धनुषा – धनुषाको चार पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये दुई वटा पालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको छ भने नेकपा (एमाले) र जनता समाजवादी पार्टीले एक–एक पालिकामा जित हासिल गरेका छन् ।


ADVERTISEMENT


धनुषाको धनौजी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने औरही गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले तथा जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् ।


ADVERTISEMENT

# # #


लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा फूलकुमारी यादवनी विजयी भएका छन् । अध्यक्षमा तीन हजार ७६५ मत ल्याए कांग्रेसका मिश्र निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सत्रुधन यादव तीन हजार ४९७ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै फूलकुमार यादवनी तीन हजार ६२८ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका विमलाकुमारी यादव तीन हजार ४६० मत ल्याए ।

यस्तै धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ । धनौजी गाउँपालिकाको अध्यक्षमा दुई हजार २६२ ल्याएर कांग्रेसका राजकुमार साह विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसकै रामवतीदेवी मण्डल दुई हजार ४३० मतका साथ विजयी भएकी छन् ।

अध्यक्षमा निर्वाचित साहका निकटतम प्रतिद्वन्द्वी लोपसाका जीवेन्द्र झाले दुई हजार १६२ तथा उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी लोसपाकै रञ्जितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गरेको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए ।

धनुषाको औरही गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका उमाशङ्करप्रसाद साह र उपाध्यक्षमा पुनमकुमारी साह निर्वाचित भएको निर्वाचन अधिकृत रत्नेश शशिले जानकारी दिए ।

अध्यक्षमा तीन हजार ३२६ मत ल्याएर साह निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बह्मदेव यादवले दुई हजार ९२३ मत ल्याए । उपाध्यक्षमा एमालेकै पुनमकुमारी साह दुई हजार ९४९ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रिंकीकुमारी मण्डलले दुई हजार ७९० मत प्राप्त गरिन् । कूल छ वटा वडा रहेको सो गाउँपालिकामा १४ हजार ४६८ मतदाता रहेको जनाएको छ ।

यस्तै धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएको छ । गाउँपालिका अध्यक्षमा तीन हजार १५८ मत प्राप्त गरी जसपाका दिपीनदेव यादव र उपाध्यक्षमा कांग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए ।

अध्यक्षमा निर्वाचित यादवका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुदेशकुमार चौधरीले दुई हजार ७७८ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा निर्वाचित सहगलका निकटतम प्रतिद्वन्द्वी जसपाका गीता सुडीले दुई हजार ८४० मत प्राप्त गरे । रासस