• राजु श्रेष्ठ, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ सभापति एवं निर्वाचन परिचालन समिति संयोजक

पहिलो चरणको निर्वाचन सम्पन्न भएर दोस्रो चरणको निर्वाचन पनि अबको केही दिनभित्रै हुँदैछ । नेपाली कांग्रेसको चुनाव केन्द्रित रणनीति कुन रुपमा अगाडी बढ्यो र अन्तिम चरणको अभियान कुन रुपमा छ ?


ADVERTISEMENT


नेपाली कांग्रेसले विगतमा गरेको विकास निर्माणको कुरालाई लिएर समृद्धिको अभियान र लोकतन्त्रलाई संस्थागत गर्नका लागि मतदातनहरुसंग घरदैलोमा गएर मत माग्ने काम लगभग सकिसकेको छ । हामीले अन्तिम आमसभा पनि गरेका छौँ । त्यस पछि मौन अवधि सुरु नहुञ्जेल हामीले हाम्रो पार्टीका मुद्दा लिएर मतदाताको घरघरमा जाने कार्यक्रम छ ।


ADVERTISEMENT

# # #


खासमा तपाई काठमाडौँ क्षेत्र नं ४ मा नेपाली कांग्रेसलाई जिताउने जिम्मेवार व्यक्तित्व पनि हो । यो क्षेत्रमा कांग्रेसको अहिलेको अवस्था कस्तो छ ?

नेपाली कांग्रेस पार्टी लोकतन्त्रवादी पार्टी हो । जसले लोकतन्त्रको लागि लामो समयसम्म लडाईँ लडेको पार्टी हो । कांग्रेसको लोकतन्त्रप्रतिको जुन आस्था, निष्ठा र त्याग छ त्यसको लागि हर नागरिक आफ्नो स्वतन्त्रता चाहान्छन् । मौलिक हक चाहन्छन् । उद्योगपति, व्यावसायीहरु आफ्नो व्यावसाय निर्वाध रुपमा सञ्चालन गर्न चाहन्छन् । देशमा वेरोजगारीको समस्या छ । त्यसलाई हल गर्नुपर्नेछ । त्यसको लागि अहिलेको जुन वाम गठबन्धन छ, यसले फेरि मुलूकलाई साम्यवादतिर लैजाने हो कि, बन्दुकको छायामुनि बसेर फेरि लोकतन्त्र प्राप्तिको लागि लडाईँ गर्नु पर्ने हो र देश फेरि अर्को सय वर्ष पछाडी जाने हो कि भन्ने शंसय पैदा भएको छ । हुन त उहाँहरुले हामी लोकतन्त्रप्रति प्रतिवद्ध छौँ, हामी लोकतन्त्र मै आस्था राख्छौँ भनेपनि बन्द कोठाभित्र कार्यकर्तालाई संसदीय व्यवस्था हाम्रो रणनीति मात्रै हो, हाम्रो लक्ष्य साम्यवाद नै हो भन्ने धारणा बाहिर आइरहेको छ । वास्तवमा त्यो असाध्यै चिन्ताको विषय छ । सात सालदेखि हामीले लडेर ल्याएको उपलब्धी नै गुम्ने हो कि भन्ने चिन्ता हो ।

विकासको हिसाबले हामी धेरै पछाडी परिसकेका छौँ । यही अवस्था रहने हो भने नेपाल फेरि आर्थिक दुरावस्थामा फस्छ । त्यसैले अहिले हामीले यहाँका उम्मेदवार विशेषलाई जिताउन र हराउन भन्दा पनि लोकतन्त्रलाई संस्थागत गर्न, शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याएर देशलाई समृद्ध बनाउनका लागि अहिले रुख चिन्हमा मतदान गर्नका लागि हामीले आह्वान गरिरहेका छौँ । विगतको निर्वाचनमा पनि कांग्रेसको काठमाडौँमा राम्रो पोजिसन थियो । १० मध्ये ८ वटामा हामीले जितेका हौँ । विशेष गरी ४ नं क्षेत्रमा यहाँ दुईवटै वामपन्थी साथीहरुको भन्दा पनि नेपाली कांग्रेसको बढी मत आएको थियो । त्यसैले यहाँ नेपाली कांग्रेसको जित सुनिश्चित छ । अर्को भनेको नेपाली कांग्रेसका सचेत मतदाताहरु यहाँ बस्नुहुन्छ । लोकतन्त्रप्रति उहाँहरु चिन्तनशील हुनुहुन्छ । नेपाली कांग्रेसले लिएको नीतिप्रति विश्वास राख्नुहुन्छ । विकास निर्माणका कामहरु जुन किसिमले अगाडी बढिरहेका छन् । यी कामहरु सम्पन्न गर्नका लागि पनि नेपाली कांग्रेसलाई नै रोज्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु ।

जुन किसिमले गठबन्धनका कुराहरु आएका छन् । यता कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन छ भने उता एमाले र माओवादी केन्द्रको वाम गठबन्धन छ । लोकतान्त्रिक गठबन्धनलाई यस पटक जनताले जिताउनै पर्ने खास कारण र आधारहरु के हुन् त ?

लोकतान्त्रिक गठबन्धनलाई मत दिने आधार भनेको पहिले त लोकतन्त्रलाई संस्थागत गर्नु पर्यो । प्राप्त उपलब्धीको रक्षा गर्नु पर्यो। लोकतन्त्रवादीलाई नजिताउने हो भने अर्को पटक मत नै हाल्न नपाउने परिस्थिति निर्माण हुन सक्छ । दुनियाको उत्कृष्ट व्यवस्था भनेको लोकतन्त्र नै हो । विश्वमा कम्युनिस्टको शासन भएका मुलूकको अवस्था कस्तो छ त्यो तपाई देख्न सक्नुहुन्छ । मुलूक समृद्धितर्फ अगाडी बढ्ने बेला अहिले वाम गठबन्धनको कुरा आएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएर प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन पनि सम्पन्न भइसकेको अवस्थामा अहिले चुनावी सभामा वम हानिरहेका छन् । यो प्रवृत्ति कतातिर लक्षित छ भन्दा लोकतन्त्रलाई संस्थागत गर्न नदिने, प्राप्त उपलब्धीलाई गोलमालमा पार्दिने, मुलूकमा समृद्धि हुन नदिने खेल हो ।

देशलाई फेरि अन्योलमा पारिराख्ने प्रवृत्ति हो । यो निर्वाचन आफ्नै पार्टीको स्वार्थका लागि लाग्ने, आफ्नै सिद्धान्तलाई प्राथमिकतामा राख्ने र लोकतन्त्रवादी बीचको निर्वाचन हो । त्यसैले लोकतन्त्रवादीलाई नै भोट दिएर मुलूकलाई समृद्ध बनाउने दिशामा जानेलाई नै मतदान गर्नुहुन्छ भन्ने लाग्छ । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनुपर्छ । मतदाताले आफूलाई लागेको व्यक्ति र दललाई मत दिन पाउनु पर्यो भनेर हामी भनिरहेका छौँ । अहिलेको निर्वाचनसँग लोकतन्त्रको भविष्य जोडिएको छ ।

वाम गठबन्धनका रुपमा आएको अहिलेको जुन शक्ति छ नि । यस्लाई कांग्रेसले चाहीं कसरी हेरेको हो खासमा ?

यसमा वास्तवमा त्यति साह्रो चिन्ता गर्नु पर्ने विषय यो छैन । मेरो विचारमा हाम्रो पार्टीले पनि त्यही कुरा भनिरहेको छ कि यो चुनावको मुखमा गठबन्धन हुने कुरा नौलो विषय होइन । चुनाव पछाडी पार्टी एकिकरण गर्ने विषय पनि हामीले चिन्ता गर्नुपर्ने विषय होइन । मलाई के लाग्छ भने बलियो बलियो पार्टीले मात्रै देशलाई समृद्धितिर लान सक्छन् । पार्टीहरु फुटेर भन्दा जुटेर बलियो भएर अगाडी जानु पर्छ । किनभने यो बहुदलीय व्यवस्था हो । यहाँ राजनीतिक पार्टी र नेताको विकल्प छैन । त्यसैले यी विषयहरु चिन्ताका विषयहरु होइनन् ।

चिन्ताको विषय चाहीँ के बनेको छ भन्दा साम्यवाद उन्मुख जुन विचारहरु आइरहेका छन् । केपी ओलीले संसदीय व्यवस्था निर्विकल्प व्यवस्था होइन भनेर भन्नु भएको छ । उहाँहरुले कोठाभित्र गर्ने कुरा, कार्यकर्तालाई भन्ने कुरा र बाहिर गर्ने कुरा फरक छ । साच्चिकै उहाँ भित्रभित्र साम्यवादको लक्ष्यमा जाने हो भने त्यो चिन्ताको विषय हो । किनभने भेनेजुयलामा हेर्नुस् । कम्युनिस्ट पार्टीले शासन गरिरहेको छ । प्रतिपक्षीलाई थुनिएको छ । संविधान सभालाई विघटन गरिएको छ । कम्बोडियामा त्यस्तै छ, उत्तर कोरिया झन संसारलाई आतंकित गरिरहेको छ । त्यहाँका जनता सुखी र खुसी छन् भने त्यो बेग्लै कुरा हो । तर त्यो अवस्था छैन । कम्युनिस्ट शासनमा व्यक्तिका स्वतन्त्रता कुण्ठित हुन्छन्, नियन्त्रित हुन्छन् ।

हामीले अबको मुलूकलाई कस्तो बनाउने भन्ने कुरा यो निर्वाचनले निर्धारण गर्छ । हाम्रा कम्युनिस्ट पार्टीका नेताहरु घुम्न जानु पर्यो भने उहाँहरुको रोजाई अमेरिका, अष्ट्रेलिया पर्छ । छोराछोरी पढाउनु पर्यो भने, श्रम गर्न पठाउनु पर्यो भने तीनै लोकतान्त्रिक देश पर्छन् । उहाँहरुको रोजाईमा त उत्तर कोरिया, भेनेजुयला त पर्दैन नि । त्यो भएकोले उहाँहरुले आफ्नो, आफ्ना छोराछोरीको रोजाईमा नपर्ने, अन्यको रोजाईमा नपर्ने देश जस्तो नेपाललाई बनाउन खोज्नु गलत छ ।

नजिकैको चीनको कुरा गरौँ । एक पटक मैँले चिनिया महिला यहाँ व्यवसाय गरिहेको भेटेको थिएँ , उनलाई तपाईको देश त विकशित छ । रोजगारीका प्रशस्त अवसर छन् तर पनि तपाई नेपाल किन आउनु भयो भनेर सोधेँ । उनले के भनिन् भने मेरो पहिले ठूलो जुत्ता कारखाना थियो । त्यो सरकारले लियो । भागेर आफूले सकेको थोरै बचाएर आएको छु । त्यसबाट मैँले यहाँ स्वतन्त्रतापूर्वक व्यावसाय गरेको छु । म यहाँ खुसी छु भनिन् । अब तपाई अनुमान लगाउन सक्नुहुन्छ कि नेपाललाई अब कस्तो बनाउने ? १० वर्षे जनयुद्धमा माओवादीले मुलूकलाई २० वर्ष पछाडी धकेल्यो । १७ हजार निर्दोष जनताले ज्यान गुमाए । त्यो भएर अहिले लोकतान्त्रिक गठबन्धनको विकल्प छैन ।

संविधान निर्माण भएर यसको कार्यान्वयन पनि अन्तिम चरणमा प्रवेश गरेको छ । देशमा अहिले विकास र समृद्धिको कुरा गरिरहँदा अबको नेपालको मार्गचित्र, रुपरेखा कस्तो देख्नु भएको छ, जसमा लोकतान्त्रिक व्यवस्थाले निर्देशित गरेको होस् ?

एउटा, हाम्रा मौलिक हकहरुको यसले रक्षा गर्छ । हाम्रा हात बाँधेर अर्कोले सुनको चम्चाले खाना खुवाईदियो भने पनि हामीलाई चित्त बुझ्दैन । किनकी हामी स्वतन्त्र हुन चाहन्छौँ । हामी आफ्नै हातले मुछेर खान चाहन्छौँ । हाम्रो स्वतन्त्रताको हक संरक्षित हुनुपर्छ । मौलिक हकको संरक्षण संगसंगै अब विकास निर्माणको थालनी गर्नुपर्छ । अब तपाई स्वतन्त्र भएर मात्र पुग्दैन । आर्थिक हैसियत पनि माथि हुनुपर्छ । लोकतान्त्रिक व्यवस्थामा मात्रै उद्योगधन्दाहरु फस्टाउन सक्छन् । त्यसको लागि नेपाली कांग्रेसले लिएको खुला आर्थिक नीति छ । यो संगै बेरोजगारी हटाउनु छ । देशमा उद्योगधन्दा खोल्नु छ । कृषिलाई आधुनिकिकरण गर्नुछ । पर्यटन र जलविद्युतलाई अगाडी बढाउनु छ । नेपाललाई विकशित गर्ने माध्याम यीनै हुन् ।

यिनलाई अगाडी बढाउनका लागि नेपालमा शान्ति तथा लोकतन्त्रको आवश्यकता पर्दछ । देशमा शान्ति प्रक्रिया टुङ्गो लाग्यो र लोकतन्त्र पनि जीवित छ भने मात्रै विदेशी लगानी भित्रिन्छ । स्वदेशी लगानीकर्ताहरु पनि अगाडी बढ्छन् । यसका लागि हामीले लोकतन्त्रलाई स्थापित गर्नुछ । त्यससंगै विकास निर्माणका कुराहरु पनि आउँछन् । जुन हाम्रो दैनिकी पनि हो । हाम्रो दैनिक जीवन यापनका कुराहरु सरल, सुलभ र सहज हुनुपर्यो । सामाजिक सुरक्षाको दायित्व बोध गर्दै नेपाली कांग्रेसले कोखदेखि शोक सम्म भन्ने नीति ल्याएको छ । जन्मेदेखि मृत्यु हुञ्जेलसम्मको सामाजिक सुरक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्छ भनेर हामीले नीति ल्याएका छौँ । अग्रजहरुले अब हामीलाई अभिभावकत्व प्रदान गर्नु हुनेछ भने हामी युवाहरु यो देशको विकासमा नेतृत्व गर्छौं ।

अन्त्यमा, निर्वाचन संघारमै छ । आम मतदातालाई निर्वाचन परिचालन समितिका तर्फबाट, आफ्ना तर्फबाट र नेपाली कांग्रेसका तर्फबाट के भन्नुहुन्छ ?

अहिले जुन किसिमले एकथरीले हाम्रा मौलिक हक, मताधिकारलाई प्रभावित गर्ने हिसाबले जुन किसिमले आतंकित गर्ने काम भएको छ । एउटा राजनीतिक पार्टीले आफ्नो अभीष्ट पूरा गर्नका लागि मीरा कटवालजस्ता युवाहरुलाई घाइते बनाउनु भएको छ । हत्याहिंसामा उत्रिनु भएको छ । यो अत्यन्त निन्दनीय छ । आफ्नो उपलब्धीलाई लाससंग दाज्ने, कतिको हत्या र कतीलाई अंगभंग गर्न सक्यौँ भनेर त्यसको गन्ती गरेर त्यसलाई नै आफ्नो उपलब्धी ठान्ने एउटा एउटा प्रवृत्ति देखा परेको छ । यसको खोजबिन भइरहेको छ । हामीले निर्भीकतापूर्वक निर्वाचनमा भाग लिनुछ । संविधानलाई कार्यान्वयन गर्नुछ ।

मुलूकको समृद्धिका लागि निर्भीक भएर मतदान प्रक्रियामा भाग लिनका लागि म मतदाताहरुलाई हार्दिक आह्वान गर्दछु । २१ गते लाइनमा बस्दाखेरि उम्मेदवारलाई जिताउने हराउने भन्दा पनि प्राप्त लोकतन्त्रलाई एक पटक सम्झिएर, सहिदहरुले गरेको बलिदानलाई सम्झिएर लोकतन्त्रलाई संस्थागत गर्नका लागि लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न म अनुरोध गर्दछु । यो निर्वाचन लोकतन्त्रवादीले जित्नु जरुरी छ । नत्रभने लोकतन्त्र नै खतरामा पर्न जान्छ । हार्दा पनि राजनीतिक दलहरुले राजनीतिक संस्कार देखाउन सक्नु पर्दछ । यही नै छ अनुरोध ।

जय नेपाल । ।