सप्तरी – स्थानीय तहको निर्वाचनको तयारी सप्तरीमा अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रमुख न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । “कर्मचारीलाई नियुक्ति पत्र दिई मतदान केन्द्रमा पठाउन सुरु गरेका छौँ”, उनले भने, “मतदान केन्द्र (बुथ) निर्माणको कामसमेत सुरु गर्न लागिएको छ ।”


ADVERTISEMENT


मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीलाई नियुक्तिपत्र दिई मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्रीसहित खटाउन लागिएको हो । सप्तरीका सबै १८ पालिकाका २९७ मतदानस्थलमा व्यवस्था गरिएको ५३६ मतदान केन्द्रका लागि ५३६ मतदान अधिकृत र त्यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाइएको छ ।


ADVERTISEMENT

# # #


आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २९७ मतदानस्थल निर्धारण गरिएकोमा २०८ वटा अतिसंवेदनशील, ८५ संवेदनशील र चार वटा मतदानस्थल सामान्यमा राखिएको छ । निर्वाचनको मौनअवधि आज राति १२ बजेदेखि सुरु हुन लागेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । निर्वाचनको थोरै दिन बाँकी रहँदा प्रत्याशी मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । देशभर एकैसाथ गर्न लागिएको निर्वाचन मितिको मौनअवधि आज रातिदेखि सुरु हुने भएकाले जिल्लामा क्रियाशील राजनीतिक दलका उम्मेदवारले आज शक्ति प्रदर्शन गरेका छन् ।

मुख्य दलहरूले स्थानीय तहमा आफूहरुको जीत सुनिश्चित रहेको र ठूलो पार्टी हुने दाबी गर्दै आएका छन् भने पहिलोपटक भाग लिएर सबै स्थानीय तहमा उम्मेदवार बनाएको जनमत पार्टीले समेत तीनरचार तहमा आफूहरुको जित हुने दाबी गर्दै आएका छन् । निर्वाचन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थललाई केन्द्रित गर्दै ७०० नेपाली सेना, ६०० सशस्त्र प्रहरी र एक हजार ५९४ नेपाल प्रहरी तथा दुई हजार ९४८ म्यादी प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए ।

सुरक्षा संयन्त्रको पहुँच, विगतमा भएका घटना र भौगोलिक विकटताको आधारमा जिल्लामा तीन समूहमा वर्गीकरण गरी शान्ति–सुरक्षाको व्यवस्था मिलाइएको गौतमले जानकारी दिए । उनका अनुसार आसन्न स्थानीय तहको निर्वाचनलाई धाँधलीरहित तथा मर्यादित बनाउन निर्वाचनमा भाग लिएका जिल्लास्थित सबै राजनीतिक दलले प्रतिबद्धतासमेत जनाएका छन् ।

मतदानस्थल तथा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतसहितका कर्मचारीलाई आवश्यक निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा पठाइएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी रमेश जोशीले जानकारी दिए । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी तालिम दिएर तोकिएको कार्य क्षेत्रमा पठाइएको छ । उनले भने, “वैशाख ३० गते हुने निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने अपेक्षा गरेका छौँ ।”

निर्वाचन सफल पार्न जिल्लास्थित क्रियाशील राजनीतिक दललाई अमर्यादित गतिविधि नगर्न अनुरोध गरिएको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले बताए। जिल्लामा सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र र जसपाले सुरुङ्गा नगरपालिकामा र माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले खडक नगरपालिकामा चुनावी तालमेल गरेका छन् । अन्य सत्तासिन नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), लोसपा र जनमत एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका १८ स्थानीय तहमा चार लाख १२ हजार ४४५ ले मतदान गर्न पाउने भएका छन् । महिला एक लाख ९८ हजार ५३२, पुरुष दुई लाख १३ हजार ८९२ र २१ अन्य मतदाताले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय सप्तरीका अधिकारी जोशीले बताए । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस, सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले पाँच–पाँच, एमालेले दुई र नयाँ शक्ति पार्टीले एक स्थानीय तहमा विजयी हासिल गरेको थियो ।