लण्डन- बेलायती राजकुमार ह्यारी आफ्नो अमेरिकी प्रेमिका मेगन मार्केलसँग विवाह बन्धनमा बाँधिने भएका छन् । पिता राजकुमार चाल्र्सले उनको विवाहको पुष्टि गरेका हुन् ।


ADVERTISEMENT


राजगद्दीको उत्तराधिकारीमा पाँचौ स्थानमा रहेका ह्यारीले आगामी मार्च वा जुन महिनामा विवाह गर्ने बताइएको छ । विवाह पश्चात उनीहरु लण्डनमा रहेको केन्सिङटन दरवारको नटिङहम कटेजमा बस्नेछन् । सन् २०१६ देखि एक अर्कालाई डेटिङ गरिरहेका जोडीले केही हप्ताअघि मंगनी गरेका थिए ।


ADVERTISEMENT

# # #


जारी गरेको वक्तव्यमा राजकुमार ह्यारीले इन्गेजमेन्टको खबर सुनाउँदा आफू निकै खुसी भएको र मार्केलको आमाबाबुबाट आर्शिवाद पनि पाइसकेको बताएका छन् । गोप्य समारोहबीच लण्डनमा गरिएको इन्गेजमेन्टको बारेमा रानी एलिजाबेथ र परिवारका निकट सदस्यहरुलाई मात्र थाहा दिइएको थियो ।

प्रिन्स अफ वेल्स र डचेज अफ कर्नवालको आधिकारिक निवास क्लारेन्स हाउसले जारी गरेको घोषणामा विवाहबारे थप जानकारी विस्तारै दिइने बताइएको छ । राजकुमार विलियम र क्याथरिनले ह्यारी र मेघनका लागि निकै खुसी भएको प्रतिक्रिया दिएका छन् ।

ह्यारी र मेगन गत सेप्टेम्बरमा सार्वजनिकरुपमा पहिलो पटक सँगै देखिएका थिए ।

त्यस्तै, केही समयअघि मेगनले पहिलो पटक भ्यानिटी फेयर पत्रिकासँग कुरा गर्दै ह्यारीसँगको प्रेमको बारेमा खुलासा गरेकी थिइन् । एजेन्सी