काठमाडौँ – आईसीसी ओडीआई लिग–२ को युएई सिरिज अन्तर्गतको अन्तिम खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई १७४ रनको चुनौती दिएको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको छ ।


ADVERTISEMENT


पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाए । पवन सर्राफको बलमा आउट हुनुअघि उनले ९६ बलमा ३ चौका प्रहार गरे । चाद सोपेरले नटआउट २२ तथा लेगा साइकाले २०, सेसे बाउले १९, नर्मन भानुवाले १८ र कावुवा मोरेराले नटआउट १७ रन हाने ।


ADVERTISEMENT

# # #


नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट लिए । त्यसक्रममा १० ओभरमा सन्दीपले २९ र सोमपालले ३७ रन खर्चिए । यस्तै दीपेन्द्र सिंह ऐरी, करण केसी, आरिफ शेख, पवन सर्राफले समान १–१ विकेट हात पारे ।

नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

युएई सिरिजमा पहिलो खेलमा पपुवा न्यूगिनीलाई २ विकेटले हराएको नेपालले दोस्रो र तेस्रो खेलमा आयोजक युएईसँग क्रमश ४८ र ९९ रनले पराजित भएको थियो । ७ टोली सम्मिलित ओडीआई लिगमा नेपालले ११ खेल खेलेर ५ जितसहित १० अंकका साथ छैटौँ स्थानमा रहेको छ । युएईले १८ खेलमा १० जितसहित २२ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

यता लिग २ ओमानले २८ खेल खेलेर १७ जितका साथ ३६ अंकसहित शीर्ष स्थानमा रहेको छ भने १५ खेलमा १ जितसहित २ अंकका साथ पपुवा न्यूगिनी अंक तालिकाको पुछारमा रहेको छ ।

ओडीआई लिग दुईमा प्रत्येक टोलीले ३६ खेल खेल्नेछन् । उत्कृष्ट ३ टोली सन् २०२३ मा हुने एकदिवसीय विश्वकपको छनोटमा पुग्नेछन् ।