बलेवा– बागलुङ बजारमै बस्ने अन्दाजी १६/१७ वर्षका एक युवा यहीँको एक विद्यालयमा पढ्छन् । उनी क्षयरोगका बिरामी हुन् । लक्षण देखिएपछि उनको परिवारले उपचारको खोजी गर्‍यो । नजिकैमा रहेको धौलागिरी अस्पतालमा क्षयरोगका बिरामीको लागि प्रत्यक्ष निगरानीमा निःशुल्क उपचार गर्ने व्यवस्था छ ।


ADVERTISEMENT


तर, ती युवा नेपाल सरकारले उपलव्ध गराएको निःशुल्क उपचार र औषधि छोडेर निजी स्वास्थ्य संस्थाबाट सेवन गर्दै आएका छन् । हाल उनको उपचार पोखराको एउटा निजी अस्पतालमा भइरहेको छ । ६ महिना नियमित खाने औषधि उनले सरकारी स्वास्थ्य संस्थाभन्दा बाहिरबाट लिन्छन् र आफ्नै तरिकाले अस्पताल आउजाउ गर्छन् ।


ADVERTISEMENT

# # #


उनीजस्तै बजारका अरु पनि क्षयरोगको उपचारका लागि जिल्ला बाहिरका निजी अस्पतालमा पुग्ने गरेका छन् । क्षयरोगको सङ्क्रमणपछि जिल्ला बाहिर बिरामीले उपचार गर्दैछन् भन्ने तथ्याङ्क भने यहाँका सरकारी निकायसँग छैन । सदरमुकाममा रहेको सरकारी अस्पताल र गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थामा उपचार सेवा हुँदाहुँदै बाहिरी जिल्लामा बिरामी उपचारका लागि पुग्नुको मुख्य कारण सामाजिक बहिस्करण, लाञ्छना र दुर्व्यवहार हो ।

‘बिरामीमा लक्षण हुन्छ, क्षयरोग लागेको पत्ता पनि लाग्छ तर नियमित औषधिसेवन गर्दा, रोग लागेको थाहा लाग्दा समाजले गर्ने व्यवहारका कारण उनीहरु रोग गोप्य राख्छन्’, बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल भन्छन्, ‘कम उमेरका युवायुवती र सम्पन्न परिवारका वयस्क पनि उपचारका लागि अन्यत्र जाने गरेका छन् ।’

क्षयरोगको सङ्क्रमणपछि निजी अस्पताल तथा स्वास्थ्य संस्थामा भए पनि उपचार गराउनेभन्दा रोगको पहिचान र उपचारमा सहभागी हुँदा ‘सामाजिक लाञ्छना आउँछ कि !’ भनेर तर्सिनेका कारण बागलुङमा क्षयरोग फैलिएको उनको अनुभव छ । उनले समाजलाई सचेत बनाउने र क्षयरोगका लक्षण देखिएकालाई उपचारमा ल्याउने वातवरण बनाउनुपर्नेमा जोड दिए । ‘गाउँभन्दा सहरमा रोग लुकाउने समस्या बढी छ, यो क्षयरोग नियन्त्रणमा चुनौती बनेको छ’, स्वास्थ्य शाखाका उपप्रमुख डिल्ली आचार्यले भन्छन्, ‘एउटा सङ्क्रमितले दश जनालाई रोग सार्न सक्छ, हामी सचेत बनौँ, क्षयरोगीको सामाजिक दुव्र्यवहार होइन उपचार गरौँ ।’

बागलुङ नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि सदरमुकाममा धौलागिरि अस्पतालको सेवा क्षेत्रबाहेकका दश वटा वडामा नै क्षयरोग जाँच गर्ने गरेको छ । बागलुङमा ९७ क्षयरोगी पत्ता लागेका छन् । गत वर्ष १६६ र त्योभन्दा अघिल्लो वर्ष १४६ क्षयरोगी भएको पत्ता लागेको तथ्याङ्क छ । अहिले औषधि प्रयोग गरिरहेकामध्ये सबैभन्दा धेरै बडिगाड गाउँपालिकाका ४७ बिरामी छन् । बागलुङ नगरपालिकामा क्षयरोगका नौ बिरामी रहेको तथ्याङ्क छ ।

क्षयरोग भएकाले रोग लुकाउने गरेका कारण नियन्त्रणमा समस्या भइरहेको बागलुङका क्षयरोग कुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेले बताए । क्षयरोग भएका व्यक्तिले दुईहप्ता लगातार औषधि प्रयोग गरेपछि अरुलाई सर्दैन भने ६ महिना निरन्तर औषधि सेवन गरे रोग निको हुन्छ ।

निःशुल्क स्वास्थ्य शिविर

विश्व क्षयरोग दिवसको अवसरमा तमानखोला गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजना, धौलागिरि अस्पताल बागलुङ र तमानखोला गाउँपालिकाको समन्वयमा तमानखोलाको बोंगादोभानमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १५० जनाको खकार, पिसाब, मधुमेह तथा एचआइभी जाँच गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । शिविरमा तमानखोला गाउँपालिकाले रु ५० हजारभन्दा बढीको औषधि निःशुल्क वितरण गरेको स्वास्थ्य संयोजक तिलक छन्त्यालले जानकारी दिए । रासस