चितवन– कारागार कार्यालय चितवनमा हाल ७४१ कैदीबन्दी छन् । यसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका कैदीबन्दी रहेको जनाइएको छ ।


ADVERTISEMENT


कारागारमा जबरजस्ती करणीका २०८ कैदीबन्दी रहेका हुन् । अन्य १४८ कैदी र ६० बन्दी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । उनीहरुमध्ये एक महिला बन्दी हुन् ।


ADVERTISEMENT

# # #


कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जबरर्जस्ती करणीमा रहेका कैदीबन्दी अधिकांश ४० वर्ष माथिका छन् । यस कारागारमा दोस्रो ठूलो सङ्ख्यामा लागुऔषधसम्बन्धी कसूरका कैदीबन्दी छन् । लागुऔषधसम्बन्धी कसूरका १४० कैदीबन्दी रहेको उनले बताए ।

लागुऔषधसम्बन्धी कसूरमा १० महिला र १३० पुरुष कारागारमा छन् । उनीहरु २५ वर्षभन्दा माथिका रहेको आचार्यको भनाइ छ । यस्तै कर्तव्य ज्यान मुद्दामा ८१ पुरुष र २१ जना महिला गरी १०२ छन् । गैँडाको खाग बिक्री मुद्दाका ६९, सवारी ज्यान मुद्दाका ५५, चोरी मुद्दाका ४९ रहेको कार्यालयले जनाएको छ ।

यस्तै अन्य डाँका, ज्यानमार्ने उद्योग, जिउ मास्ने बेच्ने मानव मेचबिखन, अपहरण तथा शारीरिक बन्धक, केही सार्वजनिक अपराध, हातहतियार खरखजाना, काठ चोरी, आत्महत्या दुरुत्साहन, ठगी, गौबध, खोटाचलान, बहुविवाह, सैनिक ऐन÷प्रहरी, सम्पत्ती शुद्धिकरण र आगजनी मुद्दाका कैदीबन्दी कारागारमा छन् ।

आचार्यका अनुसार उनीहरुसँगै दुईजना आश्रित नाबालिका रहेका छन् । यस कारागारमा चितवनसहित तीन जिल्लाका कैदीबन्दी रहेको उनले जानकारी दिए । मकवानपुर र नवलपुर जिल्लाका कैदीबन्दी धेरै चितवन आउने गरेको उनी सुनाउँछन् । स्वास्थ्य सुविधाका कारण चितवनमा कैदीबन्दी बढी आउने गरेको उनको भनाइ छ । नवलपुरमा आफ्नो कारागार कार्यालय नहुँदा यहाँ कैदीबन्दीको चाप बढेको हो ।

यस कारागारमा क्षमता भन्दाबढी कैदी बन्दी रहेका छन् । २५५ जनाको क्षमता रहेको पुरुष कैदी बन्दी गृहमा ६९० जना र २५ जना कैदी बन्दीको क्षमता भएको महिला बन्दी गृहमा ५१ जना छन् । रासस