प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले ६८ वर्षमै वृद्धभत्ता दिने निर्णयको विरोध जनाएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलका क्रममा पाण्डेले वृद्धभत्ता नबढाएर उमेर घटाएकोमा आपति जनाएका हुन् ।


ADVERTISEMENT

# # #


उनले वृद्धभत्ता दिने कार्य एमालेले नै गरेको भन्दै यसलाई बढाएर ५ हजार पुर्‍याउनु पर्ने धारणा व्यक्त गरे । यस्तै, सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको उनको आरोप छ ।

पाण्डेले किसानले मल नपाउने अवस्था रहेकाले उक्त समस्याको समाधान नगरी कृषि उत्पादन बढाउन नसकिनेमा जोड दिदैँ निर्वाचनको वर्ष भएकाले यो वर्ष बजेट कार्यान्वयन जम्मा चार महिनामा गर्न अप्ठेरो हुने जानकारी समेत गराए ।

त्यस्तै, छलफलमा भाग लिदै नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले राष्ट्र र जनतालाई केन्द्रमा राखेर ल्याइएकाले बजेट सन्तुलित रहेको बताए । बजेटले गरिबी निवारणमा भूमिका निर्वाह गर्ने उनको धारणा छ । सार्वजनिक, निजी साझेदारको मोडललाई थप परिभाषित गर्नुपर्नेमा जोड दिँदै बस्नेतले उत्पादनका साथै त्यसको बजारीकरणमा सार्वजनिक, निजी, सहकारी क्षेत्रको साझेदारी र सहकार्य हुनुपनमा जोड दिए ।

कांग्रेस सांसद पदमनारायण चौधरीले भने मुलुक सङ्कटग्रस्त अवस्थामा रहेकाले अहिले बजेटले कृषिलाई प्राथमिकता दिएको बताएका छन् । सामाजिक सुरक्षाका विषयवस्तु बजेटमा उल्लेख गरिएकाले बजेट राम्रो रहेको उनको भनाई छ ।

त्यस्तै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले हुलाकी राजमार्गमा थोरै मात्रै बजेट छुट्टयाइएको भन्दै यसका पुनर्विचार गर्नुपर्ने बताए ।