फलेवास, पर्वत– यहाँको एक गाउँमा खानेपानीको हाहाकार भएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिकास्थित साविक लेखफाँट गाविसस्थित वडा नं ७ लोप्रे गाउँमा खानेपानीको हाहाकार मच्चिएको हो ।


ADVERTISEMENT


नजिकमा पानीको भरपर्दो स्रोत नहुँदा वर्षौंदेखि स्थानीयवासीले खानेपानीमा समस्या खेप्दै आएका छन् । लोप्रेका ६६ घरधुरी खानेपानीको सुविधाबाट वञ्चित बनेका छन् ।


ADVERTISEMENT

# # #


वर्षायाममा गाउँ वरिपरि मूल उठ्ने भएकाले समस्या नभए पनि हिउँदको समयमा भने काकाकुलको नियति भोग्नुपरेको स्थानीय हरिमाया पुनले बताए । उनले भने, “एक गाग्री पानी ल्याउनका लागि घण्टौँ समय खर्चनुपर्ने अवस्था रहेको छ । खानेपानी लिनका लागि पिठ्यूमा गाग्री बोकेर बस्तीभन्दा आधा घण्टा तल खोलामा जानुपर्ने बाध्यता रहेको छ ।”

घरपरिवारका एक दुईजनालाई त दैनिक घरमा पानी पुर्याउने जिम्मा नै लगाउनुपर्ने अवस्था रहेको स्थानीयवासीको गुनासो छ । केही समयअघि गाउँमा बेलायतको सहयोगमा कादुरी योजना परेको भए पनि नजिकमा स्रोत नहुँदा योजनाले पूर्णता पाउन नसकेको हो । पानीको अभाव भएपछि स्थानीय कृषकले खेतीयोग्य जमिनमा सिँचाइ गर्न र तरकारी बाली पनि लगाउन पाएका छैनन् ।

पानीको राम्रो व्यवस्था भइदिने हो भने मौसमी तथा बेमौसमी तरकारी लगाएर पनि प्रशस्त आम्दानी गर्न सकिने थियो स्थानीय कृषक कृष्णरञ्तिजा मगरले भने । पानीको स्रोत नै नहुँदा खेतबारी पनि बाँझै राख्नुपर्ने अवस्था रहेको छ । उनीहरुले बारीमा मकै, कोदो लगाउँदै आएका छन् । आलु उत्पादनका लागि पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने भए पनि सिँचाइको अभावले गर्दा निर्वाहमुखीरुपमा उत्पादन गर्नुपरेको उनले बताए ।

खानेपानीको योजना गाउँमा पार्नका लागि जिल्लास्थित सरोकारवाला निकायमा पटक–पटक आग्रह गरिएको भए पनि अहिलेसम्म कुनै योजना आउन नसकेको समाजसेवी जगत लाङ्घालीले जानकारी दिए । राजनीतिक दलका नेताहरु पनि भोट माग्ने बेलामा मात्र आउँछन् अरु समयमा नाकमुखै देखाउँदैनन्”, उनले भने, “अब त भन्दाभन्दै आश पनि मर्न लागिसक्यो ।”

अधिकांश मगर समुदायको बाहुल्यता रहेको उक्त गाउँमा खानेपानीकै अभावले गाउँमा अन्य क्षेत्रको विकास गर्न नसकिएको गुनासो गरेका छन् । उनीहरु गाउँमा घरवास कार्यक्रम सञ्चालन गरी पर्यटकीय केन्द्रका रुपमा विकास गर्न चाहे पनि खानेपानीकै अभावले शुरु गर्न नसकेको बताएका छन् ।