राथमिकतामा परेका हुन् । म र मेरो टिम यसैको लागि दिनरात खटिरहेको छ ।

यी एजेण्डामा काम भएको कुरा जनताले महसुस गर्ने गरी कहिलेसम्म देख्न पाउलान् ?

शपथ ग्रहण भएको केहि दिन भएको छ । अब हामी वडाको बोर्ड बैठक बस्छौं । सबैभन्दा पहिले हामीले काम गर्ने भनेको खानेपानीबाट नै हो । किनभने यसको मापदण्ड र डीपीआर पहिले नै तयारी भइसकेको छ । हामीले त्यसैलाई आधार बनाएर काम गर्नुपर्छ । डीपीआरभन्दा तलमाथि गरेर काम गर्दैनौं । योभन्दा बाहिर गएर काम गरेको खण्डमा त्यो खेर जानसक्ने हुन्छ । त्यसैले हामीले डीपीआर बनाउनेहरुसँग मिलेर काम गर्नुपर्छ । यसमा सहकार्य हुन्छ ।

बाटोघाटोको सन्दर्भमा भत्किएको ठाउँहरु बनाउने, खाल्डो परेको स्थानमा पुर्ने, पिच भत्किएको स्थानमा बनाउने, पुननिर्माणका काम गर्ने जस्ता काम गर्नुपर्ने भएको छ । यी कामहरुलाई हामीले तीन महिनाभित्र सम्पन्न गर्ने योजना बनाएका छौं । बाटो अधुरो भएका कामहरु जस्तै: आधा मात्र पीच भएको बाटो पीच गरेर सक्ने, आधा ढलान भएका बाटाहरुको काम सक्ने जस्ता काम गर्नुछ । सबै काम छिटो सम्पन्न गर्ने हाम्रो योजना छ ।

पाँच वर्षभित्र वडा कस्तो देखिएला ? यहाँले कस्तो सपना देख्नुभएको छ ?

काम गर्नका लागि सबैभन्दा पहिले इच्छाशक्ति हुनुपर्ने रहेछ । यो नभए काम हुँदैन । त्यसैले काम गर्न ठूलो मन गर्नुपर्ने हुन्छ । हामीले काम सुरु गरिसकेका छौं । अधुरो बाटोको काम सुरु भइसकेको छ । चुनाव जितेको खुशीयालीमा रमाएर मात्र हामी बसेका छैनौं । विकास निर्माणका कामहरुलाई थाती राख्न हुँदैन भनेर हामीले ठेकेदारहरुलाई ताकेता गर्ने, भेटेर कुरा गर्ने, सँगै अघि बढ्नलाई हातेमालो गर्ने काम गरिरहेका छौं ।

हाम्रो गुणस्तरीय काम गरौं भन्ने मनसाय छ । ठेकेदारहरुलाई  ‘हामी त सँधै यहीँ रहनुपर्छ तपाईंहरु त पैसा लिएर जानुहुन्छ’  भनी ध्यानाकर्षण गराइरहेका छौं । गुणस्तरहीन काम र लामो समय लम्ब्याउने काम नगर्न सचेत गराउने काममा हामी लागिरहेका छौं । थोरै दिनमा नै बाटो भत्किने नाम मात्रको काम नगरौं भनेर मैले कुरा राखिराखेको छु ।

वडाको दीर्घकालीन समस्या के हो प्रष्ट पारिदिनुहुन्छ कि ?

दीर्घकालीन समस्या भनेको नै खानेपानीको हो । यसको समाधान गर्न हामीलाई चुनौती छ । हुन त चुनाव जितेर आएपछि खानेपानीको काम गरेर देखाउने हो भने यो एउटा अवसर पनि हो । यसबाट मतदाताको मन पनि जित्न सकिन्छ । खानेपानीको काम गर्न पाइप गाड्न जति सजिलो छ ट्यांकीमा पानी झार्न त्यति सजिलो छैन ।

हाम्रो डीपीआर तयारी भएको अहिलेको लागि पहिलो त मेलम्ची खानेपनी नै हो । दोस्रो भनेको लुभु-लामाटारदेखि सिभिपुर-गोदावरीसम्मको खानेपानीको स्रोतको प्रयोग गर्ने हो । यसैलाई हामीले प्रयोग गर्नुपर्छ । हामीसँग अहिले निर्माण भएको तीन लाख पच्चीस हजार लिटरको ट्यांकी छ । गनौपीसमा पनि डिपबोरिङ ट्यांकी बनिसकेको छ । सबैतिरको खानेपानी संकलन गरेर वितरण भइरहेको पनि छ । तर, यो काम एकदमै अपर्याप्त छ ।

अहिले वितरण भइरहेको पानीलाई कसरी हेर्नुभएको छ ? 

नढाँटी भन्नुपर्दा अहिले वडामा प्रयोग भइरहेको खानेपानीलाई  ‘खानेपानी’ भन्न नसकेर ‘पानी’ मात्र हो भन्न सकिन्छ । काकाकुल भएका मान्छेहरुलाई खानेपानी नभए पनि पानी मात्र झार्न पाए उमालेर वा फिल्टर गरेर जसरी पनि प्रयोग गर्न पाउने थिए भन्ने मेरो इच्छा हो ।

३७ वटा कामहरु प्राथमिकतामा राखिएको भए पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राखिएको कारण यही नै हो । अरु कामहरुलाई पनि विस्तारै मापदण्ड पालना गरेर नेपाल सरकारले बनाएको कानुमा आधारित भएर नै गर्दै जाने हो । नगरपालिका, प्रदेश सरकार, संघीय सरकारसँग मिलेर अरु थुप्रै कामहरु गर्नुछ ।

तपाईं जनतासँग दैनिक जोडिएको कुरामा चुस्त दुरुस्त काम गर्न लागिपर्नुहुन्छ होइन त ?

लागिपरेर नै गर्ने हो । कागजपत्र नै नमिलेको, कानुनले नदिने काम त गर्न मिल्दैन । कानुनले दिएको कागजपत्र मिलेको कुरामा हामी कुनै पनि सम्झौता नगरी काम गर्छौं । नगरिकता, जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता, र अन्य सिफारिसहरुमा हामीले छिटो र तन्दुरुस्त सेवा दिनैपर्छ ।

हरेक काम हामीले चुस्त दुरुस्त गर्ने योजना बनाएका छौं । वडाबासी दाजुभाइ दिदीबहिनीहरुले कागज बनाएर आउनुपर्छ । कागज नपुगेको स्थानमा यी-यी कागज पुगेको छैन भनेर हामी नम्रता पूर्वक नै व्यवहार गर्छौं । जनसेवक भएर आएपछि हामीले ठाँट पारेर बस्नुहुँदैन ।  सेवक भएर काम गर्नुपर्छ भन्ने मेरो प्रतिबद्धता  छ । पाँच वर्षभित्रमा यसरी पो काम गर्नुपर्छ भन्ने उदाहरणीय वडा बनाएर देखाउनेछौं ।