काठमाडौं – नेपाल खेलकुद महासंघले मातहतका विषयगत खेल संघहरुको घोषणा गरेको छ । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष  पर्शुराम बस्नेतको अध्यक्षतामा  शनिबार काठमाडौंमा सम्पन्न नेकोस खेल संघहरुको संयुक्त राष्ट्रिय भेलाले विभिन्न २७ खेलका राष्ट्रिय संघको आयोजक कमिटी बनाएको हो ।


ADVERTISEMENT


भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि खेलकुद क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् । अहिले बनेको परमादेशी सरकार र त्यसका गलत कामको भण्डाफोर गर्न खेलकुद क्षेत्र लाग्नुपर्ने बताउँदै पोखरेलले महासंघले खेल, खेलाडी र सम्पूर्ण खेलकुद क्षेत्रको नेतृत्व गर्न अगाडी बढ्नु पर्ने धारणा राखे  ।


ADVERTISEMENT

# # #


त्यस्तै सोहि कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा महासंघका इन्चार्ज गोकुल बास्कोटाले नेकपा एमालेका अन्य जनसंगठन जस्तो महासंघमा गुटबन्दी र समुहवाजी नभएको बताउँदै अबका दिनमा झन सशक्त र मजबुत भएर पार्टीको मूल सिद्धान्त सफल बनाउन लाग्नुपर्ने धारणा राखे ।

कुनै नेता विशेषको घरदैलो धाउने भन्दा महासंघका काम र योजनालाई लिएर अगाडी बढे मात्र खेलकुद महासंघको मूल मर्म सफल हुने बताउँदै बास्कोटाले पार्टीलाई दबाब र प्रभाव पार्ने खालका योजना र मुद्दा अगाडी सार्न निर्देशन समेत दिए ।

महासंघका पूर्व अध्यक्ष समेत रहेका नेकपा एमालेका केन्द्रिय सदस्य एवं महासंघका सहईन्चार्ज रमेशकुमार पौडेलले खेलाडीहरुलाई समयानुकुल वैज्ञानिक प्रशिक्षणका साथै उनीहरुको भत्ता तथा निवृत्तिभरणका सवाललाई खेलकुद महासंघ र महासंघ अन्र्तगतका राष्ट्रिय खेल संघहरुले मूल मुद्दा बनाउनुपर्ने कुरामा जोड दिए ।

त्यस्तै महासंघका संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले खेलकुद महासंघको नीति अनुरुप पहिलो चरणमा २७ वटा खेलका राष्ट्रिय संघ बनाईएको र आवश्यकता अनुसार अन्य खेलक्षेत्रका खेलाडी तथा अफिसियलहरुलाई समेटी थप खेल संघ विस्तार गरिने बताए । बस्नेतले महासंले खेल सम्बन्धि सम्पूर्ण गतिविधि सम्बन्धित खेल संघ मार्फत गरी देशव्यापी रुपमा खेलाडी उत्पादन गर्ने कुरालाई प्राथमिकता दिईने बताए ।