काठमाडौँ– नेपालमा प्रतिवर्ष ६९ हजार क्षयरोगका बिरामीहरु थपिने गरेका छन् । पछिल्लो तथ्यांकका अनुसार, नेपालमा प्रतिवर्ष ६९ हजार क्षयरोगका बिरामीहरु थपिने गरेको पाइएको हो ।


ADVERTISEMENT


‘विश्व क्षयरोग दिवस’ को पुर्वसन्ध्यामा स्वास्थ्य तथा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सञ्जय कुमार ठाकुरले अझै ४० हजार बिरामी उपचार दायरा बाहिर रहेको बताएका छन् । र, ती समूहको पहिचान गरी उपचार दायराभित्र ल्याउनु आफैमा चुनौती पूर्ण रहेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


गत आव २०७७/७८ को तुलनामा नेपालमा २८,६७७ जना क्षयरोगका नयाँ बिरामीहरु दर्ता भएको बताउदै उनले भने, ‘उपचार सफलता दर भने ९१ प्रतिशत रहेको छ । जसमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र ७ प्रतिशत बालबालिकाहरु रहेका छन् ।’

यस्तै, समारोहमा बोल्दै विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) का प्रतिनिधि डा. राजेश समबाजी राव पाण्डवले सन् २०३० सम्ममा नेपाललाई क्षयरोगमुक्त घोषित गर्ने रणनीति रहेको बताए । त्यसैअनुरुप नेपाल सरकारले समय–समयमा क्षयरोग सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आएको र यसका लागि डब्लूएचओको तर्फबाट पनि उचित सहकार्य रहने उनले प्रतिबद्धता जनाए ।

यसैगरि स्वास्थ्य सचिव डा. रोशन पोखरेलले भने बिरामी पहिचानका लागि निजी क्षेत्रका स्वास्थ्य केन्द्रसंग समन्वय गरिने बताउँदै यसका लागि सरकारले क्षयरोगमा लगानी बढाउनु पर्नेमा जोड दिए । यसबाट क्षयरोग न्युनिकरणमा सघाउ पुग्ने उनको राय छ ।

प्रत्येक २४ मार्चको दिन विभिन्न नारासहित विश्वभर ‘अन्तर्राष्ट्रिय क्षयरोग दिवस’ कार्यक्रम मनाउने गरिन्छ। त्यसैअनुरुप नेपालले पनि यसपटक ‘इभेष्ट इन टिबी, सेभ लाइभ्स’ अर्थात्, क्षयरोगमा लगानी बढाऔँ र ज्यान बचाऔँ’ भन्ने मुल नाराका साथ मनाइदैँ छ ।