कहिले कर्मचारीको आन्दोलन त, कहिले बिरामीका आफन्तको गुनासोको शिकार भइरहने निजामती कर्मचारी (सिभिल सर्भिस) अस्पताल पछिल्लो समय उपलब्धि र सफलताका समाचारहरुले घेरिएको छ । डा. विधान निधि पौडेल कार्यकारी निर्देशक बनेर आएयता अस्पतालमा उल्लेखनीय सुधारहरु भएका छन् । जसकारण पनि यसअघि सुनिने गुनासाहरु सेवाग्राही तथा प्रदायक दुवैको सन्तुष्टि र अस्पतालको उपलब्धिमा परिणत भएका हुन् ।


ADVERTISEMENT


यस हिसाबमा भन्ने हो भनेपनि डा. पौडेलल छोटो समयमा नै अस्पताललाई उचित गति दिन सफल भएका देखिन्छन् । कोभिड कालको छोटो अवधिमै सय बेडको कोरोना संक्रमित कक्ष, आइसोलेशन कक्ष तथा आइसियु कक्ष निर्माण गर्दै अस्पताललाई कोरोनाको उचित उपचार प्रवाह गर्ने देशकै उत्कृष्ट अस्पताल बन्न सफलदेखी लिएर ओपिडीमा उचित व्यवस्थापन, बेड संख्यामा वृद्धि, नवीनतम् उपकरण तथा परिक्षणको थालनी उनको छोटो कार्यकालको महत्वपूर्ण उपलब्धिहरु हुन् । यसबाहेक अस्पताललाई सातै प्रदेशको ‘रिफर अस्पताल’ का रूपमा विकास गर्ने तयारीदेखि एकेडेमीकतर्फ अग्रसर गराउनु उनको अर्काे उत्कृष्ट प्रगती विवरण हुन् ।


ADVERTISEMENT

# # #


निजामती अस्पतालमा डा. पौडेलले आफ्नो कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ । यसैसन्दर्भमा सो अवधिभित्र अस्पतालले हासिल गरेका प्रगति विवरणदेखि आगामी योजना तथा चुनौतीसम्बन्धि हिमालयपोष्टकी सृजना मगरले गरेको विषयगत कुराकानी :

सर्वप्रथम अस्पतालको हालको अवस्था के छ ? बताइदिनुस् न !

अस्पतालको हालको अवस्था भनेको भर्खरै कोभिड–१९ सकिएको अवस्था छ । त्यसकारण हाल हामी गैर-कोभिड जनरल बिरामीहरुलार्ई हेरिरहेका छौँ । यो ती कर्मचारीको अस्पताल भएपनि अस्पताल भवन मुल सडक छेवैमा हुनु र यहाँ स्तरीय वरिष्ठ अनुभवी विशेषज्ञहरुद्वारा उपचार सेवा पाइने भएकाले अस्पतालमा सर्वसाधारणको पनि आकर्षण बढेको पाइन्छ ।

त्यसैले हामीले ती कर्मचारी तथा सर्वसाधारणहरु दुवै बिरामीहरुलाई सेवा प्रदान गरिरहेका छौँ । अस्पतालको तथ्यांक हेर्ने हो भने, ती कर्मचारीको तुलनामा अस्पतालमा सेवा लिने बिरामीहरु ७० प्रतिशतभन्दा बढी सर्वसाधारणहरु रहेको देखिन्छ ।

अस्पतालबाट दैनिक ओपीडीमार्फत सेवा लिने बिरामी संख्या कति छ ?

सिभिल ‘मल्टिस्पेशलालिटी’ (बहु-विशेषतायुक्त) अस्पताल भएकाले यहाँ ओपीडीमै दैनिक सेवा लिन आउने बिरामी संख्या धेरै छ । केही हप्ताअगाडि अस्पतालबाट ओपीडीमार्फत मात्रै सेवा लिने बिरामी संख्या ९ सयको हाराहारीमा समेत पुगेको थियो । तर, त्यो संख्या ओरालो लाग्दै गई हाल ओपीडीमा दैनिक सेवा लिनेको संख्या करिब ८ सयमा मात्रै सीमित भएको छ ।

यद्यपि अहिले गर्मीयाम भएकाले अबका दिन यो संख्या बढेर १२ सयजति पुग्न सक्ने हाम्रो परिप्रेक्ष्य छ । ओपीडी संख्याहरु बढाउनुपर्ने आवश्यकता समेत महशुस गरेका छौँ । र, सोही अनुमानकै आधारमा हामीले बिरामीको चापलाई व्यवस्थापन गर्ने योजनाहरु तयार गरेका छौँ ।

ओपीडीका लागि आउने कतिपय बिरामीहरुले टिकट नपाएर फर्किन परेको गुनासाहरु पनि सुनिरहन्छन् । यसका लागि अस्पतालले कस्तो पहली कदम चालेको छ त ?

सिभिलका विशेषज्ञलाई कामको प्रेसर धेरै नहोस् भन्ने हेतुले अस्पतालले एक चिकित्सकले एक दिनमा ३० जना मात्रै बिरामी हेर्ने नियम बनाइएको छ । र, अधिकांशलाई थाहा नहुन सक्छ, अस्पतालमा हुने अत्याधिक भीडभाडको व्यवस्थापन र बिरामीहरुको सहजताका लागि हामीले घरबाटै अनलाइनमार्फत टिकट काट्न सक्ने व्यवस्था पनि गरेका छौँ । हाल हामीले झण्डै ३० प्रतिशत टिकटहरु अनलाईनबाटै दिने गरेका छौँ । जसमार्फत बिरामीहरुले आफ्नो समस्या अनुरुप अघिल्लो दिन नै आफुले चाहेको विशेषज्ञबाटै उपचार सेवा लिन सक्छन् ।

र, यसरी अनलाईन टिकट बुकिङ गरिसकेका व्यक्तिहरुलाई टिकट प्रदान गरिसकेपछि मात्रै हामीले अन्यका लागि टिकट वितरण गर्छौ । तसर्थ, अस्पतालको यसै सुविधाबारे थाहा नपाएकाहरुले नै टिकट पाउन सकिएन भन्ने गुनासो गरेको हुनसक्छ । हुनपनि बिहानैदेखि लाइनमा आएर बस्दा पनि टिकट नपाउँदा सर्वसाधारणहरुको गुनासो सुनिनु जायज हो ।

तसर्थ बिरामीको यसै गुनासोलाई मध्यनजर गर्दै उहाँहरुको सहजताका लागि हामीले आगामी दुई महिनाभित्र यस सेवालाई थप परिष्कृत गरी अस्पताललाई कागजरहित बनाउने योजना गरिरहेका छौँ । जसका लागि ओपीडीमा उपचार सेवा लिन चाहाने बिरामीहरुले सिभिल अस्पतालको वेबसाइटमा गएर टिकट काटेर तोकिएको समयमा अस्पताल आई सजिलै सेवा लिन सक्छन् ।

यस्तै, अस्पतालले फार्मेसीमा गएर औषधी लिदाँ समेत फोन पे गर्न सक्ने सुविधा सञ्चालनमा ल्याउन लागेको छ । जसबाट पनि सेवा प्राप्रकहरु निकै लाभान्वित हुने विश्वास लिएका छौँ ।

यसबाहेक विगतमा सिभिलका कर्मचारीहरु विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका थिए ? अहिले के उहाँहरुको माग पुरा भएकै हो त ?

धेरैजसो समस्याहरु समाधान भएकै हो । हाम्रो तर्फबाट सक्ने ९० प्रतिशत समस्याहरु हामीले समाधान गरेका छौँ । म आउनुअघि यहाँ कर्मचारीहरुका अनेकौँ गुनासाहरु सुनिन्थे । जस्तो त्यसबेला यहाँका स्वास्थ्यकर्मी साथिहरुले सरकारले दिने तलबभन्दा ६० प्रतिशत न्युन ज्यालादारीमा काम गरिरहनु भएको थियो ।

तसर्थ हामीले उहाँमाथि भएको सो विभेदको अन्त्य गर्दै सरकारी तलब नै वितरण गर्न थालेका छौँ । यति मात्रै नभई हामीले उहाँहरुलाई थप दत्तचित्त भएर आफ्नो काममा लाग्न प्रेरित गर्न तथा र अस्पतालप्रतिको बफादार कायम राख्ने उद्देश्यले प्रोत्साहन भत्ता स्वरुप नर्सहरुलाई ५० प्रतिशत र चिकित्सकहरुलाई थप ७५ प्रतिशत इन्सेन्टिभ थप गरिदिएका छौँ । र, यस्तो प्रकारको तलब सुविधा हालसम्म नेपालका कुनै पनि अस्पतालहरुले दिन सकेको छैन ।

त्यसैले पनि अस्पतालको तलबको सन्दर्भमा उहाँहरु सन्तुष्ट हुनुहुन्छ । यद्यपि उहाँहरु अस्पतालमा हुने स्थायित्वको विषयलाई लिएर चिन्तित हुनुहुन्छ । सो पक्ष विनियमावली र नेपाल सरकारको २०७२ सालको संविधानले तोकेको  नियम कानुन भएकाले यो हाम्रो हक दायराभन्दा बाहिरको पक्ष हो ।

जसलाई हामीले सम्बोधन गर्न सक्दैनौँ । यद्यपी अस्पताल यसका लागि उहाँहरुले अदालतमा जाहेर गरिएको मुद्दा सुनुवाईको व्यग्र प्रतीक्षामा छ । र, अदालतले कर्मचारीकै हितमा सुनुवाई गर्छ भन्ने आशसमेत गरेका छौँ । जसपश्चात् सो गुनासो पनि समाधान भएर आउनेमा विश्वस्त छौँ ।

तपाईं अस्पतालमा निर्देशकका रुपमा आउनु भएयता अस्पतालले हासिल गरेका प्रगति विवरणलाई कसरी व्याख्या गर्नुहुन्छ ? 

यस अस्पतालमा मैँले २०७७ सालको चैत्रतिर अर्थात् देशैभर कोभिड–१९ ले उग्र रुप लिएको समयमा प्रवेश गरेको थिए । त्यसपछि वैशाखतिर त, देशव्यापी रुपमा लकडाउन नै भयो । तसर्थ त्यस समयमा हामी यहाँ कोरोनाको व्यवस्थापनमा नै तल्लीन भयौँ ।

त्यसअघि अस्पतालमा कोरोनासम्बन्धि कुनै पनि उपचार नभएता पनी हामीले तत्कालै यसलाई कोभिड अस्पतालकै रुपमा परिणत गरेर १०० बेडको कोभिड संक्रमितलाई सेवा प्रदान गर्‍यौँ । । त्यसैगरी, अस्पतालमा आईसियुको आवश्यकतालाई मनन गरी हामीले हतारमै १५ वटा आईसीयू तथा ७५ वटा एचडी निर्माण गरेर उचित रुपमा कोभिड–१९ को सेवा दियौँ । त्यस समयमा हामीले ५ हजार कोरोनाका बिरामीको उपचार गर्यौं भने, करिब ५ सय बिरामीलाई आईसीयूमा राखेर उपचार प्रदान गरेका थियौँ । जसले गर्दा यहाँ कोरोना मृत्युदर कम हुनुका साथै आईसियुका बिरामीहरुले पनि धेरै सुविधाहरु प्राप्त गर्नुभयो ।

यस्तै, सहजै काम गर्ने वातावरण नभएको र उचित जनशक्ति पनि नपाइने उक्त महामारी कायमै रहेको समयमा हामीले अस्पतालमा ५० बेडको आइसोलेशन कक्षसमेत निर्माण गर्‍यौँ । जुन पनि अस्पतालको लागि चुनौतीपूर्ण थियो । र, हाल उक्त कक्षलाई हामीले अब्जर्वेशन वार्डमा परिणत गरेका छौँ ।

यसरी उक्त समयमा देखिएका चुनौतीलाई अवसरको रुपमा बदल्दै हामी उचित सेवा प्रदान गर्ने उत्कृष्ट अस्पताल बन्न समेत सफल भयौँ । यसरी हामी कोभिड–१९ को राम्रो सेवा वितरण गर्ने सरकारी अस्पतालको सूचीमा पर्न समेत सफल भयौँ । त्यसबाहेक त्यसताका हामीले अन्य गैरकोभिड बिरामीहरुलाई समेत सेवा प्रदान गरिरहेका थियौँ । जुन पनि हाम्रो सबल पक्ष हो ।

त्यसैगरी, अर्को पाटो भनेको हामीले अहिले अस्पतालको बेड क्षमतालाई समेत बढाएका छौँ । यसअघि १३२ को बेड क्षमता रहेकोमा हामीले यसलाई बढाएर ३५० मा स्तारोन्नती गर्दैछौँ । त्यस्तै, हामीले अस्पतालमा आँखासम्बन्धी सेवा तथा उपचारको पनि थालनी गरेका छौँ ।  यसबाहेक मेरो कार्यकालको पहिलो वर्षमै हामीले अस्पताललाई सुपर स्पेशियलिटी एकेडेमी सेन्टर बनाउन लागेका छौँ ।

र, मलाई लाग्छ यो अस्पतालकै निम्ति ठुलो फड्को पनि हो । यसरी कानुनभित्र रहेर विभिन्न पाटोहरुसंग समन्वय गर्दै अस्पतालमा साधारण व्यवस्थापनदेखि लिएर ठुल्ठुला यस्ता धेरै परिवर्तनहरु भएका छन् ।

उसोभए अस्पतालमा एकेडेमीको शुरुआत कहिलेबाट हुन्छ त ?

नेशनल एकेडेमी अफ मेडिकल साइन्स, न्याम्स(वीर अस्पताल) संगको छाता संगठनको सहकार्यमा हामी अध्यापनको अन्तिम चरणमा पुगिसकेका छौँ । त्यसका लागि आवश्यक फ्याकल्टी संगै स्कील ल्याब, एकेडेमिक प्रोग्रामहरु समेत तयार पारिसकेका छौँ भने एक दुई हप्तामै विद्यार्थी आएपछि पढाउने अवस्थामा छौं ।

सर्वप्रथम हामीले ३० सिटको बीएनर्सिङ कलेज शुरु गर्दैछौँ । त्यसमा पनि हामीले आईसियुमा अध्ययन गर्ने नर्सहरुलाई क्रिटिकल केयरको विषय अध्यापन गराउने निर्णय गरेका छौँ । यसका लागि परीक्षा मार्फत विद्यार्थीको छनोट पनि भइसकेको छ । र, छनोट भएका विद्यार्थीहरु चिकित्सा शिक्षा आयोगले न्याम्सलाई र न्याम्सले हामीलाई पठाएपछि विद्यार्थीहरुलाई न्याम्स(वीर अस्पताल)को छाता संगठनमार्फत हाम्रै नेतृत्वमा पढाउने व्यवस्थापन गरेका छौँ ।

यसबाहेक अस्पतालमा अझै के–कस्ता सुधार आवश्यक देख्नुहुन्छ ?

यो अस्पताल संघीय मामिला तथा सामान्य प्रशासन अन्तर्गतको अस्पताल भएकाले यसका लागि नेपाल सरकारबाट चालु वर्षका लागि कुनैपनि सहयोग प्राप्त हुदैँन ।  जसकारण पनि मन्त्रालयले सहयोग गर्ने ठुल्ठुला मेशिनहरुबाहेक अन्य उपकरणहरु अस्पतालले आफ्नै लागतमा खरीद गर्नुपर्छ भने कर्मचारीहरुलाई तलब पनि आफ्नै आयआर्जनमार्फत दिनुपर्ने अवस्था छ । तसर्थ यसका लागि पनि अस्पतालमा थप संयमित भएर काम गर्नुपर्ने यथार्थ बोध गरेका छौँ ।

त्यस्तै, अस्पतालमा भएका पक्षहरुलाई सुधार भन्दा पनि परिष्कृत गर्दै लैजानुपर्ने हामीले महशुस गरेका छौँ । सिभिल अस्पताल भनेको सरकारी तथा सर्वसाधारणको अस्पताल पनि हो । तसर्थ यहाँबाट विभिन्न सेवाहरु लिन सकिन्छ भन्ने किसिमले हामीले अस्पताललाई माथि उकास्न खोजिरहेका छौँ । यति मात्रै नभई वीर अस्पताल तथा टिचिङ अस्पतालजस्ता ठुल्ठुला अस्पतालले नथेगेको बिरामीहरुलाई सिभिलले थेग्नुपर्छ र, यसलाई सातै प्रदेशको ‘रिफर अस्पताल’ को रुपमा विकास गर्नुपर्छ भन्ने धारणाका साथ अघि बढिरहेका छौँ ।

तसर्थ यहाँ उपलब्ध सेवाहरुको सहजीकरणका लागि यहाँ अन्य धेरै परिवर्तनहरु आवश्यक भएको हामीले अनुभुति गरेका छौँ । जस्तो: अस्पतालका परिसरमा रहेका भवनहरु तल्ला थपिएर माथितर्फ जानुभन्दा पनि बढी तलपट्टि धेरै क्षेत्र ओगटिएका छन् । जसले पनि अस्पतालमा रहेका स्पेशहरुलाई साँघुरो बनाएको छ । यस्तै, अस्पताल मल्टि स्पेशलालिटी भनिएता पनि चिकित्सकहरु बस्ने कक्षहरु नै यथोचित छैनन् ।

तसर्थ यसका लागि कोभिडकालको आइशोलेसन कक्षलाई बढाएर भएपनि त्यहाँबाट थप अन्य सेवाहरु प्रदान गर्नेतर्फ सोचेका छौँ, भने भर्खरै बनेको नयाँ भवनबाट पनि थप सेवाहरु विस्तार गर्ने तयारीमा छौँ ।

अस्पतालको नयाँ भवनमार्फत के–कस्ता सेवाहरु सञ्चालनमा आउँछन् ?

नयाँ भवन १ सय १५ बेडको सर्जिकल बिल्डिङ हो । हाल अर्थो(हाडजोर्नी) सम्बन्धि सर्जरी सञ्चालनमा ल्याउन लागिएको सो भवनमा हामीले विस्तारै न्युरो, डेन्टल, स्पाइन, आई, इएनटी तथा जनरल सर्जरीहरुको सेवा पनि थप गर्दै जाने योजना बनाएका छौँ । यसरी हामीले सो भवनलाई पूर्ण रुपमा डेडिकेटेड सर्जिकल ब्लक बनाउने सोचमा छौँ ।

यद्यपि मुद्दा मामिलाका कारण हामीले कर्मचारीहरु राख्न पाएका छैनौँ । हामीले लोकसेवा मार्फत स्थायीमै कर्मचारीहरु नियुक्ती गर्न चाहे पनि हाल अदालतले दिएको ‘स्टे अर्डर’का कारण अस्पतालले करारमा समेत कर्मचारीहरु नियुक्ति गर्न पाउन सक्ने अवस्था छैन । तसर्थ यसकारण नयाँ चवन सञ्चालनका लागि जनशक्ति व्यवस्थापन कसरी गर्ने ? भन्ने हाम्रो मुख्य चुनौतीको विषय रहेको छ ।

यद्यपि यो अस्पताल नेपाल सरकारको मुख्य सचिवको मातहतमा रहेको समितिले सञ्चालन गर्ने भएकाले यसका पाँच सदस्यीय सचिवहरु हुनुहुन्छ । तसर्थ यसको निकास उहाँहरुबाट निस्किन्छ भन्ने हामीले आश राखेका छौँ ।

पछिल्लो समय अस्पतालमा के–के सुविधाहरु थपिएका छन् ?

पछिल्लो समयमा आएको नयाँ परीक्षणहरु भनेको कोभिडसंगसंगै आएका टेस्टहरु हुन् । कोभिडका बिरामीहरुलाई आवश्यक र बाहिर महङ्गो हुने भएकाले हामीले अस्पतालमै सो परीक्षणहरु सञ्चालनमा ल्याएका हौँ ।

जसमा डि–डाइमर, प्रोक्रास्टिनेशन लगायतका परिक्षण सञ्चालनमा ल्याएका छौँ । यस्तै, हामी जिन स्विक्वेसिङ पनि गर्ने पक्षमा छौँ । यसका लागि सो मेशिन पनि आउने क्रममा रहेको छ । त्यसपश्चात् क्यान्सरका बिरामीहरुलाई परीक्षणका लागि अन्त रिफर गर्नुपर्ने बाध्यता समेत हट्छ । यसबाहेक ग्यास्ट्रोलोजीमा पनि माथिदेखि तल्लो आन्द्रासम्म सजिलै तरिकाले हेर्न सक्ने स्पाइरल इन्टरोस्कोपी मेशिन पनि सञ्चालनमा ल्याउँदै छौँ ।

जुन मेशिन हाल नेपालको कुनैपनि अस्पतालमा सञ्चालन भएको देखिदैँन । यसरी हामीले एकपछि अर्को मेशिनहरुमार्फत परीक्षणका दायरालाई थप उकास्दै लैजाने प्रयत्न गरेका छौँ । र, यसको मुल उद्देश्य भनेकै उपचारका लागि भनेर नेपाल बाहिर जाने बिरामीलाई देशभित्रै उपचार सेवा प्रदान गर्नु हो ।

अस्पतालको अबका भावी योजनाहरु के–के छन्  ? 

म यस अस्पतालमा चार वर्षको कार्यकाल अवधिका लागि आएको हुनाले मैँले यो वर्षमा यतिको प्रगति हासिल गर्छु भन्ने योजनामा हिँडेको छु । र, सोही अनुरुप मैँले अस्पताललाई एकेडेमीक, सुपर तथा मल्टि स्पेशलालिटी सेन्टरतर्फ लैजाने योजना बनाएको छु ।

यसबाहेक यहाँ भौतिक पूर्वाधारहरु पनि कम छन् । यसका लागि होरिजेन्टल बिल्डिङहरुलाई भर्टिकलमा रुपान्तरण गर्दै ९/१० तल्लामा परिणत गर्ने र, ओपीडीका बिरामीहरुबाट सुनिने गुनासा तथा भीडभाडर्ला व्यवस्थापन गर्नका लागि ती तथा सर्वसाधारणका लागि छुट्टा छुट्टै नयाँ ओपीडी भवन निर्माण गर्ने योजना बनाएका  छौँ । यस्तै, अस्पताललाई राम्रोसंग सञ्चालन गर्नको लागि  तत्कालका लागि आगमाी १/२ वर्षभित्रै ५०० सम्मको र पछिका लागि १० वर्षसम्म टिक्ने दिनका हजार बेडसम्मको अस्पताल बनाउने संकल्प लिएका छौँ ।

यसबाहेक हामीले शैक्षिक कार्यक्रमअन्तर्गत क्रमिक रुपमा अस्पतालमा बीएसीएमआईटी, बीएमएनटीएमबी एमएस(चिकित्साको स्नाकोत्तरको अध्यापन) तथा डिएमसमेत अध्यापन मेरो योजना छ ।

त्यसैगरी विभिन्न संकायहरुको निर्माण गर्दै हामीले अस्पताललाई सातै प्रदेशको रिफरल अस्पताल सेन्टर बनाउने योजनामा छौँ । ताकि प्रदेशबाट रिफर भएर आउने सम्पूर्ण ती कर्मचारीलाई यहिँबाटै सेवाहरु प्रदान गर्न सकियोस्, र यहाँ सेवा छैन भनेर कुनै पनि बिरामीलाई अन्त पठाउनुपर्ने स्थिति नरहोस् भन्ने मेरो भावी योजना हुन् । सोही अनुसार, हामी अगाडि बढिराखेका छौँ । र, सोही अनुरुप प्रशासनको पनि सहयोग पाइराखेका छौँ । र, यसरी नै अस्पतालको प्रर्वाधार तथा हाम्रो जनशक्तिले देखिएका चुनौतीहरु पार गर्दै सो लक्ष्य समेत प्राप्ति गर्न सफल हुनेछ भन्नेमा म विश्वस्त छु ।

योजना प्राप्तिका लागि कस्ता चुनौतीहरु देख्नुहुन्छ ?

योजना प्राप्तिका लागि प्राविधि तथा संरचनागत रुपमा उचित जनशक्तिको खाँचो पर्छ भन्ने कुरामा कसैको दुईमत छैन । तसर्थ यसका लागि हामीलाई हाल स्वास्थ्यकर्मी तथा चिकित्सक साथीहरुको आवश्यकता पर्छ । यस्तै, हाल सर्जिकल भवन पनि हस्तान्तरण भइसकेकाले उक्त भवन सञ्चालनमा ल्याउन त्यहाँ कामगर्नका निम्ति अन्य स्वास्थ्यकर्मीहरुको आवश्यक छ । त्यस्तै, हाम्रो योजनाअनुरुप अस्पताललाई एकेडेमीक तथा मल्टी स्पेशियलिटीतर्फ लैजानका अस्पातलमा उचित जनशक्तिको आवश्यकता पर्दछ । यस अवस्थामा हामीले कर्मचारीको दोब्बर भर्ना गर्नुपर्छ ।

तर, अस्पतालका करारका चिकित्सक साथीहरुले आफ्नो स्थायित्वको माग राख्दै व्यवस्थापनविरुद्ध सर्वोच्चमा रिट जाहेर गर्नुभएको मुद्दाकै कारण हाल अस्पातलमा कुनै पनि कर्मचारीहरु भर्ना नगर्नु भनी अदालतले ‘स्टे अर्डर’ दिएको अवस्थामा यहाँ कसैलाई पनि भर्ना लिन पाएका छैनौँ । तसर्थ यही विषय नै अहिले अस्प्तालको मुख्य चुनौतीको रुपमा खडा भएको छ ।

यसले गर्दा सञ्चालनमा आउनुपर्ने सेवा सुविधाहरु विस्तारित त भएको छैन नै साथै भएका र प्रदान गर्न सकिने सेवा सुविधाहरु पनि जनशक्तिको अभावकै कारण रोकिएको छ । यदि सो मुद्दाको फैसला भएको खण्डमा अस्पतालको सञ्चालन संगसंगै कर्मचारीहरुको वृद्धि विकासमा समेत सघाउ पुग्ने थियो । तसर्थ अस्पतालको यसै आन्तरिक मुद्दा मामिलाका कारण पूर्ण रुपमा अघि बढेर स्वतन्त्र रुपमा का मगर्न पाएका छैनौँ । यसरी नै मेरो एक वर्षको अवधि समाप्त पनि भइसकेको छ । यद्यपि यसको बाबजुद पनि हामी अगाडि बढिरहेका छौँ । तर, यसका लागि अदालतले पनि उक्त मुद्दाको चाडोभन्दा चाँडो सुनुवाई गर्दै अस्पतालको निम्ति बाधक बनेको सो निर्देशन पनि फुकुवा गरिदिन म सर्वोच्चलाई आग्रह पनि गर्न चाहान्छु ।

यसैगरी, लक्ष्यप्राप्तिका लागि माथिल्लो निकायको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहने भएकाले हामीलो उहाँको सहयोगको पनि अत्यन्त खाँचो पर्छ । यसका लागि उहाँहरुले शैक्षिक कार्यक्रम तथा पूर्वाधारका लागि आर्थिक सहयोग गरिदिनु पर्छ । यति भएमा मात्रै अस्पतालले देखेको सपना र मैँले बुनेका लक्ष्यहरु पुरा हुन्छ ।

https://www.facebook.com/HimalayaPostNepal/videos/5308479615908159