जिम्बावेमा झन्डै चार दशक शासन गरेका राष्ट्रपति रोबर्ट मुगावेले मंगलबार राति राजीनामा दिएका छन् । पत्नी ग्रेस मुगावेलाई उत्तराधिकारी बनाउन खोज्दा विवाद उत्पन्न भएपछि उनी सत्ता छाड्न बाध्य भएका हुन् । सत्तारुढ दल जानु–पिएफले उनलाई ‘सोमबारसम्म राजीनामा नदिए महाभियोग सामना गर्न’ चेतावनी दिएको थियो ।महाअभियोग दर्ता प्रक्रिया सुरु भएपछि मुगावेले संसदका नाममा चिठी पठाएर राजीनामा दिएको सभामुखले जानकारी दिएका छन् ।


ADVERTISEMENT


मुगावेले पठाएको राजीनामापत्र सभामुखले संसदमा पढेर सुनाएका थिए । पत्रमा उनले ‘तत्काल लागू हुने गरी’ राजीनामा दिएको उल्लेख गरेका छन् । राजीनामाका कारण ‘जिम्बावे जनताको भलाइ’ र ‘शान्तिपूर्ण शक्ति हस्तान्तरण’ भनिएको छ । ९३ वर्षीय मुगावे संसारकै बढी उमेरका राष्ट्रप्रमुख थिए ।


ADVERTISEMENT

# # #


उनको राजीनामापछि संसदले खुसी मनाएको थियो । स्थानीय जनता पनि विजयोत्सव मनाउन सडकमा ओर्लिएका थिए ।पत्नीलाई उत्तराधिकारीका रूपमा अघि बढाउने मनसुबा देखाएपछि सत्तारुढ दल जानु–पिएफले सोमबार मुगावेलाई पार्टी नेतृत्वबाट अपदस्थ गरेको थियो । त्यसको भोलिपल्टै महाअभियोग प्रस्ताव अघि बढ्यो ।

राष्ट्रप्रमुखलाई महाअभियोग लगाएर हटाउन सकिने यो संवैधानिक प्रावधान यसअघि जिम्बावेमा कहिल्यै प्रयोग भएको थिएन । जिम्बावे राजनीतिमा सधैं नै प्रतिपक्षमा रहँदै आएको ‘मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज’ ले पनि महाभियोग प्रस्तावमा समर्थन जनायो । यसले मुगावेविरुद्ध राजनीतिक सहमतिको वातावरण बन्यो । सेनाको समेत समर्थन रहेपछि यो प्रक्रियाले थप तीव्रता लियो ।

मंगलबार महाअभियोग प्रस्तावमाथि संसदीय प्रक्रिया चलिरहँदा सभामुखले बीचैमा रोकेर मुगावेको राजीनामा पढेर सुनाएका थिए । उनले आफ्ना सहयोगीको हातमा उक्त पत्र पठाएका थिए ।