काठमाडौं  – गायक तथा संगीतकार प्रकाश सपुतले शुक्रबार सार्वजनिक भएको नयाँ गीत ‘पिर’ राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित नरहेको स्पष्टीकरण दिएका छन् । उनले गीतमा राखिएको दृश्यबाट कसैलाई असर पुगेको भए सो कुरामा आत्मालोचना गर्ने बताएका छन् ।


ADVERTISEMENT


माओवादी ‘जनयुद्ध’सँग सम्बन्धित रहेर सार्वजनिक भएको गीतका बारेमा आलोचना र समर्थन जारी रहँदा गायक तथा संगीतकार सपुतले यसबारे प्रष्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


नेकपा माओवादी केन्द्र निकटका चार भ्रातृ संगठनले राजनीतिक रुपमा गलत नियत राखेर गीत निकालिएको भन्दै त्यसलाई हटाउन चेतावनीयुक्त विज्ञप्ति जारी गरेसँगै सपुतले आफूले ‘पीर’ मा कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखेको स्पस्ट पार्न चाहेको बताएका छन् ।

आफूले दोहोरी साँझमा काम गर्दा थुप्रै पूर्व लडाकुहरु भेटेको उल्लेख गर्दै सपुतले उनीहरुले गर्ने गरेको चरम निराशावादी कुरालाई आफूले डायरीमा नोट गरेको र त्यसलाई नै गीतको रुप दिएको बताएका छन् ।

‘संयोगले गीत अहिले निस्कियो यस बाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उदेश्य नराखिएको स्पष्ट गर्न चाहन्छु ।’

प्रतिकात्मक रुपमा दृष्यहरु निर्माण गरेर बनाएको एउटा ‘कमरेड’को कथा ‘पिर’ भएको उनले उल्लेख गरेका छन् । आफूले आम मानिसका भोगाइ र संवेदनाहरु बुनेर भिडियो बनाएको बताउँदै उनले त्यसले कसैको भावनामा असर पुगे आत्मालोचना गर्ने बताएका छन् । ‘आम मानिसका भोगाई र संवेदनाहरु बुने र भिडियो बनाएँ। मेरो पेशा र पहिचान यहि हो’ उनले भने,  ‘बढी कोट्याइएको एउटा दृष्य छ । त्यो आत्मसम्मानसंग जोडिएको प्रतिकात्मक दृष्य हो । प्रतिकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा प्रत्यक्ष असर पुग्न जाने कुरामा भने म आत्मालोचना गर्छु ।’

सपुतले भिडियोमा व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कही पनि गलत रुपमा न अर्थ्याइएको बताउँदै भनेका छन्, ‘भिडियोमा बरु भएभरका परिवर्तनको जस दिइएको छ।’

सपुतले आफूले भिडियोको सुरुमा पनि यसबारे माफि मागेको बताउँदै अब यस्ता पात्रहरु छन् या छैनन् भन्ने तर्फ जान नहुने बताए । ‘अब यस्ता पात्रहरु छन् वा छैनन् भन्नेतर्फ नजाउँ। त्यसो हो भने मुना र मदन छन् कि छैनन् सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगबिर र सकम्बरी कहाँ होलान् ? कहाँ होला घुम्ने मेच माथि बसेको अन्धो मान्छे ?’ उनले भने।