म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा मङ्गलबार लिङ्गो जुधाउने प्रतियोगिता भएको छ । हरेक वर्षको जेठ महिनामा मनाइने भूमे पूजाको अवसरमा आयोजना गरिएको लिङ्गो जुधाउने प्रतियोगितामा विगतमा झै गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गो जुधाउँदा यो वर्ष कान्छी गाउँ विजयी भएको छ ।


ADVERTISEMENT


करिब चार सयवर्ष पुरानो इतिहास बोकेको मानिने लिङ्गो जुधाउने कार्यक्रमलाई यो वर्ष पनि दग्नामवासीले निरन्तरता दिएका हुन् । विशेष गरी प्रकृति पूजाको रुपमा चिनिने भूमे देवतालाई खुसी बनाउन दग्नाममा दुई गाउँबीच लिङ्गो जुधाउने गरिन्छ ।


ADVERTISEMENT

# # #


दग्नामको भूमे पूजाको मुख्य आकर्षणको रुपमा रहेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा दग्नामको गैरी गाउँ र कान्छी गाउँले सहभागिता जनाउँदै आएका छन् । प्रकृतिको पूजास्वरुप मङ्गलबार दग्नाममा भूमे पूजा पर्वको अवसरमा दुई गाउँका स्थानीयवासीले मुल्का डाँडामा ध्वजापतकाले सिगारिएको बाँसको लिङ्गो प्रतिस्पर्धा गराएको एकता क्लब दग्नामका अध्यक्ष आर्मिन पुर्जाले बताए ।

उहाँले भूमे पूजाको दोस्रो दिन पुख्यौली नृत्य तेस्रो दिन सांस्कृतिक कार्यक्रम र त्यस पश्चात विविध खेलकूद कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । दग्नाम गाउँदेखि माथि शिरमा रहेको डाँडामा निकै रोचक तवरले आयोजित लिङ्गो जुधाइको अवलोकनका लागि गाउँदेखि टाढा तथा प्रवासमा रहेका दग्नामवासीलगायत अन्य छिमेकीगाउँका सर्वसाधारणको समेत बाक्लो उपस्थिति रहेको थियो ।

स्थानीय पुख्र्यौली गित, नृत्य, पञ्चेबाजाको रमाइलो उत्सवकाबीच स्थानीयवासीले बिहान भूमे देवताको पूजा गरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउनका लागि लिङ्गो जुधाएको जनता मावि दग्नामका प्रधानध्यापक गुन पुन बताउँछन् ।

‘यो हाम्रो संस्कृति हो, यसले दग्नामको पहिचान बोकेको छ, परम्परादेखि चल्दै आएको लिङ्गो जुधाउने प्रतियोगितालाई निरन्तरता दिन हामी लागिरहन्छौँ’’, उनले भने, ‘पछिल्लो समय भने रमाइलो, खुसियाली र भावनात्मक प्रतिस्पर्धाको रुपमा लिङ्गो जुधाउने गरिएको छ ।

जेठा भूमेको रुपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनामा वर्षभरिको खेतीबाली राम्रो होस्, बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपको सिर्जना नहोस्, स्थानीयवासीको सु–स्वास्थ्यको कामना गर्दै पूर्खौदेखि भूमे देवताको पूजा गर्दै आएका छन् । रासस