म्याग्दी – म्याग्दीका स्थानीय तह निर्वाचनका उम्मेदवारहरूले पूर्वाधार निर्माणलाई प्राथमिकता राखेका छन् ।


ADVERTISEMENT


यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले सडक, खानेपानी, सिँचाइ, नदी नियन्त्रण, विद्युतीकरण र भवन निर्माणसम्बन्धी योजनालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका हुन् । जिल्लाका छ स्थानीय तह र ४५ वडामा निर्वाचित हुने २३५ पदका लागि ७१८ जना चुनावी प्रतिस्पर्धामा छन् ।


ADVERTISEMENT

# # #


अधिकांश उम्मेदवारले पालिकाको केन्द्रदेखि वडाको कार्यालय रहेको बस्ती जोड्ने सडक कालोपत्र गर्ने र बाह्रै महिना यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । अघिल्लो चुनावमा पनि उनीहरूले सडककै मुद्दालाई प्राथमिकता दिएका थिए । विकासका अन्य क्रियाकलापका लागि आवश्यक पर्ने भएकाले सडकलाई प्राथमिकता दिएको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेकी थमसरा पुनले बताइन् । उनी यसअघिको चुनावमा पनि पालिका अध्यक्षमा निर्वाचित थियो ।

“अनुभव, कानुन र कर्मचारी अभावका बाबजुद पहिलो कार्यकालमा छवटा वडालाई सडकले जोड्न र पूरै पालिकाभर विद्युत् विस्तार गर्नेलगायत धेरै काम गर्न सफल भएका छौँ”, उनले भने, “बाढीपहिरा र कोरोना महामारीका कारण पहिलो कार्यकालमा भनेजति काम गर्न सकेनौँ । सुरु गरेका कामलाई पूर्णता दिन, घोषणापत्रअनुसार नयाँ योजना तथा कार्यक्रम सञ्चालन गर्न र महिला आन्दोलनलाई अघि बढाउन मेरो उम्मेदवारी हो ।”

गठबन्धनका तर्फबाट कांग्रेसबाट अध्यक्षका उम्मेदवार प्रेमप्रसाद पुनले भौगोलिकरूपमा विकट रहेको धवलागिरिको सम्भावनालाई विकासमा रुपान्तरण गर्ने, रोजगारी सिर्जना गराउने, विकास निर्माणलाई पारदर्शी र जनसहभागितामूलक बनाउँदै सुशासन कायम गर्ने मुद्दामा जोड दिने बताए । “विकट भए पनि जलविद्युत्, पर्यटन, जडीबुटी, पशुपालन र कृषि क्षेत्रमा यस पालिकाको सम्भावना छ”, उनले भने, “युवा परिचालन गरेर यहाँको सम्भावनालाई विकासमा रुपान्तरण गर्ने मेरो लक्ष्य छ ।”

एमालेका उपाध्यक्षका उम्मेदवार प्रगति कार्कीले सामाजिक रुपान्तरण, शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार, पर्यटन प्रवर्धन, जडीबुटी, खनिजलगायतका सम्भावनाको अध्ययन गरी रोजगारी सिर्जना गराउन प्राथमिकता दिने बताए ।

गठबन्धनबाट उपाध्यक्षको उम्मेदवार बनेका माओवादी केन्द्रका रेशम पुनले युवा जागरण र परिचालनमार्फत सामाजिक रुपान्तरण, दिगो विकास, सेवा प्रवाहमा विभेदको अन्त्य, रोजगारी सिर्जना गराउन प्राथमिकता दिने बताए । युवालाई चाहना र क्षमताअनुसार सीप, पूँजी र प्रविधिमा सघाएर स्वरोजगार बनाउने योजना सुनाए । रासस