काठमाडौँ– नेपाल भारत सम्बन्ध बहुआयामिक महत्वको छ भन्ने प्रमाणका लागि एक अर्काको सँकटमा गरिने सहयोगको मन र तत्परता पनि हो । दुई देशबीचकोखुला सिमानाको सम्बन्धलेआपसमा सहयोग र सद्भावको विनिमय पनि हुन्छ भन्ने उदाहरण बिहीबार देखियो ।


ADVERTISEMENT


सीमान्त नेपाली सहरस्थित एक जुत्ता कारखानाको गोदाममा आगो लाग्दा भारत पश्चिम बंगालको मतिगढा र नक्सलबारी क्षेत्रबाट दुईवटा दमकल आए अनि छिमेकमा परेको विपद्मा मलम लगाए ।


ADVERTISEMENT

# # #


मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा बिहीबार आगलागी हुँदा भीषण आगलागी हुदाँ करिब तीन किलोमिटर टाढा नक्सलबारी र २० किमि टाढा रहेको मतिगढा भारतीय शहरबाट झापामा लागेको आगलागी निभाउन दमकल आएका हुन् ।

उक्त दमकल झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको समन्वयमामेची तरेर आएको हो । ‘भीषण आगलागीबाट हुन सक्ने क्षति कम गर्न भारतीय दमकल बोलाइएको हो,’ प्रजिअ रिजालले भने, ‘विपद्का बेला हुने यस्तो सहयोगले दुई देशबीच भाइचाराको सन्देश पनि प्रवाह हुन्छ ।’

दमकलको आगमनसंगै आगलागी पाँच घण्टापछि मात्र सो आगो नियन्त्रणमा आएको थियो । उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो । आगो नियन्त्रणमा लिन झापा, मोरङसहित भारतबाट समेत गरी ११ वटा बारुणयन्त्र परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको समेत उल्लेख्य सहयोग रहेको थियो ।

आगलागीबाट करिब आठ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पाठकले जनाए ।