काठमाडौँ – काठमाडौँ महानगरपालिकाले छुटेका बालबालिकालाई यही वैशाख ९ गते टाइफाइडविरुद्धको खोप लगाउने जनाएको छ ।


ADVERTISEMENT


सरकारले गत चैत २५ देखि यही वैशाख १८ गतेसम्म खोप लगाउने तालिका सार्वजनिक गरेको भए पनि अहिले विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गर्ने समय भएकाले यही वैशाख ९ गते यसअघि छुटेकालाई खोप लगाउन लागिएको हो ।


ADVERTISEMENT

# # #


कामपा सहरी स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार धेरै बालबालिकाले खोप लगाइसकेका छन् । छुटेका केहीलाई वैशाख ९ गते प्रत्येक वडा क्लिनिकबाट खोप लगाउने कार्यक्रम छ ।

यसअघि छुटेकालाई वैशाख ९ गते र त्यसपछि पनि लक्षित समूहमा कोही छुटे भने सरकारले तोकेको नियमित खोप लगाउने खोप केन्द्रमा गएर लगाउनुपर्ने प्रमुख त्रिपाठीले भने । सरकारले गत चैत २५ देखि वैशाख १८ गतेसम्म १५ महिनामाथि १५ वर्षसम्मका उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम अभियानका रूपमा सञ्चालन गरिरहेको छ ।

अभियान सहज होस् भन्नका लागि सामुदायिक र निजी गरी ६०० विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको छ । कामपाले कम्तीमा २०० विद्यार्थी भएको प्रत्येक विद्यालयमा केन्द्र सञ्चालन गरेको थियो ।

राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमका रूपमा लिइएको छ । हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउनसक्ने विश्वास सरकारको छ ।

नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनुका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँच कारणभित्र यसलाई लिइएको छ । अभियानको सुरुआत गत चैत २४ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।