पोखरा – वैशाख ३० मा हुने स्थानीय तह चुनावका लागि वडामा एक जना महिला सदस्य राख्नुपर्ने बाध्यकारी व्यवस्था छ । सो पदमा कास्कीको मादी गाउँपालिका २ मा देवी विक उम्मेदवार बनेकी छिन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसबाट वडा सदस्यकी उम्मेदवार बनेकी देवी एक महिने शिशु काखमा च्यापेर चुनावी मैदानमा होमिएकी छिन् । अवसर पाए गाउँको विकास गर्छु भन्ने सोच राखेर चुनावमा लागेकी उनी सुत्केरी भएको एक महिना मात्र भयो ।


ADVERTISEMENT

# # #


यसभन्दा अघि मादी २ मा नेकपा एमालेले वडामा नेतृत्व लिएको थियो । एमालेबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो वडामा महिला र दलितका लागि सोचे जस्तो काम गर्न नसकेकाले आफै यो पटक नेतृत्वमा पुग्न चाहेको उनको धारणा थियो ।

नजिकै चुनावी प्रचार प्रसारमा जाँदा एक महिने बच्चालाई आफन्तकोमा छाडेर जाने गरेको उनले बताए तर टाढा धेरै नै समय लाग्ने स्थानमा बोकेरै हिँड्ने गरेको उनले बताइन् ।

‘म अहिले एक महिनाको सुत्केरी हुँ, हजुरहरूले यस्तो सुत्केरी मान्छे किन उठेको होला नभनिदिनु होला,’ उनले भनिन्, ‘बच्चा रुँदा गाह्रो त हुन्छ तर म केही गर्छु भनेर आएको छु, यसमा तपाईहरुले अप्ठेरो नमानिदिनु होला । म हाम्रो गाउँ र टोल विकासका लागि अगाडि सरिरहेको छु ।’

वडा सदस्य जितेमा आफ्नो समुदायको उत्थानको साथै अन्य समुदायका गरिब विपन्न र महिलाको समस्याप्रति ध्यान दिने उनको भनाइ छ । देवी आत्मविश्वास र साहसबाट गाउँले प्रभावित भएको वटाध्यक्षका उम्मेदवार भोजबहादुर गुरुङले बताए ।

मादी गाउँपालिका अध्यक्षमा गठबन्धन तर्फबाट कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका लालबहादुर गुरुङ उम्मेदवार छन् । गठबन्धन नगरिएको मादी वडा २ मा भने कांग्रेसका भोजबहादुर गुरुङ अध्यक्षसहित सदस्यमा राम गुरुङ, कृष्णप्रसाद सापकोटा, महिला सदस्य मुहानकुमारी गुरुङ र दलित महिला सदस्य देवी बिक सबै कांग्रेसबाट चुनावी घर दैलोमा जुटेका छन् ।

मादी गाउँपालिका २ मा यसअघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट एकजंग गुरुङ निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका अहिलेका उम्मेदवार भोजबहादुर गुरुङलाई १ सय ३ मतले पराजित गरेका थिए ।

एकजंगले ३ सय ९९ मत ल्याउँदा भोजले २ सय ९६ मत प्राप्त गरेका थिए । मादी २ मा मतान्तर धेरै नभएकोले माहोल कांग्रेस तर्फ भएकोले आफूहरूले जित्ने अध्यक्षका उम्मेदवार भोजबहादुर गुरुङले बताए । ‘यसअघिको नेतृत्वले उल्लेखनीय काम नगरेकाले मतदाता एमालेको नेतृत्वबाट रुष्ट छन्,’ उनले भने, ‘यो पटक हामीले जित्छौँ, अनि देवी जस्ता धेरैको महिलाको सपना पुरा हुन्छ ।’