पोखरा- तीन हिमाली जिल्ला मनाङ,  मुस्ताङ र दार्चुलामा आज बिहानैदेखि मतदान प्रकृया शुरु भएको छ ।


ADVERTISEMENT


चिसोको बाबजुद बिहानैदेखि लामबद्ध भएर मनाङका २८ वटै मतदान केन्द्रमा मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । अधिराज्यकै सबैभन्दा कम मतदाता भएको मनाङमा पाँच हजार ८८१ मतदाता रहेका छन् । मतदानका लागि २०५ जना कर्मचारी खटिएका छन् ।


ADVERTISEMENT

# # #


निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एमाले) र स्वतन्त्र गरी प्रतिनिधिसभा एक र प्रदेशसभा दुई क्षेत्रमा ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै मुस्ताङका ३७ वटै मतदान केन्द्रमा पनि बिहानैदेखि मतदान प्रकृया शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी दिए। निर्वाचनका लागि २६१ जना कर्मचारी खटिएका छन् । नौ हजार ४२७ मतदाता रहेको मुस्ताङमा प्रतिनिधिसभा एक र प्रदेशसभा दुई निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपा र राप्रपा (प्रजातान्त्रिक) का गरी आठजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यता दार्चुलाका १२९ मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लाभरिमा दुई हजार ११५ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । विकसित घटनाक्रमलाई आधार मानेर सबै मतदान केन्द्रमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

जिल्लाभरिका ७८ हजार ५१३ मतदाताले यो निर्वाचनमा सहभागिता जनाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । महाकाली नगरपालिका–५ को अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको मतदान क केन्द्रमा ८४ वर्षीय दिलानन्द बडूले पहिलो मतदान गरेको मतदान अधिकृत डा अम्बिका पोख्रेलले बताए ।