काठमाण्डौं-विशेष अदालतमा बुधबारदेखि इजलास थप भएको छ । न्याय परिषद्को एक महिनाअघिको निर्णयअनुसार थप भएका तीन न्यायाधीशले बुधबार काम सुरु गरेका हुन ।


ADVERTISEMENT


प्रधानन्यायाधीश गोपाल पराजुलीसँग पद तथा गोपनीयताको शपथ ग्रहणपछि न्यायाधीशहरू चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलले बुधबार काम सुरु गरेका छन् । बुधबार नै विशेषमा उनीहरूको इजलास तोकिएको थियो । नयाँ इजलास गठनसँगै मुद्दाको काम कारबाहीमा थप सहजता हुने विश्वास गरिएको छ ।


ADVERTISEMENT

# # #


उच्च अदालतमा एक स्थानबाट अर्को स्थानमा सरुवा हुने अन्य न्यायाधीशको पद तथा गोपनीयताको शपथ हुँदैन । तर, विशेष अदालतमा सदस्य तोकिने न्यायाधीशको कार्यभार सम्हाल्नुअघि पद तथा गोपनीयताको शपथ हुने परम्परा छ । सोहीअनुसार तीन सदस्यको बुधबार शपथ भएको हो ।

विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले न्यायाधीश थपिएसँगै इजलास व्यवस्थापनमा सहज हुने बताए । श्रेष्ठले बताए, ‘बुधबारदेखि तीन न्यायाधीश थपिनुभएको छ, तीनै जनाले इजलासमा काम सुरु गरिसक्नु भएको छ, यसले मुद्दा फछ्र्योटमा थप सहज हुनेछ । ’

न्याय परिषद्को निर्णयअनुसार ढकाल र वैद्य उच्च अदालत दिपायलमा दरबन्दी कायम रहने गरी विशेष अदालत सदस्य तोकिएका हुन । यस्तै पोखरेल उच्च अदालत जनकपुरको वीरगन्ज इजलास दरबन्दी रहने गरी विशेषमा सदस्य तोकिएका हुन ।

गत असोज ३० गते परिषद्ले उच्च अदालतका न्यायाधीश सरुवाका क्रममा विशेषमा कार्यरत प्रभा बस्नेत, नरेन्द्रकुमार शिवाकोटी, महेशप्रसाद पुडासैनीको सरुवा भएको थियो । सरुवा भएका स्थानमा नयाँ न्यायाधीश आउन ढिलाइ भएका कारण इजलास थपिएको थिएन ।

विशेष अदालतमा अघिल्लो आर्थिक वर्षकासहित हाल २६१ थान मुद्दा विचाराधीन छन् । गत आर्थिक वर्षमा विशेष अदालतले २८ थान मुद्दा फछ्र्योट गरेको थियो ।  मुद्दा सङ्ख्या थोरै भए पनि प्रतिवादीको सङ्ख्या धेरै हुने र अकुत सम्पत्तिलगायत मुद्दामा सबै सम्पत्ति यकिन गर्नुपर्ने हुँदा विशेषमा मुद्दा फछ्र्योट कम हुने गरेको छ ।

प्रतिवादीको थुनछेक बयान तथा बहसमै इजलासको अधिकांश समय खर्च हुने गरेको छ । इजलास थप भएपछि मुद्दाको प्रक्रियामा थप सहजता हुने अपेक्षा गरिएको छ ।