काठमाण्डौं-आइसीसी महिला विश्व टी–२० एसिया छनोटअन्तर्गत नेपाल दोस्रो खेलमा पनि अंक बाँड्न बाध्य भएको छ । थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा नेपाल र हङकङबीच मंगलबार बिहानका लागि तय भएको खेल चिसो मैदानका कारण रद्द भएपछि दुवै टिमलाई समान १–१ अंक दिइयो । यो मैदानमा युएई र थाइल्यान्डबीच दिउँसो खेल हुने भएका कारण नेपाल र हङकङबीचको खेल हुन सम्भव नभएको हो ।


ADVERTISEMENT


लगातार दुई खेलमा अंक बाँडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपालको २ अंक भएको छ भने शीर्ष स्थानको हङकङको ३ अंक छ । यसअघि हिजो भएको खेलमा पनि नेपाल र आयोजक थाइल्यान्डले अंक बाँडेका थिए ।


ADVERTISEMENT

# # #


टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा ९० रन बनाएको थियो । छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड, मलेसिया र युएईले प्रतिस्पर्धा गरिरहेका छन् । राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष २ टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछन् ।

छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । ६ टिम भने छनोट भइसकेका छन् । जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा छन् ।

नेपालको आगामी खेलहरू
७ मंसिर – युएईविरुद्ध
८ मंसिर– मलेसियाविरुद्ध
१० मंसिर – चीनविरुद्ध