काठमाडौं – केही वर्षदेखि रङको पर्व फागु अर्थात होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर, चारपाँच वर्षदेखि फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको छ ।
सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ ।
तराईका जिल्लामा भने भोलि होली मनाइन्छ । आज काठमाण्डौको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाइन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाइ ल्याइएको दश पाथी चामलको भात र मासु खुवाएर सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा रहेको गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारेर गाडिएको चीरमा पूजाआजा गरेपछि फागु पर्व विधिवत् रुपमा सुरु भएको थियो । होलीको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।