महोत्तरी– गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुने प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष सात जनामात्र छन् ।


ADVERTISEMENT


जिल्लाको लोहारपट्टी, भङ्गाहा र मटिहानी नगरपालिकाका प्रमुख यसपटक पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । त्यसैगरी औरही, बलवा र लोहारपट्टिका उपप्रमुख र एकडारा गाउँपालिकाका उपाध्यक्ष पनि दोस्रोपटक निर्वाचित भएका हुन् ।


ADVERTISEMENT

# # #


लोहारपट्टीका यसअघिका प्रमुख, उपप्रमुख दुवै यसपालि दोस्रोपटक निर्वाचित भए । प्रमुखमा शैलेन्द्र यादव र उपप्रमुखमा सरिता शर्मालाई यो सफलता प्राप्त भएको छ । उहाँहरु नेपाली कांग्रेसका उम्मेदवार हुन् ।

त्यसैगरी भङ्गाहा र मटिहानीका प्रमुखमा क्रमशः सञ्जीवकुमार साह र हरिप्रसाद मण्डल दोस्रोपटक निर्वाचित भएका छन् । विसं २०७४ को स्थानीयतह निर्वाचनमा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट निर्वाचित दुवैजना यसपालि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट निर्वाचित भएका हुन् ।

यस्तै औरही र बलवा नगरपालिकाका उपप्रमुख क्रमशः रेणु झा र रेखाकुमारी यसपालिसमेत दोस्रो पटक निर्वाचित हुनुभएको छ । विसं २०७४ मा तत्कालीन तमलोपाबाट निर्वाचित झा र रेखाकुमारी यसपालि लोसपाबाट निर्वाचित भए । यता २०७४ मा तत्कालीन तमलोपाबाट एकडारा गाउँपालिकामा उपाध्यक्ष निर्वाचित हुनुभएकी महजवी खातुन भने यसपालि जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भए ।

यसअघिका १० प्रमुख÷अध्यक्षले यसपटकको प्रतिस्पर्धामा पराजित हुनुपर्‍यो । त्यस्तै उपप्रमुख/उपाध्यक्षमा एक कार्यकाल बिताएर यसपालि पनि प्रतिस्पर्धाको अवसर पाउनुभएका सात जना पनि चुनाव जित्न असफल भएका छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहका प्रमुख/अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षसमेत निर्वाचित हुने ३० सङ्ख्यामा २३ जना नयाँ अनुहार आएका छन् ।

निर्वाचितमा दलगत प्रतिनिधित्व हेरिँदा प्रमुख÷अध्यक्ष पदमा पाँच÷पाँच जसपा र लोसपाले पाएका छन् । त्यसैगरी कांग्रेसले दुई, एमाले र तमलोपाले एक/एक र अर्को एक स्वतन्त्र उम्मेदवार जितेका छन् ।

त्यसैगरी उपप्रमुख÷उपाध्यक्षमा जसपा छ, लोसपा चार, कांग्रेस तीन, एमाले एक र स्वतन्त्र एक निर्वाचित भएका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाका १३८ वडाका अध्यक्षमा सबैभन्दा बढी कांग्रेसले ३६ मा जित हात पारेको छ । जसपा र लोसपाले क्रमशः ३१ र ३० पाएका छन् । एमालेले १८, माओवादी केन्द्रले १३, तमलोपा र जनमत पार्टी दुई÷दुई एवं नेकपा (एकीकृत समाजवादी) ले एक वडामा जित हात पारेका छन् । स्वतन्त्र निर्वाचित वडाध्यक्षको सङ्ख्या पाँच छ । रासस