भक्तपुर– सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापामगरले आफू जननिर्वाचित भएपछि पाँच वर्षे कार्यकालमा पाएको सम्पूर्ण तलब भत्ता एवं पारिश्रमिक विद्यालयलाई सहयोग प्रदान गरेका छन् ।


ADVERTISEMENT


विद्यालयमा आउने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न तथा कापी, कलम, किताब किन्न नसक्ने बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्ने उद्देश्यले उनले विद्यालयमा स्थापना भएको ‘जगत भैरव प्रतिष्ठान’ लाई पाँच वर्षको तलब भत्ताबापतको १५ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


वडाध्यक्ष थापामागरले भने, ‘मैले आफू जनप्रतिनिधि भएपछि पाएको पाँच वर्षको सम्पूर्ण तलब, भत्ता गरी १५ लाख रुपैयाँ यस विद्यालयका लागि स्थापना भएको ‘जगत भैरव प्रतिष्ठान’ को अक्षय कोषलाई आजकै मितिबाट हस्तान्तरण गरेको छु, अब यो क्षेत्रमा कोही पनि गरिब विद्यार्थीले शुल्क तिर्न नसकेर वा शैक्षिक सामग्री नभएर पढाइबाट वञ्चित हुनुपर्दैन ।’

सूर्यविनायक नगरपालिकाले यहाँका वडाध्यक्षलाई एक सवारीसाधन (मोटरसाइकल), उक्त साधनका लागि पेट्रोल र बैठक भत्ता उपलब्ध गराउँदै आएको थियो । नगरपालिकाबाट पाउने कुनै पनि सुविधा नलिएको बताउँदै उनले भने, ‘म वडाध्यक्ष भएपछि नगरपालिकाले दिएको सवारीसाधन पनि लिइन, मैले नगरपालिकाबाट एक रुपैयाँको तेल पनि लिएको छैन, मैले तलब भत्ता पनि लिन्न भनेको थिएँ, तर साँसद महेश बस्नेतले तलब भत्ता लिएर सामाजिक कार्यमा लगाउनुस् भन्ने सुझाव दिएपछि उक्त रकम मैले गरिब विद्यार्थीका शिक्षाका लागि खर्च गर्ने गरी अक्षयकोषलाई हस्तान्तरण गरेको छु ।’

अक्षयकोषमा रहने रकमबाट उक्त विद्यालयमा आउने गरिब, जेहेन्दार विद्यार्थीका लागि शिक्षाको पहुँच पु¥याउन, पैसा नभएर कापी, कलम, किताब किन्न नसक्ने कोही पनि पढाइबाट वञ्चित हुन नपरोस् भनेर अक्षयकोष स्थापना गरी रकम प्रदान गरेको उनले सुनाए । अक्षयकोषका लागि नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा गरे ।

त्यस्तै निक भुजिकिक हाउजिङ प्रालिले रु १० लाख, झ्यामो घ्याङ हाउजिङ प्रालिले रु १० लाख र प्रतिष्ठानका अध्यक्ष द्वारिकाप्रसाद सत्यालले रु एक लाख सहयोगसहित एकै दिन अक्षयकोषमा रु ३७ लाख जम्मा भएको छ । वडाध्यक्ष थापामगरले आफ्ना स्वर्गीय हजुरबुबा जगत र बुबा भैरव थापामगरको नाममा स्थापना गरेको प्रतिष्ठानको अक्षयकोषमा एक करोड पुर्‍याउने लक्ष्य लिएको उनले बताए । रासस