काठमाडौं – उच्च हिमाली क्षेत्रका महिला तथा बालबालिकाको स्वास्थ्य र शिक्षाका क्षेत्रमा सहयोग गर्दै आएको पासाङ ल्हामु शेर्पा प्रतिष्ठानले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ ।


ADVERTISEMENT


स्व पासाङ ल्हामुको २९औँ स्मृति दिवसका अवसर पारेर आज यहाँ आयोजित कार्यक्रममा पूर्वराजदूत दावा फुटी शेर्पाले पासाङ ल्हामु मेमोरियल कलेजमा अध्ययनरत १० विद्यार्थीलाई ‘टेन्डी शेर्पा छात्रवृत्ति’ प्रदान गरे । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाको स्मृतिमा सन् १९९३ मा प्रतिष्ठानको स्थापना गरिएको थियो ।


ADVERTISEMENT

# # #


प्रतिष्ठानले उच्च हिमाली तथा हिमाली क्षेत्रका महिला र बालबालिको क्षमता, शैक्षिक तथा स्वस्थ्यस्तर अभिवृद्धि, पर्वतीय पर्यटन प्रवर्धन एवं पर्वतारोही तथा तिनका परिवारका सदस्यलाई कल्याणकारी सहयोग गर्दै आएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त महिलाले आफ्नो क्षमताको आफैँले पहिचान र विकास गर्नुपर्नेमा जोड दिएका थिए । पूर्वराजदूत शेर्पाले पासाङ ल्हामुको सम्झना र योगदानका साथसाथै साहसी र सक्षम महिलाको अनुभव आदानप्रदान गर्न कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

पासाङ ल्हामु शेर्पाले २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी  थिए । आरोहण गरेर फर्कने क्रममा हिमपहिरोमा परी उनको निधन भएको थियो । सरकारले उनलाई २०५९ वैशाख १० गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । पासाङको सम्झनामा हुलाक टिकटसमेत प्रकाशित भएको छ । रासस