पोखरा– नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं १८ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा मत कम भएको भन्दै उक्त दलले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको हो ।


ADVERTISEMENT


उक्त वडाको आज बिहान अन्तिम नतिजा घोषणा हुँदा तीन मत अन्तरले नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार उम्मेदवार शिवप्रसाद तिमल्सिना विजयी भएको घोषणा गरिएको थियो ।


ADVERTISEMENT

# # #


उक्त वडामा पुनःमतगणनाका लागि माग गर्दै एमालेबाट निवेदन आएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए । निवेदनका सम्बन्धमा निर्वाचन कानुनअनुसार अघि बढ्ने उनले बताए । महानगरमा खसेको कूल एक लाख ४३ हजार २२६ मतमा अब करिब पाँच हजार मत गन्न बाँकी छ । महानगरका वडा नं २२, ३२ र ३३ को मतगणना बाँकी रहेको जनाइएको छ । हालसम्म २२ वटा वडामा कांग्रेस विजयी भएको छ भने आठवटा वडामा एमाले विजयी भएको छ ।

हालसम्म एक लाख ३८ हजार २११ मत गणना भइसकेकामा गठबन्धनका तर्फबाट महानगरको प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ५६ हजार ४७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कृष्ण थापाले ५१ हजार १८५ मत प्राप्त गरे।

उमप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५८ हजार ५८२ मतसहित अघि छिन्, भने गठबन्धनका तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मत प्राप्त गरेकी छन् । रासस